• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चन्दा दिनेलाई कारवाही गर्ने सरकारको चेतावनी, प्रवक्ता भन्छन्– बममाथि सुतेर वार्ता हुँदैन




सरकारले विप्लव नेतृत्वको नेकपालाई चन्दा दिनेमाथि कारवाही शुरु गरिने चेतावनी दिएको छ । आइतवार गृहमन्त्रालयले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमाथि प्रश्न गर्दै भन्नुभयो, “अन्यायविरुद्ध बोल्ने पत्रकारिताको धर्म हो तर हिंसा गर्न पाउनुपर्छ वा हिंसा गरेको ठीक छ भनेर लेखिनु स्वतन्त्रतामा पर्छ कि पर्दैन ? रेडियोमा बसेर बन्द र हिंसा गर्न पाइन्छ भन्ने अनि पत्रकार पक्राउ परेमा नेपाल पत्रकार महासङ्घले विरोध गर्ने ? यो कस्तो संस्कार हो ?”

नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै उहाँले बम र बन्दूक त्यागेर आएमा सरकार वार्ता गर्न तयार रहेको उल्लेख गर्दै भन्नुभयो, “बममाथि सुतेर वार्ताको कल्पना गरिन्न । बम निस्तेज गरेर आउनुस्, बकाइदा वार्ता हुन्छ ।”

मन्त्री बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन खोज्दा बन्द गर्न खोज्यो भनिएको गुनासो गर्दै एक पटक दर्ता गरेपछि निरन्तर नभए पनि त्यो पत्रिका रहिरहने स्थितिमा समीक्षा गर्न आग्रह गर्नुभयो ।

सञ्चारमाध्यम अहिले कम्पनी रहेको र भोलि उद्योगमा जाने भएकाले उद्योगकै मान्यताबाट अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “उद्योगमा गएपछि मजदूरलाई ज्याला नदिए कारवाही हुन्छ । छुट लिन उद्योग चाहिने र नचाहिएको काम गर्न प्रेस स्वतन्त्रताको छाता ओढ्न पाइने कि नपाइने ?”

आफ्ना मनको कुरा भन्न डराउने अनि नभएका कुरा लेखेर हल्ला मच्चाउने स्वतन्त्र प्रेस हुन नसक्ने जिकिर गर्दै उहाँले सञ्चारले समाजलाई कता जानेभन्दा लाने भन्ने तागत राख्ने भए पनि मिडियाले मर्यादा गुमाएमा नागरिकले विश्वास नगर्ने स्पष्ट गर्नुभयो ।

उहाँले मर्यादाको उल्लङ्घन गरेर वा देशलाई सरापेर गरिने पत्रकारिता समाज निर्माणको मियो बन्न नसक्ने र त्यो भाँडतन्त्रको दृष्टान्त हुने जनाउँदै स्वतन्त्रताको सीमा नभए पनि मर्यादाको सीमा हुने भएकाले समाजको जीवन्तताको पेशा पत्रकारिताको स्वतन्त्रतामा अराजकता हावी हुन नहुने आग्रह गर्नुभयो ।
यस्तो छ गृहको विज्ञप्तिः

Facebook Comments