कमल खड्का
रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका वडा नं. ७ निवासी ४९ वर्षीया निर्मला बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी हवल्दार द्रोण केसीले जानकारी दिनुभएको हो । उहाँले बुढाथोकीको घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले च्यापेर घटना स्थलमै मृत्यु भएको बताउनुभयो ।
आज शनिबार मध्याह्न १२ बजेको समयमा घर लिप्ने माटो खन्ने क्रममा रुन्टीगढी – ७ मटिखन्ने डाडाँमा घटना भएको थियो । मृतकको शव पाेष्टमाटमकाे लागि जिल्ला अस्पताल रेउघा पठाइएको प्रहरीले जनाएको छ ।
माटो खन्ने क्रममा अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा सोही निवासी २८ वर्षीया एलिना पुन, ४९ वर्षीया पार्वती पुन र ३८ वर्षीया शान्ति पुन रहेका छन् ।
घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य चौकी होलेरीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको इप्रका होलेरीले जनाएको छ ।
माटो खन्न गएको सात जनाको टोली रहेको र त्यसमध्ये एक जनाको घटना स्थलमै मृत्युुसँगै अन्य तीनजना घाइते भएको र बाँकी तीनजना सकुशल रहेका समेत प्रहरीले जानकारी दिएको छ ।
मृतक बुढाथोकीका तीन छोरा छन् । जेठो छोरा बैदेशिक रोजगारीमा छन् भने माइलो र कान्छो छोरा घरमै छन् । उनका श्रीमन रेशम बुढाथोकी भने सरस्वती माबि सतिममा शिक्षण पेशामा आवद्ध रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

