• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा (माओवादी) क्षेत्र नं. २ को निर्वाचन परिचालनको संयोजकमा पाटन




घोराही । नेपाल  कम्युनिस्ट पार्टी (माओवादी) दाङले  निर्वाचन क्षेत्र नं. २ को मूल निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समिति गठन गरेको हो ।

बिहीबार घोराहीमा सम्पन्न भएको पार्टीको बैठकले पार्टीका केन्द्रीय सदस्य पाटन सीलाई निर्वाचन क्षेत्र नं. २ को मूल निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी दिएको हो । त्यस्तै पार्टीका समानुपातिक उम्मेदवार समेत रहनुभएकी अशोका भण्डारीलाई समितिको सह-संयोजकको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ । त्यसैगरी क्षेत्र नं. १ मा निर्वाचन परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य यमलाल कटुवाल र क्षेत्र नं. ३ मा निर्वाचन परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य प्रदीप वलीलाई जिम्मेवारी दिइएको र  निर्वाचनलाई लक्षित गर्दै  विभिन्न उपसमिति गठन गरेको  समेत पार्टीले जनाएको हो ।

पार्टीका जिल्ला  सेक्रेटरी तिलक सीको अध्यक्षता एवं पार्टीका पिबिएम तथा दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बलबहादुर वलीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि वलीले पार्टीका महासचिव विप्लव निर्वाचनमा नजाने  कुरा साँचो भएको बताउनुभयो । उहाँले पार्टीको रणनीतिक निर्णयअनुसार स्वयं पार्टीको नेतृत्व निर्वाचनमा नगएको तर पार्टीका प्रवक्ताको नेतृत्वमा पार्टी देशभर निर्वाचनमा गएको बताउनुभयो । पार्टीको निर्णयअनुसार देशभरका नेताकार्यकर्ताहरु फागुन २१ गतेसम्म निर्वाचन अभियानमा नै केन्द्रीय हुनुपर्ने उहाँले बताउनुभएको थियो । पछिल्लो समय पुराना दलहरूप्रति जनताको विश्वास गुमेको हुँदा अबको निर्वाचन हाम्रो पार्टीले जित्ने सम्भावना बलियो  हुँदै गएकोले पार्टीका नेताकार्यकर्ताहरु आत्मविश्वासका साथ जनताको माझमा जानुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीले पार्टीको निर्णयको बारेमा जानकारी दिँदै चुनावी मोर्चाको लडाइ सुरु भइसकेको बताउनुभयो । उहाँले निर्वाचन पार्टीको घोषित नीति भएको हुँदा पार्टी विरुद्ध भएका नकारात्मक प्रचार खारेज भएको बताउनुभएको थियो । पार्टीका प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचन गएको हुँदा पार्टीलाई राष्ट्रिय दल बनाउनका लागि मेहनतकासाथ चुनावी माहोललाई फर्काउन सकिने बताउनुभयो । दाङको तीन वटा निर्वाचन क्षेत्रमध्ये पार्टीको तर्फबाट १ नम्बर क्षेत्रमा प्रकाश शाही र ३ नम्बर क्षेत्रमा बलबहादुर वलीको उम्मेदवारी दर्ता भएको बताउनुभयो । नेकपा (माओवादी) र नेकपा एमालेबीच चुनावी तालमेल भएको हुँदा दाङ निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता नभएको उहाँको भनाइ थियो ।

उहाँले दाङ क्षेत्र नं. २ मा एमालेका उम्मेदवार शंकर पोख्रेललाई माओवादीले र कालिकोटमा माओवादीका उम्मेदवार प्रकाण्डलाई एमालेले सहयोग गर्ने गरी माओवादी – एमालेबीच निर्वाचन तालमेल भएको बताउनुभयो ।  निर्वाचनका लागि पार्टीको तर्फबाट  दाङमा युवा र पाको उमेरका उम्मेदवारले उम्मेदवारी दिएको हुँदा पार्टीको नीति र निर्णय प्रचारप्रसार तीब्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको जोड थियो ।

पार्टीका केन्द्रीय सदस्य पाटन सीले पार्टीको चुनाव जाने निर्णय भएअनुसार नै पार्टी पहिलो पटन निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले पार्टीका लागि निर्वाचन सम्भावनासँगै चुनौती दुबै रहेको हुँदा चुनावमा मेहनतकासाथ अगाडि बढ्नुपर्ने  बताउनु भएकोभयो । पार्टीका सदस्यहरुले निर्वाचनमा सक्रिय सहभागिता जनाउनुपर्ने र निर्वाचनमा एक मतले  पार्टीका लागि महत्त्वपूर्ण हुने भएकोले मतको दाँयाबाया गर्न नहुने उहाँले बताउनुभयो ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवारलाई जिताउनका लागि गाउँ-गाउँ र बस्ती-बस्तीमा गएर भेटघाटलाई तीब्र  बनाउनुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका सेक्रेटरी तिलक सीले बैठकका एजेन्डाहरु प्रस्तुत गर्दै चुनावी मोर्चा जटिल विषय भएको र यो जटिलका बीचबाटै पार्टी संगठनलाई मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले यो निर्वाचनबाट पार्टीलाई राष्ट्रिय दल बनाउनुपर्ने भएको हुँदा  निर्वाचन अवधिभर पार्टी नेताकार्यकर्ताहरुले पार्टीको नीति, निर्णयअनुसार आ-आफ्नो  जिम्मेवारी दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Facebook Comments