• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा मदिरा निषेधः आवश्यकता, चुनौति र भूमिका




आज रुकुममा एउटा चुनौतीपूर्ण तर निकै प्रशंसायोग्य कामको थालनी भएको छ । यसको चिन्ता हामी केही व्यक्तिलाई मात्रै हो कि भन्ने लाग्थ्यो तर रुकुमको जिल्ला सरकारलाई नै यो महसुस हुनु सुखद शुरुवात हो । देशलाई नयाँ सन्देश दिने अभियान थालिएको छ– रुकुम अब मदिरामुक्त बन्ने क्रममा छ ।

यो निकै जरा गाडर हांगा फैलाएको ऐजेरु पलाएको नसालु रुख हो । यो एक क्यान्सरभन्दा भयंकर रोग हो । यसको नियन्त्रण त्यति सजिलो पक्कै छैन, जति फेसबुकमा बोल्नुमा छ । यो कदम निकै चुनौतिपूर्ण तर अत्यावश्यक अभियान हो ।

यति याद हुदै कि यसले भेट्यो भने गैरीखाडलमा फसाउँछ । त्यसैले यसको नियन्त्रण अभियानमा यसको सहारामा रोजीरोटी धान्ने गरिब वर्गदेखि बडेमानका महोत्ससहरुमा काँचका गिलास ठोक्काउने धनाढ्यसम्म यो अभियानमा तगारो बन्ने छन । स्कूलका कक्षामा निदाउने, कक्षाबाट निस्केपछि खल्तीमा लुकाएर सडक पेटी या खोला किनारामा लट्ठिने शिक्षक बिध्यार्थीदेखि दार्शनिक साहित्यकारसम्म, सबै तह तीकाका जनसमुदाय कुनै न कुनै बहाना बनाएर यसको बचाउमा जुलुश निकाल्नेछन् ।

कोही हामीले कसको के बिगारेका छौं भनी कुर्लने छन्, कसैले ठूल्ठूलालाइ सक्दैन्न, हामीले एकछाक धानेको देखिसहदैनन् भन्नेछन । कसैले तेल पनि लाउनेछन् र भित्रभित्रै अभियानको बिरोध पनि गर्नेछन् । जथाभावी खान नदिउँ, भित्रभित्र त जेसुकै गरुन छोड्दिउं, आखिर राजश्व पनि त राम्रो उठ्छ । यति धेरै कर्मचारी र पधाधिकारिलाइ तलब धान्न पनि त सघाउछ । यस्तै यस्तै तर्क पनि यो बीचमा धेरै आउनेछन् ।

यताबाट उताबाट चारैतिरबाट यो अभियानलाइ कमजोर बनाउनकै लागि प्रयत्न हुनेछन् । दिलदेखि नै यसको नियनत्रण गर्नु पर्छ भन्नेहरु निक्कै कम हुनेछन् । हिजो खोला किनारामा लाशजस्तै पल्टेर आनन्दित हुने महाशयहरु आज आफ्नो चरित्र हत्या भएको दोष त्यो नशालु झोललाई दिने छैनन् बरु सडकको शयनलाई स्वर्ग नै ठान्नेछन् ।

यसको नियन्त्रण या निर्मूल चाहने सरोकारवालाहरु बहुत चलाखी र संयमतापूर्वक लाग्न आबश्यक हुन्छ । तगारो बन्न आउनेलाई आक्रामक हैन, शालीन ढंगले प्रतिवाद गर्ने रणनीति बनाउनुपर्छ । उनीहरुलाई विनम्रतापूर्वका अनुरोध गर्ने, जुन व्यक्तिले धेरै मादक पदार्थ सेवन गर्छ, उसकै घरबाट अभियानको नेतृत्व तयार पार्ने, मदिराका कारण विश्वमा भएका क्षतिका विवरण सार्वजनिक गन आदि अभियानको कार्यनीति बन्नुपर्छ ।

त्योभन्दा अघि योजना निर्माणमा नै ध्यान पु¥याउनुपर्छ । के पनि सुनिदैछ भने गाउघरका कच्ची रक्सी हटाउने तर शहरिया पक्की रक्सी निर्बाध चल्न दिने । यदि यो साँचो हो भने योजना कमजोर छ । यसले पक्कै प्रतिफल राम्रो दिने छैन । हाम्रो गाउँघरतिर रक्सीले अनाहाकमा धेरैको ज्यान लिएको छ । धेरैलाइ बिनाकारण दुशमनी बढाएको छ । परिवार सखाप पार्नेदेखि घाटी रेट्नेसम्मका घटना भएको धेरै भको छैन । मुख्य दोष मदिराकै हो, यसमा कच्ची र पक्की भन्ने हुँदैन, नशा एउटै हो ।

