नेपाल मगर संघ दाङले दाङको घोराहीमा प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
मगर संघ घोराही उपमहानगरपालिका नगर स्तरीय समितिले आईतबार घोराहीमा पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता गर्ने बारे जानकारी गराएको हो ।
नगर अध्यक्ष देवबहादुर बुढा मगरको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रशासन वा दाङ जिल्ला फुटबल संघमा आवद्ध क्लबले मात्रै सहभागिता जनाउन पाउने बताईएको छ । जिल्लाका क्लब भएपनि खेलाडी देशभरबाट सर्तमा रही खेलाउन सकिने बताईएको छ । माघ २९ गते बेलुकी ५ बजेसम्म क्लव दर्ताको समय निर्धारण गरेको संस्थाले टिम दर्ता शुल्क ७ हजार निर्धारण गरेको छ ।
नकआउट चरणमा खेलाईने प्रतियोगिताको टाईसिट फागुन १ गते प्रकाशित गर्ने र फागुन २ गतेबाट प्रथम सहिद लखन थापाको १४५ औं स्मृति दिवसको सन्दर्भ पारेर खेलको उदघाटन गरिने नेपाल मगर संघ घोराही नगरस्तरीय अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता क्लबले नगद १ लाख, प्रमाण पत्र र मेडल पाउने छ भने उपविजेता क्लवले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउने छ । यस्तै, यस वर्षबाट प्रतियोगिताको अन्तिम चारमा पुगेका दुई क्लबलाई पनि सान्त्वना स्वरुप नगद साढे १२ हजारका दरले प्रदान गरिने भएको छ ।
स्वर्गीय गणेश प्रसाद रोकामगरले स्थापना गर्नुभएको अक्षयकोषबाट विजेतालाई प्रथम पुरस्कार र पूर्वअध्यक्ष जंगबहादुर पुनले स्थापना गर्नुभएको अक्षयकोषबाट उपविजेतालाई पुरस्कृत गरिने गरिएको छ । जिल्लामा २०५७ सालदेखि संचालन हुँदै आएको प्रतियोगिता सशस्त्र द्वन्द्वका समयमा केही वर्ष स्थगित भएको थियो । विकेन्द्रीत गरिएको प्रतियोगिता गत वर्ष तुलसीपुर नगर कमिटीले संचालन गरेको थियो ।
प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । घोराही नगर उपाध्यक्ष मित्रलालब बुढाको संयोजकत्वमा प्रतियोगिता आयोजक उपसमिति गठन गरिएको अध्यक्ष बुढा मगरले बताउनु भयो । जस अनुसार, आर्थिक उपसमिति संयोजकमा दिपेन्द्र पुन, अनुशासन उपसमिति संयोजकमा मुक्त बुढा,स्वास्थ्य उपसमिति संयोजक दिलबहादुर घर्ती,स्वयंसेवक परिचालन उपसमिति संयोजकमा तेजु पुन मगर, प्रचारप्रसार उपसमिति संयोजकमा प्रेम राम्जालाई जिम्मेवारी प्रदान गरिएको छ ।
घोराहीमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको उहाँले बताउनु भयो । खेल क्षेत्रको विकास र सक्षम खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष्यसहित संघले लखन थापाको स्मृतिमा प्रतियोगिता संचालन गर्दै आएको छ । गत वर्ष तुलसीपुरमा भएको प्रतियोगितामा घोराहीको युएनबीसी विजेता बनेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।