घोराही। भ्याली जुनियर क्रिकेट एकेडेमी, घोराही–१५ भरतपुरद्वारा “भ्याट्रन कप २०८२” आयोजना गरिने भएको छ। “हाम्रा विगतका नायकहरूलाई सम्मान गर्दै” भन्ने नारासहित आयोजना हुन लागेको यो प्रतियोगिताको उद्देश्य नेपाली क्रिकेटमा योगदान पुर्याएका पूर्व खेलाडी तथा खेलकर्मीहरूलाई सम्मान गर्नुका साथै नयाँ पुस्तालाई खेलप्रति प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका संयोजक केशव शर्माका अनुसार “सायद उहाँहरूको योगदानलाई जति सम्मान दिए पनि पुग्दैन होला, तर पनि उहाँहरू सबैलाई समेट्ने हाम्रो एउटा सानो प्रयासलाई स्वीकार गर्दै सल्लाह, सुझाव र साथ दिनुहुनेछ भन्ने आशा राखेका छौं।”
प्रतियोगिता मिति २०८२ साल कार्तिक ४ गते (शनिवार) बिहान ७ बजे, गुलरिया क्रिकेट मैदानमा सुरु हुने भएको छ। यस प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीहरू मात्र सहभागी हुनेछन्। सहभागी टिमहरूमा भ्याली जुनियर, यूएनबीसी, तुलसीपुर, पुरनधारा, लमही, साथै शिक्षक संघ र फार्मेसी संघका टिमहरू रहनेछन्।
भ्याली जुनियर क्रिकेट एकेडेमीले विगतदेखि नै क्रिकेट प्रशिक्षण, प्रतियोगिता सञ्चालन र खेलकुद विकासमा निरन्तर योगदान दिँदै आएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
