• २६ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दूध बेचेर समृद्धिः दुई महिनामै रुकुमबाट साढे २२ लाखको दूध निर्यात




रुकुम पश्चिममा सञ्चालित नागरिक दुग्ध सहकारी संस्थाले दुई महिनामै साढे २२ लाखको दूध जिल्लाबाहिर निर्यात गरेको छ । गएको माघमा सञ्चालनमा आएको सहकारी संस्थाले दूध बिक्रीबाट २२ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको हो ।

नागरिक दुग्ध सहकारीका अनुसार, ३(३ दिनको फरकमा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको दूध नेपालगञ्ज पठाइन्छ । सहकारीका अध्यक्ष धिरन सिर्पालीले दुई महिनाको अवधिमा यहाँबाट साढे २९ हजार लिटर दूध नेपालगञ्ज पठाइएको बताउनुभयो । जिल्लाका विभिन्न १४ स्थानमा संकलन केन्द्र स्थापना गरेर किसानले उत्पादन गरेको दूध बिक्री वितरण गर्ने गरेको अध्यक्ष सिर्पालीको भनाइ छ । माघ र फागुन महिनामा सहकारीले झण्डै ४१ हजार लिटर दूध संकलन गरेको भए पनि जिल्लामा खपत भएर बचेको २९ हजार २ सय लिटर जिल्लाबाहिर निर्यात गरेको उहाँले बताउनुभयो ।

गाउँमा किसानले उत्पादन गरेको दूध नियमित रुपमा बिक्री हुन थालेपछि किसानहरु पनि खुशी भएका छन् । दूध बेच्नको लागि कुनै समस्या नभएको सानीभेरी गाउँपालिका ११ का रामबहादुर खड्काले बताउनुभयो । पहिले गाउँमा दूध उत्पादन हुने भए पनि बजारको समस्याका कारण बिक्री नहुने गरेको समस्या अहिले नरहेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको दूधलाई सहकारीले प्रतिलिटर ४२ रुपैयाँमा खरिद गर्दै आएको छ । किसानले हरेक महिनाको अन्तिममा दूधको मूल्य पाउने गरेका छन् ।

सहकारीले यहाँको दूधलाई सहज रुपमा जिल्लाबाहिर निर्यात गर्नको लागि र गाउँगाउँबाट सहकारीमा दूध जम्मा गर्नको लागि तीनवटा गाडीको व्यवस्था गरेको छ । दुई वटा गाडीले गाउँमा उत्पादन गरेको दूधलाई संकलन गर्ने र एउटा चिलिङ् भ्यानले नेपालगन्जमा लैजाने गरेको सहकारीका अध्यक्ष सिर्पालीको भनाइ छ ।

गाउँमा स्थापना भएका संकलन केन्द्रमा हरेक दिन किसाले दूध ल्याउने र त्यहाँबाट सहकारीको गाडीले सहकारीमा जम्मा गर्दै आएको छ । दैनिक ३ सय ३० जना किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुने गरेको सहकारीले जनाएको छ । त्रिवेणी गाउँपालिकाबाट ६ सय लिटर, सानीभेरी गाउँपालिकाबाट ४ सय ५० लिटर र मुसिकोट नगरपालिकाबाट २ सय लिटर गरेर दैनिक एक हजार २ सय ५० लिटर दूध संकलन हुँदै आएको सहकारीको तथ्याङ्क रहेको छ ।

१ करोड ३० लाख लगानीमा दुग्ध सहकारी स्थापना गरिएको सहकारीका सचिव छविलाल केसीले बताउनुभयो । सहकारीमा कर्णालीप्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ७९ लाख आर्थिक सहयोग छ भने अन्य सबै लगानी शेयर सदस्यको रहेको छ । सचिव केसीका अनुसार, जिल्लामा पहिलो पटक दुग्ध चिस्यान केन्द्रको स्थापना गरेर यहाँ उत्पादन भएको दूधलाई प्रदेश ५ को नेपालगञ्ज पठाउने गरिएको भएता पनि आगामी दिनमा दाङ, लमहीलगायतका शहरमा पठाउने सहकारीको तयारी छ ।

अहिले जिल्लाबाट एक पटक ४ हजार लिटर दूध जिल्लाबाहिर निर्यात हुने गरेको छ । सहकारीले गत माघ ४ गते जिल्लाका किसानले उत्पादन गरेको दूध पहिलो पटक नेपालगञ्ज र्पुयाएको थियो ।।

Facebook Comments