• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्धको ऐतिहासिकता पुष्टिः झापा बिद्रोहकै निरन्तरता थियो जनयुद्ध




बिश्वका सर्बहाराहरुले गरिब किसान तथा उत्पिडित बर्ग समुदायसँग मिलेर सामान्ती पूँजीवादका बिरुद्द्ध बल प्रयोगमा आधारित वर्गसंघर्षबाट आफ्नो आजादि प्राप्त गर्न सक्छन भन्ने माक्सवादको निचोड हो। पूँजीवादीहरु उत्पीडित वर्ग समुदायका मान्छेहरुलाइ कजाएर आफ्नो स्वर्गको राज्य सँधै चलाइ राख्न चाहान्छन । त्यसैले उनीहरुले सर्वहारा र शोषित वर्गको हातमा सजिलै अधिकार दिन किमार्थ तयार हुदैनन । शोषित वर्गले सम्झौताहिन संघर्षबाट मात्र आफ्ना अधिकार प्राप्त गर्न सक्दछन ।

यसै सिद्धान्तमा टेकेर माक्र्सले पेरिस कम्युनको स्थापना गरे । थोरै समयका भए पनि मजदूर वर्गको हातमा अधिकार लिन सफल भए । भलै त्यसलाइ दीर्घकालीनरुपमा टिकाइ राख्नमा भएका कम्जोरी या तयारीको समीक्षा गरियो।

माक्र्सवाद एक अकाट्य बिज्ञान हो। तर राज्य ब्यबस्था परिबर्तन या अधिकार प्राप्तिको सिद्धान्त जड हुदैन भनिएको छ। अथवा देश काल र परिस्थितिअनुसार क्रान्तिको नियम परिवर्तनशील हुन्छ। यसैमा टेकेर रुसमा लेनिनले मजदूर बिद्रोहबाट जारशाहीलाइ पराजित गरेर समाजवादको दरिलो र भरिलो जग बसाले। यसले बिश्व पूँजीवाद र साम्राज्यवादको सातो गयो भने बिश्व सर्वहारा र शोषित वर्गको मनोबल उच्च भयो।

यसको प्रभाव बिश्वभरि पर्ने क्रममा चीनमा माओले माक्र्सवाद र लेनिनबादलाइ परिस्कृत र बिकसित गर्दै अर्ध औपनिवेशिक र अर्ध सामन्ती ब्यवस्था भएको देशमा ग्रामीण किसान बर्गलाइ संगठित गरी गाउँबाट शहर घेर्ने सशस्त्र छापामार युद्ध रणनीतिमा आधारित वर्ग संघर्षबाट राज्य सत्ता प्राप्त गर्न सकिने सिद्धान्त प्रतिपादन गरेर आफ्नै जिवनकालमा सफलतापूर्वक लागु गरे।

यसको प्रभाव छिमेकी भारत, फिलिपिन्सलगायत हाम्रो देश नेपालमा पनि पर्यो । कामरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा बि सं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी को स्थापना भयो। माक्र्सवाद परिबर्तनशिल छ भन्ने सिद्धान्तलाई आफू अनुकूल ब्याख्या गर्दै बिभिन्न गुट उपगुटमा बिभाजन हुने रोग नेपाली कम्युनिस्ट आन्दोलनको सुरुवातिको दुर्भाग्य भयो। एकले अर्कोलाइ आरोपित गर्ने र आफुलाईमात्र खाटी कम्युनिस्ट भन्ने कम्युनिस्ट प्रवृत्ति बन्यो । जसले गर्दा अहिलेसम्म पनि सबै कम्युनिस्टहरू अझै एक हुन सकेका छैनन्। यदि टुट्फुट हुने थिएनन् भने नेपालमा कम्युनिस्ट राजनीतिप्रतिको जनआकर्षण हेर्दा धेरै पहिले कम्युनिस्ट ब्यबस्था प्राप्त हुनसक्ने संभावना बलियो थियो ।

