• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देवीकोट दर्शन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा: तीन सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दै




तुलबहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकाले गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ २ सय ३३ र महिलातर्फ ७७ गरी कुल ३ सय १० खेलाडीले सहभागिताका लागि निवेदन दिएको गाउँपालिकाले जनाएको छ।

प्रतियोगितामा छिमेकी जिल्लासहित पूर्वको खोटाङदेखि पश्चिमका कैलाली, बाजुरा र जुम्लासम्मका खेलाडीहरूले समेत सहभागिता जनाउने भएका छन्।

प्रतियोगिता भोलि फागुन २९ गते बिहान ७ बजे सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

राप्ती गाउँपालिकाले ऐतिहासिक तथा पौराणिक महत्व बोकेको राप्ती गाउँपालिका–९ स्थित भद्राक्षीदेवी मन्दिर (देवीकोट) क्षेत्रको राष्ट्रव्यापी प्रचारप्रसार तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।

धार्मिक मान्यताअनुसार उक्त स्थानलाई सतिदेवीको देब्रे घुँडा पतन भएको पवित्र स्थलका रूपमा समेत मानिने गरिएको छ। प्रतियोगिताको दौड मार्ग राप्ती गाउँपालिका–४ स्थित श्रीनारायण चोकदेखि सुरु भई देवीकोटस्थित भद्राक्षीदेवी मन्दिरसम्म करिब ८ किलोमिटरको रहनेछ।
प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यता रहनेछ। साथै प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, खेलाडी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहने बताइएको छ।

प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिकाले आवश्यक पत्राचार, मञ्च निर्माण, अतिथि सत्कार, स्वास्थ्य स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ।

गाउँपालिकाले प्रतियोगितामार्फत देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर हुने विश्वास व्यक्त गर्दै खेलाडी, युवावर्ग तथा सरोकारवाला सबैमा उत्साहपूर्ण सहभागिताका लागि आह्वान गरेको छ।

Facebook Comments