दाङ । दाङको लमही नगरपालिका–५ रातोडाँडामा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ४ बजे बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकमा लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए। उपचारका लागि लमही अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।
मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको पछाडिको भागमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै सवारी साधन पश्चिमतर्फ गइरहेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