यसै क्रममा २०२८ सालमा तत्कालिन नेकपा मालेले नेपालको पूर्वी भागबाट सशस्त्र बिद्रोहको सुरुवात गर्‍यो तर त्यतिबेला अन्य गुटले समय नभएको, अपरिपक्व निर्णय आदि भनेर उसलाइ आरोपित गरे । त्यतिबेला सशस्त्र बिद्रोहको बिपक्षमा त कुनै समूह थिएनन तर समय परिस्थिति नबनेको भनेर झापा बिद्रोहको ऐतिहासिकतालाई स्वीकार गर्न कञ्जुस्याइँ गरे ।

खासमा २०२८ सालमा नै सबै कम्युनिस्टहरु एकजुट भएर गरेको भए अहिलेसम्म परिस्थिति धेरै अघि पुगिसक्ने देखिन्छ। सानो समूहले शुरु गरेको भएर सामान्तबादी सत्ताले त्यसलाइ सिध्याउने स्थिति बन्यो । महान शहिदहरु रत्न बान्तवा, कृष्ण कुइकेल, धिरेन राजबंशी लगायतका कयौं होनहार युबाहरुले रगत बगाए । सुराकीको सहयोगमा काम्रेड केपी ओलीलगायतका कयौंं नेतालाइ चिसो कस्टडिमा बन्दी बनाइयो ।

अन्तमा त्यो बिद्रोह सिद्धियजस्तै त भयो तर भित्रभित्र सहिदको रगत उम्लिरह्यो । फलस्वरुप २०४६ सालको जनआन्दोलनमा तत्कालीन बाममोर्चा सबभन्दा ठूलो कम्युनिस्ट पार्टी देखियो । २०४८ सालमा बिभिन्न समूहको एकताबाट नेकपा एमाले बन्यो तर त्यसले माक्र्सवादको सिर्जनशील विकास भन्दै राजासहितको संसदीय ब्यबस्थाबाटै राज्य सत्ता प्राप्त गर्न सकिने तर्क अघि सार्‍यो, जो त्यतिबेलाको नेकपा एकताकेन्द्र (पछिको माओवादी)ले अस्वीकार गर्‍यो ।

नेपालजस्तो अर्ध सामान्ती र अर्ध उपनिवेशिक मुलुकमा चीनको माओको मोडेलमा क्रान्ति गर्न सकिन्छ भन्दै जनयुद्दमा जाने निर्णय मा पुग्यो। त्यसबेलासम्म पनि मोहनबिक्रम सिंहको नेकपा मसाल परिस्थिति नभएको तर्क गर्दै थियो र उसले एमालेले अबलम्बन गरेको संसदीय ब्यबस्थाबाटै सुधार गर्ने कार्यनीति लागु गर्यो । यद्यपि उसले त्यो ठीक छैन पनि भन्थ्यो भने जनयुद्ध शरु गर्न पनि समय नभएको तर्क गर्थ्यो । यहा भन्न खोजेको के भने त्यसबेला पनि धेरै समूहमा बिभाजित कम्युनिस्ट आन्दोलनको ब्याख्या सबैले आआफ्नै अनुकूलतामा गरेर एक हुन सकेनन्, जसले गर्दा न संसदीय ब्यबस्थावालाले बर्चस्व बनाउन सके न शसस्त्र संघर्षवाला अथवाजनयुद्द्धको नेतृत्व गर्ने दलले नै राज्यसत्ता कब्जा गर्ने स्थिति बन्यो ।

यसरी टुटफुट र गुटको दलदलबाट अघि बढेको कम्युनिस्ट राजनीति थोरै संख्याले पनि साहस बोकेको साहसी झापा बिद्रोह र योजनाबद्ध तरीकाले शुरु गरी राज्यको अधिकांश भूगोल र प्रशासन समेत कब्जा गर्न सफल भएको महान जनयुद्ध नेपाली राजनीतिकको एक कोशेढुंगा बन्न पुग्यो ।

