• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सभामुख महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट




सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आउनुभएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताउनुभयो । उहाँले समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।

‘समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण छ, सभामुख महराले भन्नुभयो, ‘यसका लागि नेपाल–कतार सम्बन्ध थप मजबुत बनाउन जरुरी छ ।’

दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्नुहुँदै सभामुख महराले आफूहरुले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराउनुभएको थियो ।

छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको सभामुख महराले बताउनुभयो । नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै सभामुख महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गर्नुभयो ।

कतारमा ४ लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै सभामुख महराले उनीहरुको पेशागत सुरक्षा र सेवा सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गर्नुभएको थियो ।

‘कतारमा अहिले ४ लाख बढी नेपालीहरु विभिन्न पेशा र क्षेत्रमा काम गरिरहेका छन्, सभामुख महराले भन्नुभयो, ‘उनीहरुको पेशागत तथा भौतिक सुरक्षा, सेवा सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो ।’

नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै सभामुख महराले परराष्ट्रमन्त्री अल थानीलाई नेपाल भ्रमणका लागि निम्तो समेत गर्नुभयो । साथै सो अवसरमा सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताका लागि शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

सभामुखसँगको शिष्टाचार भेटका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री अल थानीले सभामुख महरासहितको नेपाली संसदीय प्रतिनिधि मण्डललाई कतारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

अल थानीले आइपियूको १४० औं सभाको सन्दर्भमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणले कतार–नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिलेको बताउनुभयो ।

नेपाल भ्रमणका लागि आफूले पहिलेदेखि नै कोशिस गरिरहेको भन्नुहुँदै अल थानीले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो । कतारमा थुप्रै नेपाली जनशक्ति रहेको र उनीहरुको सुरक्षा, सुविधाका बारेमा आफूहरु सचेत रहेको बताउनुभयो ।

शिष्टाचार भेटवार्तामा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्यको तर्फबाट प्रतिनिधि सभाका सदस्यहरु शान्ता चौधरी, पुष्पा भुसाल, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, राष्ट्रिय सभाका सदस्य हरिचरण शिवाकोटी, संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, कतारस्थित नेपाली राजदूत रमेश कोइराला र सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लको उपस्थिति रहेको थियो ।

Facebook Comments