घोराही । घोराहीमा सरकारी निकायसंग अनुमती नलिएर व्यापारिक मेलाको तयारी गरिएको छ । नेपाल मगर संघ घोराहीले यस्तो मेलाको तयारी गरेको हो । जुन तयारीका क्रममा विवादित देखिएको छ ।
नेपाल सरकारले उत्पादनको प्रवद्र्धनका लागि चारवटा निकायलाई मात्रै व्यावसायिक रुपमा मेला महोत्सव लगाउन दिने निर्णय गरेको छ । जसमा उद्योग बाणिज्य संघ, चेम्वर अफ् कमर्श, घरेलु तथा साना उद्योग महासंघ र उद्योग परिसंघ रहेका छन् । दाङ जिल्लामा उद्योग परिसंघ बाहेक तीनवटा व्यावसायिक संस्था मात्रै कृयाशिल रहेका छन् । यि संस्थाले पालै पालो हरेक बर्ष व्यावसायिक मेला महोत्सव लगाउँदै आएको भएपनि यस बर्ष नेपाल मगर संघले सोही प्रकृतिको मेला महोत्सव लगाउने तयारी थालेको छ ।
केही दिन अघि घोराही १४ को झिंगौरामा मेला लगाउने तयारी गरेको मगर संघले त्यहाँ जमिन नपाएपछि पहिले संझौताका लागि दिएको रकम फिर्ता लगेको थियो । यसपछि घोराही १४ मै ट्राफिक चोक भन्दा तल गोर्खा टोलमा मेला लगाउने तयारी गरेको छ । मगर संघले एउटा ठेकेदारसंग मेला संचालनका लागि सँझौता गरेपछि ठेकेदारले स्टल बनाउने लगायतका तयारी थालेको देखिन्छ । यसरी मेला संचालनका लागि संघले कुनै पनि सरकारी निकायबाट अनुमति लिएको छैन ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मगर संघलाई सांस्कृतिक प्रदर्शनीका लागि अनुमती दिएको भएपनि व्यावसायिक रुपमा मेला महोत्सव लगाउने अनुमती नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मगर संघलाई आफ्नो कला संस्कृति जोगाउन र सांस्कृतिक कला प्रदर्शनी गर्नका लागि अनुमती दिएको भएपनि व्यापारिक मेला लगाउने अनुमती दिएको छैन ।’ उहाँले सांस्कृतिक पहिचान जोगाउने खालका मेला लगाउनका लागि भने अनुमती दिने बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले माघी पर्व मगर समुदायले पनि भव्य रुपमा मनाउने भएकाले सोहि सन्दर्भमा आफ्नो कला संस्कृति जोगाउने विषयमा सहमती दिएको भएपनि अन्य विषयमा कुनै पनि अुनमती नदिने बताएको छ ।
यसैबीच दाङ जिल्ला उद्योग बाणिज्य संघ, चेम्वर अफ् कमर्श र घरेलु तथा साना उद्योग महासंघले मेयर नरुलाल चौधरीलाई भेट गरेर ध्यानाकर्षण पत्र बुझाएका छन् । मेयर चौधरीले आफूले १५ दिनका लागि मेला लगाउने विषयमा सहमती नदिने बताउनुभएको चेम्वर अफ् कमर्श दाङका अध्यक्ष विकाश अग्रवालले बताउनुभयो । अग्रवालले मेयर नरुलाल चौधरीका साथै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीको पनि ध्यानाकषर्ण गराएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गृह मन्त्रालयको निर्णय विपरित कसैलाई पनि मेला महोत्सव लगाउन अनुमती नदिने बताउनुभयो । उहाँले स्थानीय सरकारले गर्ने सिफारिसका आधारमा आफूहरुले सहजिकरण गर्ने भएपनि स्थानीय सरकारले व्यावसाकिय संस्था बाहेक अरुलाई मेला लगाउने बारेमा सिफारिस नगरेको पनि स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले हेर्ने शान्ति सुरक्षाको पाटो हो, तरपनि विभिन्न नाममा संघ संस्थालाई मेला लगाउन दिने हो भने यसले राम्रो गर्दैन ।’
घोराही १४ गोर्खा टोलमा मेला लगाउनका लागि मगर संघले संझौता गरेको ठेकेदारले स्टल निर्माणको काम अघि बढाएको छ । हालसम्म एक सय बढी स्टल निर्माण गरेको ठेकेदारले लगानी भइसकेको भन्दै आयोजक नेपाल मगर संघलाई दवाव दिन थालेको बुझिएको छ । शुरुमा नेपाल मगर संघ घोराहीले लगाउने भनेको मेला अहिले जिल्ला संघबाट लगाउने गरी तयारी भइरहेको बताइन्छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