अहिले आएर देशकै दुई ठूला कम्युनिस्ट पार्टीहरु तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओबादी केन्द्रलाइ देश, काल र परिस्थितिले एकताबद्ध हुन प्रेरित गर्‍यो । बस्तुस्थितिको सही मूल्यांकन गर्दै हाम्रा नेताहरुले अवसर र चुनौतीका बीचबाट एकताको प्रारम्भ गरे र टुटफुट र गुटको राजनीतिबाट आजित तर कम्युनिस्ट राज्य ब्यबस्थाप्रेमी नेपाली जनताले एकतालाइ दिलै देखि स्वीकार गरेर आम चुनावमा अत्यधिक मतले बिजयी बनाए ।

यस क्रममा कसका कति कमजोरी रहे या सबल पक्ष त्यो निस्वार्थ सर्बहाराबादी दृष्टिबाट समालोचना गरिनु आबश्यक छ तर जब हामी एकतालाइ अपरिहार्य ठान्छौ तब एक अर्काका कमजोर पक्षलाइ बिर्सिन्छौ, सबल र असल पक्षलाइ आत्मसाथ गर्छौ। यो एकता प्रक्रियाको आम नियम नै हो । यदि त्यसो गर्न सकिएन भने एकता प्रक्रियाले भावनात्मक रुपमा पूर्णता पाउन सक्दैन।

यहा मैले चर्चा गर्न खोजेको सन्दर्भ के हो भने नेकपा सिंगो पार्टीले नै जनयुद्धको ‘ओनर’ लिएको छ । यो ऐतिहासिक आवश्यकता र इतिहासप्रतिको सम्मान दुबै हो । जनयुद्ध झापा बिद्रोहकै निरन्तरता थियो भन्ने ब्यवहारतः अहिले आएर पुष्टि भएको छ । जब एकताको कुरा उठ्यो, तब माओबादी पक्षका आम समर्थकदेखि नेतासम्मलाइ लागेको विषय जनयुद्ध, त्यसका महान सहिद र उपलब्धि के हुन्छ भन्ने थियो। जसलाइ पूर्णरुपमा निर्णय नगरी बिश्वासका बलमा नेतृत्वले पेलेर लगेको सत्य हो । कतिपय नेता र कार्यकर्ता एकता प्रक्रियामा सहभागी पनि भएनन ।

यदि सुरुमै जनयुदद्धका कतिपय कमजोरीको समीक्षा गर्दै यो झाडा बिद्रोहीकै निरन्तरता र जनआन्दोलनको आधार थियो भन्ने दस्तावेजमै उल्लेख गरेको भए एकताले थप गति लिने थियो । ढिलै भए पनि यो बर्षदेखि नेकपाले एकताको मर्म आत्मसात गर्दै ऐतिहासिक कडी जोड्न सफल भएको छ, यो भावनात्मकरुपमा मात्र होइन ऐतिहासिहक घटनााक्रमका हिसाबले पनि महत्वपूर्ण छ । अझै पनि एकता प्रक्रियामा मिलाएर लैजानुपर्ने धेरै छ । अब सिंगो नेकपाले जनयुद्धको ऐतिहासिक आवश्यकतालाई स्वीकार गरी यसको अपनत्व ग्रहण गरिसकेपछि यसका सहिद, घाइते र अपांगहरुको सम्मानमा पनि सोहीअनुसार कार्यक्रम अब राज्यस्तरबाटै बनाउनु जरुरी छ ।

