• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा माघ २५ गतेदेखि फागुन चार गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुने




घोराही। दाङमा नियमित एचपिभी खोप सञ्चालन हुने भएको छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको नियमित एचपिभी खोप अभियान यही माघ २५ गतेदेखि फागुन चार गतेसम्म सञ्चालन हुनेभएको हो ।

स्वास्थ्य कार्यालय दाङले आज बिहीबार घोराहीमा जिल्ला खोप समन्वय समितिका पदाधिकारी, सञ्चारर्की तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममार्फत एचपिभी खोप सञ्चालनको बारेमा जानकारी गराएको थियो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले खोपको बारेमा जानकारी दिँदै महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप गतवर्षदेखि सञ्चालनमा आएको बताउनुभयो । उहाँले एचपिभी खोप सरकारले राष्ट्रिय कार्यक्रममै राखेर अगाडि बढाएको हुँदा यो वर्षदेखि नियमित खोपमा विद्यालय केन्द्रित खोप अभियानको रुपमा सञ्चालन हुन लागेको समेत बताउनुभयो । यही माघ २५ गतेदेखि फागुन चार गतेसम्म दुई चरणमा सञ्चालन हुने एचपिभी खोप अभियानमा विद्यालय केन्द्रित कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरु तथा गतवर्ष सञ्चालित एचपिभी खोपको लागि निर्धारित लक्षित समूहका छात्रा किशोरीहरुमध्ये यो खोप लगाउन छुटेका हाल ७ देखि १० कक्षामा अध्ययनरत छात्राहरु र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर पुगेका किशोरीहरुमा खोप लगाइने उहाँले बताउनुभएको थियो । खोप विद्यालय, बाह्य खोप केन्द्र र संस्थागत खोप केन्द्रबाट लक्षित छात्रा तथा किशोरीहरुलाई एचपिभी खोप दिइने भएको छ । दुई चरणमा सञ्चालन हुने खोप अभियानमा जिल्लाका दशवटै पालिकाका दुई सय ४९ वटा विद्यालाय, पाँच बाह्य र ४५ स्वास्थ्य संस्था गरी दुई सय ९९ खोप केन्द्रमार्फत सात हजार आठ सय ३७ जनाको लक्षित संख्यामा खोप लगाइने लक्ष्य राखिएको उहाँको भनाइ छ । दशवटै पालिकाका सात हजार छसय २७ जना विद्यालयका छात्रा र दुई सय १० जना विद्यालय नजाने किशोरीहरुमा खोप लगाइने भएको छ ।

दुई चरणमा सञ्चालन हुने नियमित खोप अभियानको पहिलो चरणमा माघ २५ गतेदेखि २७ गतेसम्म स्थानीय तहसँग समन्वय गरी घोराही, लमही, राप्ती, गढवा र राजपुरमा तोकिएका विद्यालय खोप केन्द्रमा खोप लगाउने र खोप लगाउन छुटेका किशोरीहरुलाई स्वास्थ्य संस्थामा फागुन चार गतेसम्म खोप लगाउन सकिने कार्यालय प्रमुख गुरुङले बताउनुभयो । त्यस्तै दोस्रो चरणमा माघ २८, २९ र फागुन १ गतेसम्म स्थानीय तहसँग आवश्यक समन्वय गरी तुलसीपुर, बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुलीमा तोकिए विद्यालयको खोप केन्द्रमा खोप लगाउने र खोप लगाउन छुटेका किशोरीहरुलाई स्वास्थ्य संस्थामा फागुन चार गतेसम्म खोप लगाउन सकिने समेत उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्याल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा। विकास गौचन, वुद्ध इन्टरनेशल हस्पिटलका डा। रमेश बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतले मन्तव्य व्यक्त गर्दै जिल्लामा सञ्चालन हुन लागेको खोप अभियान राम्रो पक्ष भएको कुरामा जोड दिँदै खोप अभियानलाई सफल बनाउनुपर्ने बताउनुभएको थियो । एचपिभी खोपले महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट बचाउने भएको हुँदा वस्तीस्तरसम्मै खोप अभियान पुर्‍याउनुपर्ने समेत उहाँहरुको सुझाब रहेको थियो ।

कार्यालयका भानुज्योति वलीले आर्थिक वर्ष २०८१/०८२ मा भएको एचपिभी खोप अभियानको प्रगति विवरणको बारेमा प्रकाश पर्दै गतवर्षको खोप अभियान प्रभावकारी ढंगले सम्पन्न भएको जानकारी दिनुभएको थियो ।

 

Facebook Comments