• २४ आश्विन २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्लाष्टिक जलाएर क्यान्सर निम्त्याउनु जघन्य अपराध हो





यस पटक शैक्षिक सत्रको अन्तमा धेरै विद्यालयमा घुम्ने अबसर मिल्यो । निजी र सामुदायीक दुवै थरी विद्यालयमा पुग्दा सबै भन्दा मन दुखाउने विषय प्लाष्टिक जलिरहेको भेटियो ।

निकै मेहनत गरेर सरसफाइ गर्नुभएको छ । झाङ झाडि काटेर रगरगाट सफा पार्नुभएको देखिन्छ । त्यसपछि खेरबटुल गरेको सबै फोहर जलाउनुहुन्छ । सायद विद्यालय क्षेत्रमा कुहिरी मन्यौल धुवाँ पार्नुहुन्छ । धुवाँ नसहनेहरुलाई निसास्सीएको महशुस गर्छन् । सहनेहरुलाई पनि लामै समय पिरोल्छ । आँखामा आँसु आउने, नाक थुन्नुपर्ने, ख्वाक् ख्वाक्क खोकि लाग्ने अबस्था कुनै विद्यालयमा छ भने त्यो सरसफाइका दृष्टिले कमजोर हो ।

आदरणिय सरहरु धुवाँ रहित चुलोको अवधारणा आएको छ यसबारेमा यहाँहरु आफ्नै भान्सा बाट जानकार हुनुहुन्छ । शिक्षीत व्यक्तिहरु बुढा बुढिले संगै तरकारी केलाउँछन्, भात पकाउँछन्, भाँडा धुन्छन् र भान्सामा बरोबर खट्छन् यो यहाँहरुको भान्सामा पनि पक्कै लागुभएको छ । धुवाँ लाग्न नदिनकालागि सकभर घरमा राइस कुकर होला, नत्र ग्याँस, गोबर ग्याँस पक्कै छ ।

सुधारीएको चुलो वा बाहिर आँगनमा खाना तथा दाना पकाएर धुवाँ घरमा पस्न दिईन्न । यसको अर्थ धुवाँ रहित बन्नु हो । यहाँहरुलाई धुवाँ मन पर्दैन । एवं तरीकाले सबैका बच्चाहरुको घरमा कम्तीमा सुधारीएको चुलो छ । धुँवाको गन्ध सुँघदैनन् । विद्यालयमा आएर कोठा भित्रै रंगमंगिएको धुवाँ सहनु राम्रो होइन, अन्याए हो ।

त्यसमा पनि प्लाष्टिक जन्य धुवाँ सुँघन बाद्य पार्नु अपराध ठहर्छ । हुन त आफुले पनि सुघनुभएको छ अज्ञानताले त नभनौँ । देखि देखि क्यान्सरका किटानु ओकल्ने प्लाष्टिकजलाएको धुवाँ विद्यालय सुघेको भेटियो । विज्ञहरुको थलोमा यो गतिविधि सुहाउँदैन । जलीरहेको प्लाष्टिक जन्य धुवाँ भेट्दा यहाँहरुलाई सम्बोधन गर्ने उचित शब्द फेला पार्न सकिन । होच्याउने र अपमानित गर्ने नियत मेरो नभएकाले कम्तीमा अबका दिन प्लाष्टिक नजलाउनुस् ।

विद्यालय परिवारलाई क्यान्सरका किटानु न खुवाउनुस् । जुन जुन विद्यालयले जलाईरहनुभएको छ, अबका दिनमा पुर्ण रुपमा बन्द गराउनुस् । त्यसपछि यहाँहरुलाई सम्मान हुनेगरीका शब्द खोज्नै पर्दैन । प्रशंसाका शब्द ह्रवार्र ह्रवार्रती आउनेछन् ।

