• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिउँले मध्यपहाडी लोकमार्ग ठप्पः डोजर लगाएर हिउँ हटाइदै




अत्यधिक हिमपात भएकाले कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ–रुकुमपूर्वको सडकमा निर्माण कार्य ठप्प छ ।

पुस महिनाको अन्तिदेखि अहिलेसम्मको पटकपटकको हिमपातको कारणले बाग्लुङ सीमानादेखि पश्चिम र रुकुमपूर्व भूमे गाउँपालिका १ तुबुगाङ खोलाबीचसडक निर्माण काम ठप्प छ । भारी हिमपातका कारण यो सडकमा यातायातका साधन पनि चल्न सकेका छैनन् । माथिल्लो भेगमा अझै हिउँ पर्न रोकिएको छैन ।

योसडक खण्ड १३ किलोमिटर दूरी सबैभन्दा धेरै प्रभावित बनेको छ । जसमध्ये १० किमि सडकमा हिउँ २ देखि ४ फिटसम्मको रहेको छ । साढे दुई वर्षदेखि कालोपत्रेको लागि वेस निर्माण धमाधम भए पनि हिमपातले कालोपत्रेमा असर पुगेको छ । हिउँ पर्नुअघि सम्म ग्रावेल, कटिङ, नाली, ग्याविन जाली हाल्ने काम भइरहेको छ । यस सडकमा कालोपत्रेको लागि काम सिद्धिसाइ कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ ।

वर्षायममा वर्षाको पानी र हिउँदमा हिउँको चिसोले गर्दा निर्माण काममा समस्या भएको निर्माण कम्पनीका इन्चार्ज पुष्पकुमार शाहीले बताउनुभयो । अहिले हिउँको चिसोले गर्दा सडक निर्माणका मेसिन बिग्रेर चल्न नसक्ने अवस्थामा छन् । चिसोको कारणले काम रोक्न बाध्य भएको र हिउँ बिलाएपछि मात्रै काम शुरु गरिने उहाँले बताउनुभयो ।

फागुन ६ गते मात्र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आउने बेला डोजरले हिउँ हटाइएको थियो । अहिले पुनः हिउँ परेपछि सडक अवरुद्ध भएको छ ।

हिउँका कारण रुकुमपूबाट बाग्लुङ, पोखरा, काठमाडौंलगायतका रुटमा गाडी चल्न सकेका छैनन् । हिउँ हटाउँदै यातायात सञ्चालन गर्ने तयारी पनि गरिएको छ । आफूहरुका लागि काठमाडौं जान यो सडक निकै छोटो हुने भूमे गाउँपालिका २ का मदन कुमार रोका मगरले बताउनुभयो ।
रुकुमपश्चिमबाट काठमाडौँ घुमारो हुनेभएकोले लामो दूरी र बढी खर्च लाग्दछ । तर पनि पूर्बबाट सडक निर्माणाधीन रहेकोले सडक अफ्ठ्यारो रहेको छ । कालोपत्रे भयो भने रुकुमपूर्वको बाग्लुङ, पोखरा र काठमाडौंसम्मको आवागमन सहज हुनेछ ।

रुकुमपूर्वबाट बाग्लुङ, पर्वत, पोखरा, तनहुँ हुँदै चितवन भएर काठमाडौँ र रुकुमपश्चिमबाट सल्यान, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी चितवन हुँदै काठमाडौँ पुग्ने गर्दछन् । रुकुमपूर्वको बाग्लुङ भएर काठमाडौँ पुग्ने सडकको दूरी ४ सय २८ किमि छ भने रुकुमपश्चिमको सल्यान भएर काठमाडौँ पुग्ने सडकको दूरी ६ सय ३८ किमि रहेको छ । त्यसैले पूर्वबाटको यात्रा पश्चिमको भन्दा झन्डै २ सय किमि दूरी कम पर्दछ ।

सडक संचालनमा रहदा बाग्लुङको बुर्तिबाङ तथा भूमेको काँक्री लुकुम बस नम्बर नियमित चल्ने गरेको थियो । अब हिउँ हटाएर सञ्चालन गर्ने तयारी थालिएको भूमे १ का वडा सदस्य नविन्द्र पुनले जानकारी दिनुभयो । अन्य बाहिरी जिल्लाबाट भ्रमणको लागि निजर्भ बस लिएर आउने जाने गर्दछन् । काठमाडौँसंग जोडिएकोले कालोपत्रे भयो भने यहाँको महंगी पनि घट्ने र ब्यापार ब्यवसाय फाष्टाउने पुनको विश्वास छ ।

Facebook Comments