हामील्े एकता गरेर पदीय स्वार्थ मात्र हेर्ने, एकपटक सरकार बनाउने बाडिचुडी खाने र अर्को पटक देखाजाइगा भन्ने खालले काम गरियो भने न यो एकता दीर्घकालीन हुन्छ न त राष्ट्रले बिकास र समृद्धि दिशा पकड्छ। निस्वार्थ भावले पार्टीलाई एकताबद्ध गर्ने हो भने तत्तत् इतिहासको सही मूल्यांकन गर्दै इतिहास र वर्तमानको तालमेल गराउनुपर्छ र भावी कार्यक्रम यसैका आधारमा निर्धारण गरिनुपर्छ । अहिले नेता, कार्यकर्ता र जनताको बीचको दूरी बढेको थियो । जनयुद्धको मूल मर्म जनशैली थियो । जनशैलीविनाको पार्टीले जनयुद्धको मर्म समेट्न सक्दैन ।

त्यसैले अब पार्टीले जनशैलीलाई पुनस्र्थापित गर्नु जरुरी छ । सर्वहारा नेता, अनुशासित कार्यकर्ता र बलियो जनाधकारले मात्रै साँचो कम्युनिष्ट पार्टी निर्माण हुनसक्छ । हिजो जनयुद्धले सिकाएको शिक्षा यही हो । गैरसर्वहारा चरित्रका नेता, अराजक कार्यकर्ता र निराश जनता आजको यथार्थ जस्तो देखिएको छ । यो टाउकाले हिडिरहेको पार्टीलाई खुट्टाले हिड्नसक्ने बनाउनु आजको मुख्य चुनौति हो । जनयुद्धको अपनत्व लिनुको सार पनि यसमै हुनेछ र क्रान्तिका बाँकी कार्यभार पनि पूरा गर्न सकिने छ । नीति, सिद्धान्त, विचार परिस्थितिअनुसार छाड्न र अंगिकार गर्न सकिने बिषय हुन्, मुख्य कुरा पार्टी पार्टीजस्तो हुनुपर्छ ।

अब त झन हामी त एउटै पार्टी, सम्पूर्ण शक्ति उत्साहका साथ लाग्नुछ। हिजोका तीता र अमिला कुरा सबै बिर्सिनु छ। आन्दोलन हो, सत्ता पक्ष र बिद्रोहीबीच संघर्ष हुदै गर्दा कतिपय अप्रिय घटनाहरु त्यतिबेला सत्तामा रहेको पक्षबाट पनि भए, बिद्रोहिबाट पनि भए । ती सबैलाइ बिर्सेर हामी धेरै अघि बढिसकेका छौं । भावनात्मक एकताको प्रक्रियामा छौं । त्यसका लागी जनयुद्द्धलाइ हामी सबैले उपलब्धिको पाटोबाट हेरेर उत्साहपूर्ण रुपमा अघि बढौं । सहिद परिवार र घाइते अपाङ्गलाई पार्टीप्रति विश्वस्त हुने वातावरण बनाऔं । हिजो ठूलो पार्टी देखेर मन्त्री पाउने आशामा करोडौ चन्दा बुझाइ सांसद बनेकाहरुले पक्कै पार्टी चलाउन सक्ने छैनन् । त्यसैले हरेक तहमा पार्टी नेतृत्व चयन गर्दा हिजो जुनसुकै घटकमा रहेर पनि क्रान्तिप्रति दृढ र आर्थिक अनियमिततामा नमुछिएका इमान्दार कमरेडहरु खोजौं ।

र, सम्पूर्ण संकीर्णता त्यागेर एउटै स्वरमा यी नारा घन्काऔं–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)– जिन्दाबाद
महान शहिदहरु– अमर रहू
सशस्त्र झापा बिद्रोह– जिन्दबाद
सुखानी र झापा बिद्रोहका सहिदहरु– जिन्दाबाद
महान जनयुद्ध– जिन्दाबाद
जनयुद्ध र विभिन्न आन्दोलनका सहिदहरु– अमर रहून्
इतिहासको सम्मान गरौं, घाइते र अपांगहरुको उचित संरक्षण गरौं

Facebook Comments