सबैको चासो र चिन्ता बढेको हो । धेरैको माग वा चासोमा ध्यान दिनु पक्कै पनि सरोकारवालाहरुको असल कदम ठहरिन्छ, जो स्वागतयोग्य छ तर मान्छेका ब्यक्तिगत, समाजिक र नैतिक जीवन बर्बाद गर्ने यो बिषालु जललाइ पनि बर्गीकृत गरियो भने अभियान सफल हुन सक्दैन ।

यो अभियान चलाउनुपूर्व सचेतनामूलक कार्यक्रम धेरै नै गरिनुपर्ने थियो । केही नगरपालिकाले त गरेका पनि थिए । यो पाटो कमजोर रहेकाले अब ब्यापक मात्रामा चेतना विस्तारको अभियान थाल्नुपर्छ । हिजो कुनै समय एकलौटी जनवादी सत्ता चलाएका बेला पनि यसको नियन्त्रणमा कति धेरै समस्या थियए भने अहिले त झन पक्ष बिपक्षको राजनीति छ । अर्कोले जतिसुकै राम्रो काम गरोस्, कहाँ छिद्र भेटिन्छ भनेर सुरुङभित्र पनि राँको बाल्ने प्रतिपक्षीय मानसिकताबाट नेपाली राजनीति आक्रान्त छ ।

यसको चपेटामा यो अभियान नपरोस् । प्रतिपक्ष दलले घुमाउरो भाषामा यसको बिरोध शुरु गरेको छ, उसले यसलाई बढाउने हो भने यही कारण अर्को चुनाव उसका लागि थप दुखान्त हुनेछ । आजका मतदाता भनेका महिला हुन्, उनीहरु सबैभन्दा धेरै मदिराबाट वाक्कदिक्क छन्, त्यसैले उनीहरुको मत मदिराविरोधी अभियानको पक्षमा स्वतः प्रकट हुनेछ ।

मुख्य कुरा कुनै समस्या आए पनि अभियन्ता बिचलित हुनु हुँदैन । यो अभियान रुकुमको भविष्यसँग जोडिएको छ भने देशका लागि प्रेरक प्रसंग बन्नसक्छ । समृद्द नेपाल, शान्त सुन्दर नेपालको भीमकाय सपनामा दीर्घकालिन असर पु¥याउने कारकको रुपमा रहेको मदिरा नियन्त्रण आजको ऐतिहासिक आवश्यकता हो । यसकै नियन्त्रणबाट शुरु गर्नुपर्छ समृद्ध नेपालको यात्रा । अन्यथा तपाइ हाम्रो पुस्ता त्यसैको रसतालमा डुबेर सक्किनेछ ।सन्ततिहरु हाम्रो लाश तह लगाउनमै ब्यस्त हुनेछन या हाम्रो खरानी घसेर जोगी बन्नेछन् ।

जनता परिचालनन र सभा सम्मेलन, शिक्षण प्रशिक्षणजस्ता कार्यक्रमहरु ब्यापक रुपमा गाउँगाउँ र टोलटोलमा संचालन गर्नु आवश्यक छ । कुनै पनि राजनैतिक या सामाजिक योजना लागु गर्ने गर्ने भनेको जनतामा गएर नै हो । अझ जनताले नै सम्पन्न गर्ने हो । जो धेरै पीडित छ उसैबाट अभियानको शुरुवात गरौं र अन्तिममा जो धेरै मदिरामा लिप्त छ उसलाई नै अभियानको नेता बनाउने गरी रणनीति तयार गरौं । यसका लागि दल, सरकार र र अझ प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ ।

अन्य जिल्लासँगको समन्वयमा पनि उत्तिकै चनाखो हुनुपर्नेछ, अन्यथा कालोबजारी भित्रन सक्छ । रुकुममा प्रतिबन्ध लगाए पनि मदिरा सेवन गर्न जागरकोट, सल्यान, डोल्पा, रुकुमपूर्व र रोल्पासम्म पुग्ने स्थिति नआओस् । अहिले पनि नेपालका सीमावर्ती क्षेत्रमा भारतबाट रक्सी खान आउनेहरुको भीड हुन्छ किनकि भारतमा रक्सी विक्रीमा कडाइ छ ।

सारमा योजना निक्कै प्रशंसनीय र आबश्यक छ । तर, योजना कार्यान्वायन र अनुगमनको पाटोमा तालमेल मिलेन भने सफल हुन कठिन नै हुन्छ । सम्पूर्ण सरोकारवालाहरु त्यसतर्फ जुटौं । सिंगो देशलाई नयाँ सन्देश दिऔं । दिनराति जाँडरक्सीमा मातिने र घरमा पुगेर हिंसाका नयाँ नयाँ घटना गराउने गाउँ र घरहरुमा अब नयाँ समृद्धिको बहस शुरु हुनेछ । शान्ति र शालीन समाज बन्नेछ । रुकुमपश्चिमले नमूना देखायो भने यो देशकै लागि मार्गदर्शन हुनेछ ।
त्रिवेणी गापा १ रुँघा रुकुम
हाल– दक्षिण कोरिया

Facebook Comments