• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शालिकमा सन्तानको माया साट्छन सहिदका आमाहरु




दाङको घोराही उपमहानगरपालिका ६ की बजारी चौधरीका आँखा एक तमास शालिकतर्फ दौडिरहेका थिए । उनले घरबाटै उनेर ल्याएका माला झिकेर लगाइदिइन् र नजिकै बसिन् तर पनि उनका आँखा शालिकतर्फ नै थिए ।

कारण थियो– आफैले जन्माएका दुइ छोराछोरी त्यो शालिकमा खडिएका थिए । छोरी कृष्णी चौधरी र छोरा अर्जुन चौधरी शालिकमा ठडिएका थिए । नेपालमा दश बर्षसम्म चलेको सशस्त्र जनयुद्धमा लागेपछि राज्यबाट मारिएका दुइ छोराछोरीको सम्झना अब शालिकमा मात्रै सीमित छ ।

सोही ठाउँकी खिमा सुवेदी पनि गहभरि आँसु पारेर घरबाटै उनेर ल्याएका माला छोरा बसन्त सुवेदीको शालिकमा लगाइदिइन् । पालैपालो उनले अन्य सहिदका शालिकमा पनि लगाइदिइन् । ‘अब यही छ त सम्झना’– आँसु पुच्छै खिमाले भनिन्– ‘बर्ष दिनमा एकचोटी भए पनि यही शालिकमा आउँछु, छोरालाई टीका र माला लगाइदिन्छु ।’ त्यसो त छोराको सम्झना आउँदा अरु दिन पनि उनी यहाँ आएर शालिक हेरेर मायाँ फेरेर फर्कने गरेका छन् ।

अहिले घोराही उपमहानगरपालिका ६ र ७ नम्बर वडामा पर्ने साविक सौडियार गाविसमा द्वन्द्वकालमा राज्यबाट मात्रै ९ जनाको हत्या गरिएको थियो । उनीहरुको सम्झनामा घोराही ६ चोरगाउँमा सहिद पार्क बनाइएको छ । यही पार्कमा बर्षको एक दिन सहिद दिवस मनाइन्छ । हरेक बर्ष फागुन १४ देखि २१ गतेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सहिद सप्ताह मनाउँदै आएको छ ।

२०५२ फागुन १४ गते जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल मारिएको दिनदेखि २०२९ फागुन २१ गते इलामको सुखानीमा झापा बिद्रोहका यौद्धाहरु मारिएको दिन पारेर साताब्यापी सहिद सप्ताह मनाउने गरिएको छ । विगतमा माओवादीले मात्रै यो दिवस मनाउने गरेकोमा अहिले पार्टी एकतापछि संयुक्त पार्टीले नै सप्ताह मनाउन थालेको छ ।

हरेक बर्ष दिवस मनाउनु राम्रै भए पनि मुख्य कुरा छोराछोरीको सपना नै भएको दुइ छोराछोरी गुमाएकी बजारी चौधरीको भनाइ छ । ‘गरीब जनताको जीवन फेरिन्छ भनेर हाम्रा छोराछोरी युद्धमा लागेका हुन्’– उनी भन्छिन्– ‘तर, अहिलेसम्म खासै फेरिएको देखिएको छैन, छोराछोरीको सपना पूरा हुँदैन कि भन्ने चिन्ता लाग्छ ।’

दाङमा जनयुद्धका क्रममा राज्यबाट ४ सय १२ जना मारिएको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए । त्यसमा अझै १ सय १७ जनालाई सहिद घोषणा गर्न बाँकी रहेकाले फागुन महिनाभित्र बाँकीलाई सहिद घोषणा गर्ने गरी प्रक्रिया अघि बढेको पनि उनले बताए ।

नेपाली समाजमा रहेको अन्याय अत्याचारका बिरुद्ध भएको दश बर्षे जनयुद्ध नै आजसम्मको सबैभन्दा लामो र जनपक्षीय युद्ध भएको औल्याउँदै उनले त्यसपछि नेपाली समाजमा आएको अभूतपूर्व जागरण सबैभन्दा ठूलो सम्पत्ति रहेकाले यति ठूलो सम्पत्तिका हकदार सहिद परिवार निराश हुन नहुने बताए ।

Facebook Comments