२०७४ साल चैत २० गते, नेपाली सञ्चार क्षेत्रमा एउटा सानो तर दृढ पाइला चालिएको थियो— सिस्ने अनलाइनको रूपमा। आज हामी आफ्नो स्थापनाको आठौं वर्ष सफलतापूर्वक पूरा गरी नवौं वर्षमा प्रवेश गर्दैछौं। लुम्बिनी र कर्णाली प्रदेशको बीचमा उभिएको अटल र गौरवशाली सिस्ने हिमालको नामबाट सुरु भएको यो अभियान आज दुई प्रदेशको मात्र नभई समग्र देशकै आवाजलाई प्रतिनिधित्व गर्ने एउटा विश्वसनीय डिजिटल थलो बनेको छ। यस सुखद अवसरमा हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता, सूचना स्रोत र शुभचिन्तकहरूमा हार्दिक आभार प्रकट गर्दछौं। हिमाल जस्तै अटल र स्वच्छ पत्रकारिताको कसम खाएर सुरु भएको यो यात्रामा तपाईंहरूको निरन्तर साथ नै हाम्रो मुख्य ऊर्जा र पुँजी हो।
लुम्बिनी र कर्णाली प्रदेश भौगोलिक, सांस्कृतिक र ऐतिहासिक रूपमा एकअर्कासँग अभिन्न रूपले जोडिएका छन्। सिस्ने हिमालले यी दुई प्रदेशलाई जसरी प्राकृतिक रूपमा जोडेको छ, सिस्ने अनलाइनले पनि यी दुई प्रदेशका नागरिकका सुख-दुःख, समस्या र सम्भावनालाई एउटै डिजिटल सूत्रमा गाँस्ने सेतुको काम गर्दै आएको छ। काठमाडौँ केन्द्रित पत्रकारिताको भीडमा मोफसलका ओझेलमा परेका आवाजलाई बुलन्द बनाउनु हाम्रो प्राथमिक दायित्व थियो र रहनेछ। हामीले यी दुई प्रदेशको ‘साझा आवाज’ बन्ने जुन लक्ष्य र उद्देश्य राखेका थियौं, आज सात वर्षको यात्रा पूरा गर्दा त्यसमा गौरवपूर्ण सफलता र जनविश्वास प्राप्त भएको महसुस गरेका छौं।
नेपाली पत्रकारिता आज इतिहासकै कठिन र चुनौतीपूर्ण मोडमा उभिएको छ। सञ्चारमाध्यमहरूको आर्थिक दिगोपन, डिजिटल प्लेटफर्महरूको तीव्र दबाब र सूचनाको सत्यतामाथि उठिरहेका गम्भीर प्रश्नहरू हाम्रा सामुन्ने पहाड जस्तै छन्। तर, सिस्ने अनलाइनले यी चुनौतीहरूलाई कहिल्यै पनि कार्यसम्पादनमा अवरोध मानेन, बरु हामीले यसलाई रूपान्तरणको एउटा ठूलो अवसरका रूपमा ग्रहण गरेका छौं। प्रविधिको विकासले हामीलाई पाठकको हात-हातमा पुग्ने मौका दिएको छ र अहिले हामी अर्को महत्त्वपूर्ण संक्रमणको चरणमा छौं- त्यो हो भिडियो सामग्रीतर्फको यात्रा। पाठकहरू अब अक्षर मात्र पढ्न चाहँदैनन्, उनीहरू घटनालाई जीवन्त रूपमा देख्न र सुन्न पनि चाहन्छन्। त्यसैले, आठौं वर्षमा प्रवेश गर्दै गर्दा सिस्ने अनलाइनले ‘मल्टिमिडिया’ सामग्रीमार्फत थप सशक्त र प्रभावकारी ढंगले जनचासोका विषय उठाउने र गुणस्तरीय पत्रकारिताको अभ्यास गर्ने दृढ संकल्प गरेको छ।
