• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दक्षिणपन्थी चलखेलविरुद्ध कलम चलाउन स्रष्टाहरुलाई आव्हान




प्रगतिशील लेखक संघका पूर्वकेन्द्रीय अध्यक्ष डा. अमर गिरीले प्रगतिशील स्रष्टाको काँधमा थप जिम्मेवारी आएको बताउनुभएको छ ।

प्रगतिशील लेखक संघ दाङले आयोजना गरेको पारिजातस्मृति दिवस तथा कवि सुन्दर गौतमको कविता संग्रह ‘अक्षरयात्रा’को लोकार्पण समारोहमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘अहिले मुलुकमा दक्षिणपन्थी सक्रियता बढ्न थालेको छ’– उहाँले भन्नुभयो– ‘राजनीतिमा मात्र होइन कला साहित्यमा पनि दक्षिणपन्थी सक्रियता बढेकाले यसका बिरुद्ध प्रगतिशील धारको रक्षा र विकासका लागि प्रगतिशील स्रष्टाहरुको दायित्व बढेको छ ।’

अहिले धर्मनिरक्षताको बिरोध गर्न थालिएको उल्लेख गर्दै उहाँले धर्मको आडमा गणतन्त्रमाथि नै प्रहार गर्ने दक्षिणपन्थी रणनीति बेलैमा बुझ्नुपर्ने र प्राप्त उपलब्धिको रक्षाका लागि स्रष्टा थप जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो ।

गणतन्त्रबिरोधी तत्वले लोकतान्त्रिक र बाम शक्तिमाथि प्रहार गर्न धर्मको आड लिनु स्वाभाविकै भए पनि लोकतान्त्रिक दल कांग्रेसको एउटा पंक्तिसमेत त्यसबाटै प्रभावित हुनु दुःखद भएको उहाँले बताउनुभयो ।

अहिले प्रगतिशील शक्तिले सरकार सञ्चालन गरिरहेको भए पनि उसले गर्ने गलत क्रियाकलापको प्रगतिशील स्रष्टाहरुले बिरोध गर्नुपर्ने डा. गिरीले बताउनुभयो । स्रष्टालाई बचाउने तत्व नै आलोचनात्मक चेत भएकाले यसबाट दायाँबायाँ हुन नहुने उहाँले सुझाव दिनुभयो । गौतमको कविता संग्रहमा सामाजिक सरोकार र जीवनप्रति सकारात्मक चिन्तन रहेको उहाँले बताउनुभयो ।

बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले स्रष्टाहरुले निराशा फैलाउन नहुने बताउनुभयो । ‘सात दशक लामो संघर्षका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ, यसको बिरोध गरेर हामी पुग्न कहाँ हो ?’– उहाँले भन्नुभयो– ‘स्रष्टाले उत्साह जगाउनुपर्छ, निराशा फैलाउने होइन ।’

त्यस्तै बरिष्ठ साहित्यकार गिरिराज शर्माले केही पश्चगामीहरुको गतिबिधि बढ्दैमा निराश हुनुपर्ने स्थिति नरहेको औल्याउँदै परिवर्तन संस्थागत गर्न स्रष्टाहरु लागिरहेको र थप लाग्ने बताउनुभयो ।

कृतिकार गौतमले आफूले देखे भोगेका कुरा कवितामार्फत व्यक्त गरेको उल्लेख गर्दै यही बर्षभित्र अर्को कृति पनि सार्वजनिक गर्ने बताउनुभयो ।

प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा ‘शरद’को अध्यक्षतामा भएको कार्यक्रममा प्रलेसका पूर्वउपाध्यक्ष पदमप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, रेडियो मध्यपश्चिमका अध्यक्ष सुशील गौतम, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदीप गौतम र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले शुभकामना दिनुभयो ।

साहित्यकार टीकाराम उदासीले पारिजातको जीवनी प्रस्तुत गर्नुभएको थियो भने केशब थापाले कृतिको समीक्षा गर्नुभएको थियो ।

कबि यज्ञबहादुर डाँगी, माधव आचार्य, रेशम बिसी र डिल्ली बस्नेत ‘संगीत’ले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्यद्वय केशब थापा र शरद अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शारदा शर्माले गर्नुभएको थियो ।

Facebook Comments