• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्यान्सर न्यूनीकरणका लागि खानपिनमा विशेष ध्यान दिनुपर्नेमा जोड




घोराही । क्यान्सर न्यूनीकरणका लागि खानपिन विशेष ध्यान दिनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।  स्वास्थ्य कार्यालय दाङले  विश्व क्यान्सर दिवसको अवसरमा आज बुधबार घोराहीमा आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय अस्वस्थ खानाका कारण मानिसहरूमा क्यान्सर रोग बढ्दै गएको हुँदा खानपिनमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका डा. विकास गौचनले क्यान्सर  रोगको रोकथाम तथा न्यूनीकरणका लागि संघदेखि स्थानीय तहहरुले धेरै पहल गरेको बताउनुभएको छ । उहाँले क्यान्सर रोग कडा र उपचारको हिसाबले धेरै महंगो हुने भएकाले क्यान्सर रोग नै नलाग्न दिनका लागि  खानपानमा बढी जोड दिनुपर्ने बताउनुभयो । नेपालमा पश्चिमा हावाले छोएसँगै फास्टफुड बढी प्रयोग गर्ने भएको हुँदा त्यसले नसर्ने रोगदेखि लिएर क्यान्सरसम्मको रोगहरु बढी देखिने गरेको   उहाँले बताउनुभयो ।

`सुरुदेखि नै क्यान्सर रोग नलाग्न दिनका लागि हामीले एकदमै पहल गर्न जरुरी छ´ डाक्टर गौचले भन्नुभयो – `त्यसका लागि  हाम्रो जीवनशैली र खानपान महत्त्वपूर्ण हुन्छ । र,  रोग लागेको सुरुको  अवस्था पत्ता लगाउन र शंका लागेमा छिटो अस्पताल गएर जाँग गरेर रोगको पहिचान गर्नुपर्छ ।´ क्यान्सर रोग लागेमा कतिसम्म फैलिएको छ, भन्ने कुरा थाहा पाउनका लागि अहिले पनि काठमाडौं नै जानुपर्ने अवस्था रहेको  उहाँको भनाइ छ । प्रदूषण, सुर्तीजन्य पदार्थ, धूम्रपान र वायो ग्यासले गर्दा क्यान्सरका बिरामी बढीरहेको हुंँदा यसको न्यूनीकरणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अहिले सबैभन्दा बढी फोक्सो,  महिलाको पाठेघर र स्तनमा क्यान्सर देखिएको समेत उहाँले बताउनुभएको थियो ।

स्वास्थ्य कार्यालय दाङका नर्स रिता न्यौपानेले महिलामा हुने पाठेघर मुखको क्यान्सरको  उपचार सम्भव रहेको बताउनुभयो । उहाँले  भिआइए विधिबाट ३० वर्षदेखि माथि ६० वर्षसका महिलाको पाठेघरको मुखको जाँच गरी क्यान्सर भए/नभएको पहिचान गर्ने गरेको समेत बताउनुभयो । एक पटक पाठेघर मुखमा हुने क्यान्सरको जाँच गरेमा प्रत्येक वर्ष गर्नु नपर्ने र पाँच-पाँच वर्षको अन्तरमा जाँच गरे हुने उहाँको भनाइ छ ।

कार्यालयका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले नेपालमा क्यान्सर नियन्त्रण, विद्यामान अवस्था, चुनौती र भावी कार्यदीशा बारेमा जानकारी दिँदै जनसंख्यामा आधारित रजिष्टरीका अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धीत  ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले हुने गरेको बताउनुभयो । उहाँले नेपालमा प्रत्येक वर्ष २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको देखिएको र  सन् २०२० मा क्यान्सरकै कारणले १६ हजार छ्सय २९ जनाको मृत्युु भएको समेत बताउनुभयो । उपचारमा पहुँच बढेसँगै बिरामीको संख्या पनि बढिरहेको अवस्था रहेको पनि उहाँको भनाइ थियो ।

Facebook Comments