• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आज श्रमिक दिवसः नेपालमा श्रमिकको न्यूनतम ज्याला कति ?




‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक नारासहित १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा रोजगारदाता, श्रमिक तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशभर विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । श्रमिक अधिकार, श्रम कानुन कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र रोजगार सिर्जनालगायत विषयमा छलफल तथा बहस केन्द्रित कार्यक्रम आयोजना गरिएका छन् ।

सन् १८८६ मा अमेरिकाबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनको निर्णयअनुसार सन् १८९० देखि हरेक वर्ष मे १ मा यो दिवस मनाउने परम्परा रहँदै आएको छ ।

नेपालमा भने विसं २००७ सालको विराटनगर मजदुर आन्दोलनपछि श्रमिक दिवस मनाउन थालिएको इतिहास छ । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले यस दिन सार्वजनिक बिदा दिन सुरु गरेको हो ।

दिवसका अवसरमा श्रमिकहरूले आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातामाथि दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएका छन् । नेपाल सरकारले पछिल्ला वर्षहरूमा श्रमिक हितका लागि विभिन्न नीतिगत सुधार, श्रम बजार व्यवस्थापन, सामाजिक सुरक्षा र वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने प्रयासलाई तीव्रता दिएको जनाएको छ ।

हाल नेपालमा श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरिएको छ भने प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गर्ने व्यवस्था रहेको छ । साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा करिब २९ लाख श्रमिक आबद्ध भइसकेका छन् ।

श्रम मन्त्रालयका सहसचिव प्रेमप्रसाद आचार्यले श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ को कार्यान्वयनमार्फत श्रमिक अधिकार संरक्षणमा उल्लेखनीय प्रगति भएको बताए । उनले आन्तरिक श्रम बजारलाई व्यवस्थित र मर्यादित बनाउने तथा कानुन उल्लङ्घनमा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

नेपाल विश्व बजारमा ठूलो संख्यामा श्रमिक पठाउने मुलुकमध्ये एक हो । वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

यसैबीच, प्रविधिको तीव्र विकाससँगै श्रम बजारमा नयाँ चुनौतीहरू थपिँदै गएका छन् । श्रम शक्तिलाई रोजगारी सुनिश्चित गर्नु, दक्ष जनशक्ति उत्पादन गर्नु र सुरक्षित तथा मर्यादित कार्य वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।

सरकारले स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर विस्तार गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र शोषणमुक्त बनाउने नीति अवलम्बन गरेको जनाएको छ । साथै विदेशबाट आर्जित सीप, पुँजी र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने रणनीति अघि बढाइएको छ ।

Facebook Comments