यति भनिरहँदा एकहोरो उपदेश दिएको भाव आउला । मैले गुरुहरुलाई फर्मान जारी गर्नेपनि होईन, यसमा विद्यार्थीका गुणसा पनि छन् । शिक्षकहरु आफैलेपनि नाक थुन्नुपरेको पक्कै होला । दिउँसोमा गन्ध आएर बस्नै धौ हुन्छ भनेर केहि विद्यालयका विद्यार्थीले गुणासो गरेका थिए । धेरै विद्यालयले अगाडितीर प्लाष्टिक जलाएको भेटियो । केहिमा खरानी फेला पयो । कतिपय विद्यालयमा जल्दै गरेको देखियो । त्यहि खरानीमा उभिएर हेरेँ, धुवाँ फैलिएर कोठा कोठामा पसेको महशुस गरेँ । किन भने जता जलिरहेको थियो त्यतैको ढोका खुला हुन्थ्यो । झ्यालहरु खुला थिए ।

त्यसैबाट धुवाँ भित्र पसीरहेको थियो । केहिले साप्ताहिक र केहिले दैनिक फोहर जलाउने गरेको सरहरुले नै जानकारी दिनुभयो । यसको अर्थ केहिले दिनदिनै र केहिले साप्ताहिकमा क्यान्सरका किटानु खानेगर्नुभएको रहेछ । यसको अर्थ आफ्नै सावास्थ्य र विद्यार्थीको भविश्य माथि खेलवाड गर्नुभएको रहेछ । रोगी बनेपछि पढेको के अर्थ, जागीर खाएर कमाएको के काम् ? रोगीलाई सब बेकार हुन्छ ।

यसैगरी केहि विद्यालयका सौचालय टाढैबाट आँखाले देख्यो नै नाकले पनि थाहपाउने गरी गन्हाउने रहेछन् । केहि विद्यालयको अफिस र शौचालय नजिकै रहँदा ह्रवास्सै गन्ध भित्र आएको पनि भेटियो । सबैले बुझ्नुपर्ने कुरा के हो भने, सबैभन्दा आनन्द दिसा पिसाव गरेपछि हुन्छ । अटेस मटेस दिसा पिसाव लागेकोबेला आनन्दले खसालेपछि सास पनि धेरै मात्रामा भित्र पस्छ । त्यसतो बेलामा ख्वास्सै दिसा पिसावको गन्ध गयो भने पक्कैपनि उपयोगी हुन्न । त्यसले स्वास्थ्यमा नकारात्मक असर पार्छ नै । त्यसैले गन्ध आउने शौचालय रहनु फोहोर भएको अर्को प्रमाण हो । त्यो हट्यो भने मात्रै सफा स्कुल हुन्छ ।

अब अभिवावकलाई पनि सुझाव दिने बेला आएको, प्लाष्टिक जलाउने विद्यालयबाट बच्चा निकाल्नुस् । सरसफाइ अभियन्ताहरुले यस सम्वन्धि सचेतना गाउँ गाउँ वस्ति वस्तीमा दिएका छन् । रोगका किटानु खुवाउने विद्यालयमा पढाएर जिन्दगीलाई रोगी बनाउनु छैन । तपाईको घरको जस्तै शौचालय र शौच गर्ने वातावरण विद्यालयमा छ कि छैन पटक पटक पुगेर जाँच्नुस् । दैनिक विद्यालयको गन्हाउने शौचालय जाने बच्चालाई घरको सरसफाइले मात्रै स्वस्थ राख्न ।

टिउसन, कोचिङ, हापवोर्डस् तथा वोर्डस भनेर दिनभरी विद्यालय बस्ने बच्चाहरुले दुर्गन्धित शौचालय प्रयोग गर्नु सबैभन्दा हानिकारक हुनसक्छ । जाँच गर्नुस्, सरसफाइ गर्न सुझाव दिनुस् विद्यालयले सुधारेन भने बच्चा निकाल्नुस भन्नै पर्ने अबस्था आएको छ । उमेर अनुसारका वस्ने सुविधा, कक्षामा खानेपानीको मग सहितको बाल्टी, फोहर फाल्ने डस्टविन हुनै पर्ने छ । अनि मात्रै पढ्न योग्य विद्यालय मानिने छ ।

