• १२ आश्विन २०७९, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली समाजको डरलाग्दो चित्र




उमेर शताब्दीमा पुग्न अब मात्र दश बर्ष बाँकी छ । कुनै जीवनका रहर बाँकी छैनन् उहाँसँग अब । बस्यो भने उठ्न मात्रै पाँच मिनेट लाग्छ, उठ्यो भने बस्न पनि त्यति नै समय । लट्ठीको सहारामा लतारिदै थोरै ठाउँमा हिड्दा पनि निकै सकस हुन्छ उहाँलाई तर पनि जेनतेन दुःखका दिन धेकेलिरहनुभएको छ । उहाँको नाम हो– पशुपति चौधरी, उमेर ठ्याक्कै ९० पुगेको छ । हापुर बरुवागाउँ घर हो तर आफन्त भन्नु यही बृद्धाश्रम मात्रै ।

हापुरकै बिष्णु बिश्वकर्मा पनि ८४ बर्ष हुनुभयो । उहाँ घरपरिवारबाट सहाराविहीन भएर मात्रै होइन, उहाँले घर छाड्नुको कारण समाज पनि हो । जुन समाजलाई उहाँले आफ्नै घर ठानेर आडभरोसका साथ बस्नुभएको थियो, त्यही समाजले बोक्सी आरोप लगाएपछि उहाँको फेरि पुरानो समाजमा फर्कने आशा पलाएन । बरु उहाँ धेरै ठाउँबाट बटुलिएका बृद्धाश्रमका बृद्धबृद्धाकै समाजलाई प्यारो मानेर यही बसिरहनुभएको छ ।

रोल्पा गजुलकी ७० बर्षीया लालकुमारी पुरी बृद्धाश्रमकै नयाँ सदस्य हुनुहुन्छ, जो यहाँ आएको तेह्र महिना मात्रै भयो । लामो समयदेखि छोरा भारतमा काम गर्न गएकाले छोरा आउला र केही सहज होला भन्ने आशामा रहेकी लालकुमारीको छोरा भारतबाट आउन ढिला गरेको र बुहारीले सहनै नसक्ने गरी अपमान गरेपछि उहाँ बृद्धाश्रमको शरणमा आउनुभएको हो । अहिले पनि नातिको मायाँ लाग्छ उहाँलाई तर बुहारीको वचन सम्झँदा नातिको मायाँ आँसुसँग साटेर उहाँ यहाँ बस्नुभएको छ ।

दाङकै हापुरबाट बर्दिया बसाइ सरेका ८० बर्षीय दुर्गाप्रसाद पाण्डे बृद्धाश्रमकै सज्जन मानिनुहुन्छ । गहकिलो शैलीमा कुरा गर्ने उहाँ पनि मनभरि पीडा बोकेर कहिल्यै घर नफर्कने मनस्थितिमा यहाँ बस्नुभएको छ । ‘छोरा अम्मली थियो जण्डिस भएर मर्यो’– पाण्डे भावुकहुँदै विगत सम्झनहुुन्छ– ‘श्रीमतीले सँधै अपहेना गर्न थालेपछि घर छाडेर निस्केको हुँ, केही समय भाञ्जीको घरमा बसें, त्यहाँ बसेर नपुग्ने देखेर बृद्धाश्रम आएको हुँ ।’ कहिलेकाही नाति भेट्न आउँदा मेरो पनि कोही त छ भन्ने लाग्छ उहाँलाई तर पनि अब यही बृद्धाश्रममै जीवन बिताउने उहाँको विश्वास छ । ‘यहाँ मजस्तै दुःखीहरु छन्, सबैको अनुहार हेरेर चित्त बुझाउँछु’– उहाँले थप वह पोख्नुभयो– ‘म अब यही मर्ने हो ।’

समाजमा कतिसम्म अत्याचारीहरु बस्छन् भन्ने बृद्धाश्रमका बृद्धाबृद्धाका कथाबाट बुझ्न सकिन्छ । बसन्ती शाह राम्ररी बोल्नसक्नुहुन्न । उहाँलाई उमेरले धान्दासम्म जमीन्दारले काममा लगाए । तर, जब उहाँका हातखुट्टा चल्न छाडे ती क्रूर जमीन्दारले उहाँलाई बद्धाश्रमकै गेटमा ल्याएर छाडिदिए । उहाँको उहाँको सहारा पनि यही बृद्धाश्रम बनिरहेको छ ।

