घोराही । घोराहीस्थित भिएन स्कूल एण्ड कलेजले वसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आज शुक्रबार विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
वसन्त पञ्चमीको अवसरमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा सरस्वती माताको विधिवत रुपमा पूजा आरधना गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले आफ्नो थप ज्ञान तथा विद्या प्राप्तिका सरस्वती मातालाई पूजा गर्दै कामना गरेका थिए ।
सो अवसरमा विद्यालयमा अक्षरारम्भ कार्यक्रम पनि उत्साह तथा भव्य रुपमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको हो । सरस्वती माताको पूजा आरधनापछि साना बालबालिकाहरुलाई कपीमा अक्षर लेख्न सिकाइएको थियो ।
शिक्षा, ज्ञान र संस्कारको प्रतिक मानिने सरस्वती पूजाको अवसरमा ३७ जना बालकालिकाहरुलाई प्लेग्रुपमा निःशुल्क भर्ना गरिएको विद्यालयका सिइओ चन्द्रप्रकाश खनालले जानकारी दिनुभयो । उहाँले वसन्त पञ्चमीको दिनमा बालबालिकाहरुको अक्षरारम्भ गर्ने र पढाइ सुरु गर्ने पहिलो पाइलाको रुपमा रहेको शिक्षाको महत्व बढ्दै गएको बताउनुभयो । विद्यालय स्थापना भएदेखि नै विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षामा जोड दिएको हुँदा विद्यालयप्रति विद्यार्थी र अभिभावको विश्वास बलियो हुँदै गएको उहाँको भनाइ थियो ।
नयाँ नेतृत्व र नयाँ व्यवस्थापनकासाथ सञ्चालनमा आएको कलेजले छोटो समयमै शैक्षिक गतिविधिमा अब्बल हुँदै गएको र विद्यालयले विद्यार्थीलाई गुणस्तरीय र ब्यबहारिक शिक्षा प्रदान गर्नका लागि अल्पकालीन र दीर्घकालीन योजना लिएर अगाडि बढेको समेत उहाँले बताउनुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
