• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरखा स्कुलको सातौँ वार्षिकत्सव, शिक्षा नै समाजको समृद्धिको मेरुदण्ड हो: मन्त्री तिमिल्सिना




शिवु खनाल
देउखुरी। लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित व्यक्ति र जनशक्तिको पूर्ण परिचालनबाट मात्र कुनै पनि राष्ट्र र समाजको सम्पूर्ण उन्नति प्रगति सम्भव रहेको बताउनुभयो । उहाँले आजको युग ज्ञान र प्रविधिको युग मानिन्छ प्राविधिक ज्ञान हासिल गर्नु आजको समयमा अपरिहार्य नै भइसकेको बताउनुभयो ।

शनिवार गोरखा मोर्डन सेकेण्डारी स्कुलको सातौँ वार्षिकत्सव उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले तिनै तहका सरकारको आफ्नो कुल बजेटको सबैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने देखिएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले विकास वजेटको अनुपातमा नै शिक्षामा खर्च गर्दै आइरहेको छ, उहाँले भन्नुभयो,–। ‘तर यसबाट सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकिरहेको भने छैन । शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाई विश्वबजारमा प्रतिश्पर्धा गर्ने उद्देश्यबाट प्रोरित भइ त्यस्ता रकमहरु शिक्षा मन्त्रालय र शिक्षासंग सम्वन्धित विभिन्न स्थानीय तहका कार्यालयहरुको मातहत तथा सहकार्यमा शैक्षिक गुणस्तर वृद्धि सम्बन्धि कार्यक्रमहरु सञ्चालनमा आएका छन् ।’ ‘त्यस्ता कार्यक्रमहरु कतिपय शिक्षकहरु सग सम्बन्धित छन भने कयौं विद्यार्थीहरुसग प्रत्यक्ष रुपमा जोडिएर गुणस्तरीय शिक्षा प्राप्त गर्न अभिप्रेरीत गरिरहेको छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री तिमिल्सिनाले शिक्षा किताबसंग मात्र सिमित रहनु हुदैन, यसले त ब्यक्ति, समाज र राष्ट्रको अपेक्षा पुरा गर्नुपर्ने बताउनुभयो ।  राम्रो ज्ञान हासिल गर्नु छ भने डटेर अध्ययनको साधनामा लाग्नु पर्दछ । सानो–तिनो ज्ञान प्राप्तिले समाजलाई बदल्न असम्भव नै हुन्छ, उहाँले भन्नुभयो,–। ‘राम्रो शिक्षा वा ज्ञान प्राप्त गर्न पढ्दै, लेख्दै गरी विषयलाई बुझ्ने प्रयत्न गर्दा त्यो शिक्षा दीर्घकालीन रहन्छ । भविष्यमा समाजको परिवर्तन र विकासमा उल्लेखनीय योगदान पु¥याउनु छ भने असल शिक्षा लिन अभिरूचि, लगाव र झुकाव हुनुपर्दछ ।’ कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले असल शिक्षा एउटा प्रतिस्पर्धाको परीक्षा रहेको बताउनुभयो । यो जहीँ कहीँ नमिल्न सक्छ, उहाँले भन्नुभयो,–। ‘त्यसैले आफ्नो क्षमतालाई बुझेर दक्ष ज्ञान हासिल गर्न लागि पर्नु पर्दछ । जुन आफ्नो जीवन र समाजको विकासका लागि प्रयोगमा  आउन सकोस् ।’ ‘राम्रो शिक्षाको प्रकृति सधैँ रचनात्मक हुन्छ । यसले भविष्य निर्माणमा अग्रसर गराउँछ । यस्तो शिक्षाको फल समाजले पनि प्राप्त गर्न सक्छ । सामाजिक मुद्दाका बारेमा राम्रो आदत राख्न जागरूक र बढवा दिन्छ ।’ नगर प्रमुख चौधरीले उचित शिक्षा बिना एक व्यक्ति आफ्नो जीवनका सबै शैक्षिक लाभबाट वञ्चित रहनु समाज विकासका लागि घाटा हुने बताउनुभयो ।

