• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शैक्षिक सुधारका लागि घोराही १४ मा अभियान




विद्यालय शिक्षाको ब्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारले पाएसँगै कयौं स्थानीय तहले शैक्षिक सुधारको प्रयास गरिरहेका छन् । यसैक्रममा घोराही उपमहानगरपालिका १४ ले पनि शैक्षिक सुधारका लागि प्रयास गरिरहेको छ ।

जसअनुसार यो वडाले गत भदौदेखि २१ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइ विद्यालयहरुमा लागु गर्ने प्रयास गरिरहेको छ भने सामुदायिक र संस्थागत विद्यालयका अगुवाहरुलाई एउटै थलोमा जम्मा गराएर अनुभव साटासाट पनि गराइरहेको छ । वडाले वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरुलाई तालिम दिएको छ ।

त्रिपक्षीय प्रतिबद्धता तयार पारेर गत भदौ १ गतेदेखि लागु गरिएको जानकारी दिंदै वडा अध्यक्ष शक्तिराम डाँगीले त्यसको कार्यान्वायन अवस्थाको जानकारी लिन तथा थप सजगताका लागि तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सुधार नगरी अन्य विकास अधुरो हुने भएकाले पहिलो चरणमा शिक्षकलाई सुधार्ने र नसके कारवाहीकै प्रक्रियाबाट पनि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मुख्य प्रशिक्षक घोराही उपमहानगर शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराइले स्वस्थ र गुणस्तरीय शिक्षाका लागि विद्यालय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । पहिलो सवाल विद्यार्थीको सुरक्षा भएको औल्याउँदै उहााले शिक्षकले विद्यार्थीलाई पछ्याउनसक्नुपर्ने बताउनुभयो । स्थानीय सरकारल शिक्षकलाई ‘कि गर, कि छाड’ भन्ने अवस्थामा पुगेको औल्याउँदै उहाँले खुशीका साथ पढाउन नसक्ने वा नचाहने शिक्षकले पेशा बदल्दा उचित हुने तर पेशामा रहँदासम्म बेइमानी गर्न नहुने बताउनुभयो ।

विद्यालयहरुलाइ लट्ठीमुक्त क्षेत्र बनाउन निर्देशन दिंदै उहाँले लट्ठी खेलाउने हो भने शिक्षण होइन सुरक्षा सेवा जान पनि सुझाउनुभयो । कुनै पनि विद्यालयमा फलामका डेस्क बेञ्च बनाउन नहुने र विद्यार्थीलाई झोला राखिदिने ठाउँ पनि बनाउनुपर्ने उहाँले सुझाउनुभयो । सामुदायिक वा संस्थागत दुबैखाले विद्यालयले पैसा लिने गरेको उल्लेख गर्दै उहाँले त्यसको परिणाम दिनसक्नुपर्ने बताउनुभयो ।

‘सामुदायिक विद्यालयमा शुल्क राज्यले तिरिदिन्छ भने संस्थागतमा अभिभावकले उठाउँछन् तर पैसा सबैमा लिइएको छ’– ‘त्यसैले रकम लिएको जष्टिफिकेशन विद्यालय र शिक्षकले दिनुपर्छ ।’

अब विद्यालयमा शिक्षक विद्यार्थी मात्र अभिभावकको हाजिरी ब्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले बढी विद्यालयमा आउने अभिभावकलाई सम्मानको ब्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

अभिभावकलाई पनि बालबालिकाको शिक्षाप्रति गम्भीर बन्न आग्रह गर्दै उहाँले भन्नुभयो– ‘खेती बिग्रियो भने अर्को बर्ष फलाउन सकिन्छ तर बालबालिका बिग्रिए सुधार्न सकिदैन, आफ्ना सन्तानको भविष्यप्रति गम्भीर बन्नुस् ।’

शिक्षकको दुइ ग्रेडसम्म रोक्का गर्ने अधिकारी विद्यालय ब्यवस्थापन समितिलाई भएको औल्याउँदे उहाँले प्रभावकारी शिक्षण पेशा नगर्ने शिक्षकलाई निर्मतापूर्वक कारवाही गर्न विव्यस र प्रअहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा स्रोतव्यक्ति विप्लव अधिकारीले पनि प्रशिक्षण दिनुभएको थियो भने सहभागीले प्रगति विवरण र अनुभव सुनाएका थिए ।

Facebook Comments