• २४ आश्विन २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आगामी बजेटमा कर्णालीको विकास प्राथमिकतामाः प्रधानमन्त्री




प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उहाँले गतबर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजना छुटेको बताउँदै आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

“गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्योक्रम दाहोरिँदैन”, उहाँले भन्नुभयो, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ ।” प्रधानमन्त्री ओलीले जनसङ्ख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको भन्दै कर्णालीमा भूगोलका आधारका स्रोत परिचालन गरिने जानकारी गराउनुभयो ।

“कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ”, उहाँले भन्नुभयो, “यस भूगोललाई विशेषरुपमा बजेट विनियोजन गरेर विकासको मूल प्रवाहमा ल्याउनु पर्दछ ।” कर्णाली सम्भावनायुक्त प्रदेश भएकाले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

“यहाँको खनिज, जलस्रोत, जडीबुटीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाको विवरण वैशाखको पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदलाई निर्देशनसमेत दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा एक टोली गएको थियो । नेकपा कर्णाली प्रदेशका इञ्चार्ज शर्माले कर्णालीको समृद्धिका लागि विज्ञहरुसँगको भेटघाटदेखि मन्त्रालय र विभागहरुको दौडधूप तीब्र बनाउनुभएको छ । उहाँले आगामी बजेटमा समृद्ध कर्णालीको खाका ल्याउने गरी पहल थालिएको बताउनुभयो ।

उहाँका अनुसार सबै सांसदले चालू आर्थिक वर्षमा पनि कर्णाली प्रदेशका जिल्लामा बजेट कम गएकाले विकासले गति लिन नसकेको बताउनुभएको थियो । उहाँले आगामी बजेट र नीतिबाट कर्णालीलाई समृद्ध बनाउन सबै सांसदले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको बताउनुभयो ।
–––

Facebook Comments