• १७ कार्तिक २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राम्री दुर्घटनामा ज्यान गुमाएका बिजयलाई बाबुको भावपूर्ण सम्झना !




दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीनजिक भएको हृदयविदारक दुर्घटनाका कारण सिंगो देश रोएको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक विद्यार्थी चढेको बस दुघंटनामा पर्दा २३ जनाको ज्यान गयो भने १४ जना घाइते भए ।

ज्यान गुमाउनेमध्ये एक विद्यार्थी हुन् घोराही १४ निवासी १७ बर्षीय बिजय जीएम । तीन बर्षको हुँदा गाडीको ठक्करबाट बालबाल बाँचेका उनी मुटुको अप्रेशन गर्दा पनि त्यस्तै जटिल प्रक्रियाबाट बाँचेका थिए ।

तर, तेस्रोपटक भने उनी यो संसारमा रहेनन् । उनको निधनको छैठौं दिन राजमो नेता तथा निर्माण ब्यवसायीसमेत रहेका बाबु रामबहादुर जीएमले फेसबुकमा भावुक स्टाटस लेख्दै छोरालाई यसरी सम्झेका छन्–

बिजय बावु,
मेरो छोरा तिमीले यो संसार बुवा आमा दिदी बहिनि आफन्त इष्टमित्र साथीभाइ छाडेर गयको आज छैठौं दिन भयो । भोलि सातौ दिन तिम्रो सम्झनामा हार्दिक श्रद्धाञ्जली कार्यक्रम गरेर अन्तिम बिदाई गर्दैछौं ।

मेरो जीवन रहुञ्जेल तिम्रो सम्झनाले र सँगै रहेको, रमाएको, कहिलेकाही झगडा गरेको, ती अतीतका दिनहरुले झस्काईरहनेछ। तिम्रो काल बनेर आएको त्यो दिन पनि मैले सधैंझै सुतिरहेको तिमीलाई बिहानै छ बजे उठाएर कलेजको गेटसम्म पुर्याएर फर्किएँ ।

त्यो नै अन्तिम भेट र बिदाई रहेछ मलाई के थाहा ! थाहा भएको भए मैले तिमीलाई घरमै सुतिरहन दिने थिएँ । बिहानै आमा सुतिरहेको ठाउँमा पुगेर ‘आमा म कति ह्याण्डसम छु’ भन्न भ्याएका रहेछौ।

तिम्रो आत्माले म चाडै यो संसार छाडी जाँदैछु भन्ने थाहा पाइसकेको रहेछ । त्यसैले त सुतिरहेको ठाउँमा आमालाई भेटी ‘म कति ह्याण्डसम छु आमा’ भन्न गयौ ।

कलेज जाँदैगर्दा तिमीले सदाझैं बुवा स्कुटी कहिले किन्ने हो ? भनेर सोध्यौ । मैले ‘किन आत्तिएको भर्खर दुई तीन महिना भएको छ कलेज जानला’को अझै तीन बर्षको कोर्ष छ, लाइसेन्स पनि छैन, तिम्रो पहिला लाइसेन्स बनायर किनौंला । कलेज आउन पनि तिमीलाई सँधै मैले छाड्न आउँछु, नभ्याएको बेला जागर नलागेको बेला आफै चलाएर जाउ भनी बाइक दिने गरेको छु, नआत्तिनू, पछि किनौलाँ’ भनेको थिएँ ।

तर, मलाई के थाहा ! तिमी चाडैं नै स्वतन्त्र भएर आफ्नो स्कूटी वा बाइक चलाउने रहर पूरा गरी हामीसँग बिदा हुने चाहना रहेछ । अफसोच छ मलाइ, तिम्रो चाहाना पूरा गर्न सकिनँ, माफ गर्नु छोरा ।

अर्को कुरा तिमीले आफ्नो इच्छाअनुसार पढिरहेको कलेज र बिषय छाड्न लगाई राम्रो होला भनेर टेक्निकल बिषय पढन सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा अनुरोध गरें । तिमीले पनि स्वीकार गर्यौ तर त्यो नै जिन्दगीको ठूलो भूल भयो । मैले तिमीलाई पढ्न हैन, मृत्युको मुखमा लगेर राखिदिएँ जस्तो लागिरहेको छ ।

सरी बावु बिजय, सक्छौ भने माफ गर। तिम्रो हाम्रोबीचको सहयात्रा कुराकानी, सँगै बसेको, नाँचेको, हाँसेको, तिम्रो चाहना पूरा नभइ अधुरो रहेको, यी र यस्तै अतीतका कुराले सँधै सम्झना र पछुतोले झस्कारहनेछ। तर पनि बावु बिजय छोरा, म बाचुनजेल म जहाँजहाँ जान्छु, त्यहाँ तिम्रो नाम आउने र अमर रहने गरी पुस १२ गते सातौ दिनको श्रद्धाञ्जली सभामा प्रण गरेर अन्तिम कार्यक्रमका साथ बिदाई गर्नेछु।
उही तिम्रो बुवा रामबहादुर जीएम तथा समस्त परिवार
घोराही १४ दाङ

Facebook Comments