त्यसो त धन सम्पत्ति हुँदैमा पनि सन्तुष्टि हुँदो रहेनछ भन्ने दृष्टान्त बन्नुभएको छ शिव गिरी । आजको मूल्य पाउने हो भने उहाँ घोराहीको धनाढ्यमै पर्नुहुन्थ्यो । बजारमै चार कट्ठा थियो उहाँको । बुवाको सोझो स्वभावको फाइदा उठाएर दुइ छोरीले करोडौं पर्ने चार कट्ठा जग्गा आफ्नो नाममा बनाएर बाबुलाई घरबाट निकालिदिए । लामो समयसम्म बजारमा फिरन्ते जीवन बिताएका गिरीको अहिले यही बृद्धाश्रम नै सहारा बनेको छ ।

यस्तै यस्तै फरक फरक कथासहित भित्रिएका १७ जना बृद्धाबृद्धा अहिले ज्येष्ठ नागरिक सरोकार केन्द्रले सञ्चालन गरेको द्रोपताकुमारी लोहनी लक्ष्मी नारायण बृद्धाश्रम घोराही १६ तेरौटेमा आश्रम लिइरहेका छन् । स्वर्गीय खगराज लोहनीले उपलब्ध गराएको चार बिघा जमीनमा बनाइएका आवासमा बृद्धाबृद्धाले जीवनको अन्तिम क्षण गुजारिरहेका छन् । अहिलेसम्म यो बृद्धाश्रमको सहारामा आएका २९ जनामध्ये ९ जनाको यही आश्रममै निधन भइसकेको छ । जसको उनीहरुकै संस्कारअनुसार अन्त्येष्टि गर्ने गरिएको केन्द्रका अध्यक्ष भुपाल गिरीले जानकारी दिनुभयो । दुइ जना घरमै पुनस्र्थापित भएका छन् भने बाँकी १७ जना अहिले पनि यही छन् ।

केन्द्रले विभिन्न स्रोतको खोजी गरेर उनीहरुको भोजनको ब्यवस्था गर्ने गरेको छ । त्यसो त उनीहरुलाई धर्मकर्म र भजनकीर्तनका लागि आकर्षक मन्दिरको समेत ब्यवस्था गरिएको छ । घोराही बजार नजिकै र घोराही–तुलसीपुर सडकको थोरै उत्तरतर्फ यो बृद्धाश्रम रहेकाले धेरैले सामाजिक सेवा वा धार्मिक पुण्य कामका लागि यही बृद्धाश्रममा दान गर्ने गरेकाले पनि केन्द्रलाई केही सहज भएको छ ।

कुनै पनि विकल्प नभएकालाई मात्रै यहाँ राख्ने गरिएकाले संख्या धेरै बढ्न नपाएको र आफूहरुको उद्देश्य घरै तीर्थ बनाउनु रहेको केन्द्रका अध्यक्ष गिरीको भनाइ छ । ‘धेरै व्यक्ति यहाँ विभिन्न अवसर पारेर बृद्धबृद्धालाई सहयोग गर्न आउने गर्नुभएको छ’– उहाँले भन्नुभयो– ‘कम्तीमा उहाँहरुले मात्रै आफ्नो बाआमालाई सम्मानपूर्वक घरमै राख्न सके यो बृद्धाश्रमले बृद्धबृद्धालाई आश्रम दिएकोभन्दा त्यो महत्वपूर्ण सन्देश हुने हाम्रो विश्वास छ ।’

यहाँ बस्ने प्रायः सबै बृद्धबृद्धाको समान समस्या भनेकै रोग हो । केही दीर्घरोगी छन् भने बाँकीमध्ये पनि दैनिक तीन चार जना जति बिरामी पर्ने गरेको बद्धाश्रमकी कार्यालय सहायक हिरा शाहले जानकारी दिनुभयो । स्वर्गीय टेकनाथ गौतमले बृद्धाश्रमलाई दिएको घोराहीको घर भाडामा लगाएर त्यसबाट आउने मासिक २० हजार रुपैयाँ खर्च गरेर बृद्धबृद्धाको उपचार गर्ने काम भइरहेको छ । जसबाट एक जना अहेब राखेर दैनिक उपचार गर्ने गरिएको छ ।

यो बर्षदेखि घोराही उपमहानगरपालिकाले उपचार र कर्मचारीका लागि चार लाख रुपैयाँ उपलब्ध गराउने भएकाले थप सहज हुने अध्यक्ष गिरीले बताउनुभयो । अब धेरै काम गर्न बाँकी भए पनि कम्तीमा खोलामा कल्भर्टको ब्यवस्था गरिए आवागमन सहज हुने उहाँले बताउनुभयो । प्रदेश सरकारले यसलाई नियमित बजेट दिन सके अझ सञ्चालनमा सहज आउने भन्दै उहाँले पहलका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

Facebook Comments