अब सचेत अभिवावकहरु यहाँहरुलाई सुझाव दिन आउने छन् । गतिलो पढाई हुनेमात्रै ठुलो कुरा होईन । संस्कारको महत्व उत्तीकै छ । मुखमा सुर्ती कोचारेर जथा भावि प्याच्च प्याच्च थुक्ने र त्यसका खोल तथा कागजहरु कुनामा फाल्ने शिक्षकले असल शिक्षा दिन सक्दैनन् । सरसफाइ झन् अति महत्वपुर्ण कुरा हो । ठुलो डिङ्नो टक्टक्याँदै थर्काएर घोकाईएका विद्यार्थी उत्तिर्ण होलान दक्ष हुँदैनन् । भद्रगोल, अस्तव्यस्त कसैलाई मन पर्दैन ।

त्यसो हुनै नदिने सामाथ्र्य आदरणीय गुरुहरुले मात्रै राख्नुहुन्छ । प्रअ एवं प्रिन्सीपल आफैले फोहोर गर्ने होईन बरु बच्चाले खसालेका कसिंगर टिप्ने हो । अनि मात्रै यो त फाल्नुपर्ने होईन रहेछ भन्ने बुझ्छ र सिक्छ । गन्ध आउने र हेर्नमन नलाग्ने दृश्यनै फोहोर हो ।

यसलाई बच्चालाई विद्यालयप्रति वितृष्णा पैदा गर्छ । दिमागमा फोहार खेल्छ, सिर्जना फुर्दैन । अरुची पैदा गर्छ । उत्सुकता मार्छ । जाँगरले पढलेख गर्दैन । अनि जान्दैन । पढाउनेहरुले जति धेरै कष्ट गरेर विज्ञता खर्चिएपनि बच्चाले बुझेन भने मुल्यहिन हुन्छ । शिक्षक मात्रै बरर्बराउनु बेकार हो । कक्षा कोठा, शौचालय, खेल्ने चउर जाँगर लाग्दो बनाउनुपर्छ । बरु बगैैचा बनाएर फुल फुलाउनुस फोहर थपार्ने र जलाउने काम सदाका लागि बन्द गर्नुस् ।

केहि विद्यालयमा छात्राहरुलाई हुने महिनावारीका बारेमा बोल्न समेत लाज मान्ने गरेको देखियो । छात्राहरुको लागि प्याड व्यवस्थापन गर्ने सुरक्षित स्थान देखिएन । पढ्दा पढ्दै, लाईन लागेको बेला महिनावारी भयो भने अति जरुरीको समय हो । त्यसबेला किनेरै भएपनि प्याड उपलब्ध गराउने विद्यालयको कर्तव्य हो । यस्तो कुरामा महिला शिक्षकमा समेत ध्यान नपुगेको पाईनु दुखद पक्ष हो । मलाई विद्यालय जिवनको याद आयो ठुल्ठुला केटिहरु बेला न कुवेला टाउको दुख्यो, पेट दुख्यो भनेर पढ्दा पढ्दै छोडेर घर फर्किन्थे ।

त्यसको खास कारण अहिले बुझ्दैछु, विद्यालयमा महिनावारी हुँदा प्याड फेर्ने व्यवस्था नगरीएकाले रहेछ । यति बेला पनि जुन विद्यालयमा प्याड पाउने र फाल्ने सुविधा छैन त्यहाँको अबस्था आज भन्दा झण्डै २५ बर्ष अगाडिकै रहेछ । त्यसता विद्यालयले फलाक्ने गुणस्तरीय शिक्षाका सवाल मित्थ्या हुन् । छात्राको समस्य नबुझ्ने महिला शिक्षक रहेको विद्यबालयले कसरी बच्चाको रुचि अनुसारका शिक्षा दिन्छ ? अब प्रश्न उठाउने बेला आएको छ । त्यसैले विद्यालय आधुनिक बनाउन चनाखो बनौँ । छात्रा शौचालयमा प्याड व्यवस्थापनको भाँडो र अफिसमा प्याड अनिवार्य राख्ने गरौँ ।

कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई जति बेला पनि पहिलो महिनावारी हुनसक्छ । शुरु भएपछि हरेक २८ दिनमा महिनावारी नियमित हुने गर्छ । चिकित्सकका अनुसार महिनावारीहुँदा रगत आउने मात्रा अनुसार तिन देखि ६ घण्टा भित्र प्याड बदल्नुपर्छ । प्याड महंगो हुन्छ किन्न सकिन्न भनेपनि शुक्रवारको अतिरिक्त कृयाकलापमा कपडाका प्याड बनाए हुन्छ । सबै भन्दा उपयुक्त सुतिको कपडाको प्याड मानिन्छ । यसमा लापर्वाहि गर्दै नगरौँ । तर व्यवस्था गरौँ ।

जसले तिर्खा नलाग्ने गरी पानी पिउन दिन्छ त्यहि विद्यालयमा बच्चालाई पढ्न पठाउने भनिएको छ । बस्ने बेञ्च सजिलो नभएका, उमेर अनुसारको कार्पेट देखि डेस्क वेञ्च सुविधा नदिएका, सरससफाइका न्युनतम सुविधा नरहेका विद्यालयमा अब अभिवावकले बच्चा पठाउँनु हँदैन । घर र विद्यालयको वातावरण मिल्दो हुनुपर्छ ।

अझ घरलाई सुन्दर बनाउन सिक्ने विद्यालय बाट हो । घर भन्दा फोहर, गए गुज्रेको, थोत्रो, शौचालय र खानेपानी सुविधा नभएको विद्यालयमा विद्यार्थीले के सिक्छ ? त्यो अब आकर्षणको केन्द्र बन्दैन । विद्यार्थीले नयाँ भर्ना गर्दैन । नराम्रो सिक्न, गलत काम गर्न विद्यालयमा जाने र पठाउने होईन ।

एउटा विद्यालयमा पुग्दा दुई ठाउँमा प्लाष्टिक जलाईरहेको धुवाँ पुत्ताउँदै थियो । हामि पुग्नु अघि चउर भरीको खेरबटुल पारेर आगो लगाइएको रहेछ । सरसफाइ कार्यक्रम हुँदैछ भन्ने थाह पाएर गरीएको चलाखी थियो । त्यस विद्यालयको वातावरण र विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष असर थियो । यसरी नाटक गर्ने काम सबै विद्यालयले बन्द गरौँ । आफ्नो र बच्चाको स्वाथ्य बनाउने कुरा कसैलाई देखाउनका लागि होईन स्वस्थ भएर ज्यून नियमीत गरौँे ।

अर्को विद्यालयमा कक्षा कोठाको अघिल्तीतर प्लाष्टिक जन्य फोहर जलिरहेको फेला पयो । त्यहाँ नियमित जल्दोरहेछ । त्यसरी जलेको धुवाँ विद्यालयका अधिकांश कक्षा कोठामा पुग्छ । सबै जसो विद्यार्थी त्यो धुवाँको मारमा छन् । त्यसरी नष्ट गरेकोमा विद्यालयललाई गर्ब छ । अब सबै विद्यालयलयले नगल्ने प्लाष्टिक जन्य फोहर सम्वन्धित पालिकालाई बुझाईदिउँ । गल्ने फोहोर उचित ठाउँमा सकलन गरौैं । जलाउने काम विल्कुलै बन्द गरौँ । जुन विद्यालयले प्लाष्टिक जलाएर नष्ट गर्छ त्यो विद्यालयमा बच्चा नपढाउँ ।

त्यहाँ पढ्ने बच्चा भविश्यमा डाक्टर, ईञ्जिनियर, पाईलोट, नेता एवं ठुलो मान्छे होईन, क्यान्सरको रोगि बन्न सकछ । चिकित्सकहरु भन्छन् प्लाष्टिक जल्दा क्यान्सरका किटानु आउँछन् । त्यसैले बच्चा र घर परिवारको सपना त्यहि गल्तीले चकनाचुर हुन सक्छ । त्यसैले विद्यालय क्षेत्रमा प्लाष्टिक जलाएर क्यान्सरलाई निम्तो नदिउँ ।

Facebook Comments