रोल्पा— रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा चालकसहित २० जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट जलजला धार्मिकस्थलतर्फ पूजाआजाका लागि जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ सल्यापमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनील थापा नेपालीका अनुसार लु.१ज ४१६७ नम्बरको जिप सडकबाट करिब ८ सय मिटर तल खसेको थियो । जिपमा चालकसहित २१ जना सवार रहेकामा छतमा बसेका एकजनाबाहेक सबैको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय समीर कामी मात्रै जीवित रहेका छन् । उनले जिप दुर्घटना हुन लाग्दा छतबाट हाम फालेर रुखको जरामा समातिँदै ज्यान जोगाएका हुन् । हाल उनको थबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टा, निधार र आँखामा चोट लागेको छ ।
प्रहरीका अनुसार मृतक सबै टाकुराकै बासिन्दा रहेका छन् भने उनीहरूको विस्तृत पहिचान खुल्ने क्रममा छ । दुर्गम भेग, निरन्तर वर्षा र कमजोर सञ्चार सञ्जालका कारण उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार कच्ची तथा चिप्लो सडक, लगातारको वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन विभिन्न जिल्लाबाट तीर्थयात्री जाने गर्दछन् ।
दुर्घटना छानबिनका लागि समिति गठन
गृह मन्त्रालयले उक्त दुर्घटनाको अध्ययन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठन गरिएको समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डिएसपी), सशस्त्र प्रहरी बल रोल्पाका डिएसपी तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहेका छन् ।
‘भाग्यले बाँचे’ समीर
दुर्घटनामा जीवित बचेका समीर कामीले आफू छतमा बसेका कारण हाम फालेर ज्यान जोगाउन सफल भएको बताए ।
उनका अनुसार जिप एक्कासि भिरतर्फ खस्न थालेपछि उनले र उनका एक साथीले हाम फालेका थिए । “म साइडतिर हाम फालेँ र रुखको जरा समाएँ, त्यसैले बाँचेँ,” उनले भने । तर सँगै हाम फालेका उनका साथी भने जिपसँगै भिरमा खसेर ज्यान गुमाएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
