• १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालमा छैन हावाहुरीको पूर्वानुमान गर्ने प्रबिधि




जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिन (७२ घण्टा)को मौसमी अवस्था पूर्वानुमान गर्ने गरे पनि हावाहुरी–हुण्डरीको छुट्टै पूर्वानुमान भने गर्दैन । महाशाखाले त्यसैकाे पूर्वानुमान गर्न नसक्दा आइतबार राति बारा, पर्सासहितका जिल्लामा एक्कासी आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ ।

‘हामीसँग इम्प्याक्ट बेस्ट फर्कास्ट गर्नसक्ने क्षमता छैन,’ महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘बारा, पर्साको घटना त्यसैको परिणाम हो। त्यो क्षेत्रको हावाहुण्डरीको सम्भावित अवस्थाबारे सचेत गराउन सकिएको भए क्षति न्युन हुनसक्थ्यो।’

मौसमविद् कँडेलका अनुसार स–सानो क्षेत्रको मौसमी प्रक्रिया फरकास्ट गर्न उच्चस्तरको प्रविधि आवश्यक पर्छ। ‘त्यो हामीसँग छैन। स्पेसिफिक भएर मौसमी अवस्था आँकलन गर्न आवश्यक प्रविधि नहुँदा यस्तो समस्या निम्तिने गरेको छ,’ कँडेलले भनिन्, ‘त्यसैले हामीले मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ र उच्च भागमा हिमपातको सम्भावना छ भनेर मात्र फरकास्ट गर्दै आएका छौं।’

सुरुमा आइतबार पोखराको वायुमण्डलमा मौसमी प्रणाली विकास भएको थियो। त्यसको असर स्वरुप पोखरामा दिउँसै अँध्यारो भएको थियो र असिनासहितको वर्षा पनि भएको थियो। त्यही मौसमी प्रणाली दिउँसोतिर चितवनको वायुमण्डल हुँदै बारा, पर्सातिर सरेको कँडेलले बताइन्।

‘हावाहुरीसहितको मौसमी प्रणालीको बढ्ता जोड (फोर्स) बारा–पर्सा क्षेत्रमा परेको देखिन्छ,’ उनले भनिन्, ‘यस्तो प्रणाली क्षणिक हुन्छ। तर, क्षणभरमै स्वाहा पार्छ।’

जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक मदनलाल श्रेष्ठले मेघ गर्जन र चट्याङको सम्भावनाबारे फरकास्ट गरिए पनि हावाहुरीको छुट्टै पूर्वानुमान नहुँदा जहिल्यै क्षती व्यहोर्नुपरेको बताए। ‘यस्तो हावाहुरी निश्चित क्षेत्र (सानो स्केल)मा छोटो अवधिभर मात्र देखिने भएकाले पूर्वानुमान त्यति सहज पनि छैन,’ श्रेष्ठले भने, ‘स–सानो पकेट क्षेत्रको मौसमी अवस्था आंकलन गर्ने गरी हामीकहाँ प्रविधि नहुँदा बेलाबखत यसले विकराल रुप लिने गरेको छ।’

चैतदेखि जेठ अन्तिम सातासम्म अपरान्हपछि मौसमी प्रणाली बदलिन्छ। बिहान आकाश सफा भएर घाम लागे पनि एकाएक बदली हुने, मेघ गर्जने, बिजुली चम्किने, हावाहुरी लाग्ने, असिना र वर्षा हुने गतिविधि दिनुहँजसो जारी हुन्छ। यो प्रक्रियालाई मौसमविद्ले ‘प्रि–मनसुन’ भन्ने गरेका छन् कान्तिपुरमा खबर छ ।

प्रि–मनसुनकै अवधिमा हावा हुरीसमेत चल्ने भएकाले बेलाबखतमा ठूलो क्षति निम्तिने गरेको श्रेष्ठको विश्लेषण छ। विगतमा हावाहुरीकै कारण रुख ढल्दा काठमाडौंमा मानवीय र भौतिक क्षतिसमेत भएका कयौं उदाहरण छन्। मौसमी प्रणालीलाई वैज्ञानिक र विश्वसनिय बनाउन राज्यले प्रविधिमा लगानी गर्नुपर्ने विशेषज्ञहरुको सुझाव छ।

‘विश्वमा विकास भएका प्रविधि पछ्याउने हो भने सम्भावित क्षति रोक्न सकिन्छ,’ उनको सुझाव थियो, ‘राज्यले मौसम पूर्वानुमानलाई गम्भीर ढंगले लिनुपर्ने देखिन्छ।’

काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक वरिष्ठ मौसमविद् मणीरत्न शाक्य आइतबारको बाराको मौसमी प्रणाली पूर्णतः नयाँ नभए पनि त्यसको बेग (स्पीड) भने विगतभन्दा बढी भएको बताए।

Facebook Comments