हाम्रो एउटा स्पष्ट र अविचलित नीति छ- जबसम्म स्थानीय तह बलियो हुँदैन, तबसम्म राष्ट्र बलियो हुन सक्दैन। टोल विकासदेखि वडा हुँदै पालिकासम्मको जगबाट हुने विकास नै देश निर्माणको वास्तविक प्रस्थानविन्दु हो भन्ने हाम्रो अटल विश्वास हो। त्यसैले सिस्ने अनलाइनले सधैं स्थानीय सरकारका राम्रा कामको प्रवद्र्धन र कमजोरीमाथि रचनात्मक खबरदारी गर्ने नीति लिँदै आएको छ। पालिकाहरूले गर्ने साना तर सकारात्मक सुधारले पनि नागरिकको दैनिक जीवनमा ठूलो प्रभाव पार्छ। शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा स्थानीय तहले चाल्ने प्रभावकारी कदम नै समृद्ध नेपालको मेरुदण्ड हुन्। हामीले स्थानीय तहलाई केवल रिपोर्टिङको विषय मात्र बनाएनौं, उनीहरूको विकासको सारथि र जनताको सशक्तिकरणको माध्यमका रूपमा आफूलाई प्रस्तुत गरेका छौं।
पत्रकारिता केवल सूचना प्रवाह गर्ने संयन्त्र मात्र होइन, यो त नागरिकलाई सचेत र सशक्त बनाउने एउटा महान् सामाजिक अभियान पनि हो। सिस्ने अनलाइनले सधैं “जनता सशक्त भए मात्र देश निर्माण सम्भव छ” भन्ने मूल मन्त्रलाई शिरोपर गरेको छ। शक्ति सञ्चालन र सन्तुलनमा नागरिकको भूमिकालाई बलियो बनाउन हामीले खोजमूलक र विश्लेषणात्मक सामग्रीलाई सधैं प्राथमिकतामा राखेका छौं। लोकतन्त्रको वास्तविक सुन्दरता नै नागरिकले सत्तासँग प्रश्न सोध्न पाउने हकमा निहित हुन्छ। हामीले विगत सात वर्षमा शक्तिलाई नागरिकको हितमा जवाफदेही बनाउन कुनै सम्झौता गरेनौं र आगामी दिनमा यो अझ प्रखर एवं परिष्कृत भएर जानेछ।
आठौं वर्षको यो नयाँ मोडमा आइपुग्दा हामी समयको पदचाप र प्रविधिको रफ्तारलाई पछ्याउन पूर्ण रूपमा तयार छौं। अबको सिस्ने अनलाइन केवल समाचार र विचारमा मात्र सीमित रहने छैन; हामी खोजमूलक भिडियो डकुमेन्ट्री, ग्राउन्ड रिपोर्टिङ र प्रत्यक्ष संवादमार्फत लुम्बिनी र कर्णालीका दुर्गम बस्तीदेखि सुगम सहरसम्मका लुकेका कथाहरू समेट्नेछौं। हामीलाई राम्रोसँग थाहा छ, डिजिटल युगमा सूचनाको बाढी छ, तर सत्यता र विश्वसनीयताको खडेरी छ। यस्तो बेला सिस्ने अनलाइनले आफ्नो ‘विश्वसनीयता’लाई नै सबैभन्दा ठूलो सम्पत्ति मान्नेछ। हल्लाको पछि नदौडी तथ्यको गहिराइमा पुग्ने हाम्रो पेसागत धर्म जारी रहनेछ। लुम्बिनी र कर्णालीको माटोको सुगन्ध बोकेर, स्थानीय सरकारको सहयोगी बनेर र जनताको निर्भीक आवाज बनेर सिस्ने अनलाइन अघि बढिरहनेछ। यो गौरवपूर्ण यात्रामा हामीसँगै हिँड्नुहुने सम्पूर्णमा पुनः हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