कार्यक्रममा लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओम प्रसाद सुबेदीले शिक्षाले समाजमा शान्ति बढाउन, गरिबीलाई हटाउन, जातीय विभेदलाई कम गर्न, सुशासन ल्याउन, विकृति र विसंगतिलाई हटाउन र आफ्ना अधिकारका बारेमा जागरूक गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘शिक्षा अपेक्षित परिणाम प्राप्त गर्नु र जागिर खानलाई मात्रै नभई सबै मानव जातिलाई सक्षम बनाउन, कुनै चीजमा सक्षमता हासिल गर्न र मानवको कल्याणका लागि पनि हो । शिक्षा व्यक्ति र समाजको बृहत्तर हित, सुख र खुसी जीवनका लागि अनिवार्य जस्तै छ ।’ ‘गुणस्तरीय शिक्षाको लागि भनेर विद्यालयहरुले आफ्नो क्षेत्र सुधार योजना र निरन्तर मुल्याकन पद्दति प्रयोग भने गरिरहेकै छन तर, पनि यसबाट खासै परिवर्तन भएको पाइदैन ।’ यस्ता कार्यक्रम कक्षा भित्र नपसी कागजी रुपमा मात्र सिमित भएको छ । जसले गर्दा विद्यालय अक्षर चिनाउने स्थल मात्र भएको छ । विद्यालयले गुणस्तरीय शिक्षाको माध्यमबाट देशभक्त, कर्मठ, निष्ठावान, स्वाभीमानी र सिर्जनात्मक दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन । यो विषयको मुद्दा उठान हुँदा शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र अभिभावकहरु बीच एकले अर्केलाइ दोष दिने प्रबृति हाबी छ । जसले गर्दा सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय र यसको गुणस्तरीयता धरासायी हुँदै गइरहेको छ ।

नेपाल सरकारबाट नयाँ शिक्षा ऐन बन्ने र समय सापेक्ष संशोधन गर्ने कामले पनि विद्यालय शिक्षामा खासै परिवर्तन आएको देखिदैन यि लगायत अनेकौं चुनौतिहरुको कारणले गर्दा विद्यालय शिक्षा गुणस्तरीय हुन सकिरहेको छैन जसको प्रत्यक्ष असर ब्यक्ति, समाज र राष्ट्रको विकास र भविष्यमा पर्नेछ । शैक्षिक पाठ्य बस्तुहरु समय सापेक्ष परिवर्तन भैरहेको छैन भने त्यस्ता पाठ्य वस्तुहरुलाई व्यबहारिक रुपमा सिक्न र सिकाउनको लागि प्रयाप्त मात्रामा शैक्षिक सामाग्रीहरुको अभाव कतिपय अवस्थामा त पाठ्यपुस्तक उचीत समयमा उपलब्ध गराएको पनि पाइदैन जसको फलस्वरुप पनि शिक्षाको गुणस्तरमा ह्रास आएको हो । असल शिक्षा वा ज्ञान व्यक्ति र समाजको विकासका लागि आवश्यक छ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभूमि तयार गर्नु हो, गोरखा मोर्डन सेकेण्डरी स्कुल लमहीका प्रधानध्यापक लोकमान रिजालले भन्नुभयो,–। ‘समग्रमा भन्नुपर्दा हाम्रो शिक्षा व्यक्तिको व्यक्तित्व विकासका साथै समाजको उन्नति, प्रगति, परिवर्तन र विकाससँग जोडिएको हुनुपर्दछ । शिक्षाबाट व्यक्तिको व्यक्तित्व, समाज र राष्ट्रको आवश्यकतालाई पूर्ण गर्न सक्ने ज्ञान प्रदान गराउनु पर्छ ।’ ‘व्यक्तित्व विकास र मानसिक विकास प्रदान गर्दै राम्रो र कुशल जीवनका लागि असल शिक्षा आवश्यक पर्दछ । व्यक्तिलाई शारीरिक, मानसिक र सामाजिक रुपमा राम्रो बनाउनुका साथै कुसल जीवन जिउनुपर्छ भन्ने कुरामा पनि बढवा दिन्छ।’

असल शिक्षा त्यो अविश्वसनीय शक्ति हो, जसले खराब शक्तिबाट टाढा गर्न, आत्मनिर्भर बनाउन र समाजमा कैयन नयाँ अवसरहरु सिर्जना गर्न सम्भावनाका अवसरहरु प्रदान गर्दछ। शिक्षामा यस्तो परिवर्तन हुन नसक्नु व्यक्ति र समाजलाई अभिशाप हुन पुग्दछ । शिक्षा नै समाजको समृद्धिको मेरुदण्ड हो । असल शिक्षा व्यक्तिलाई आन्तरिक र बाहिरी तागत प्रदान गर्न सबै भन्दा महत्वपूर्ण यन्त्र हो त्यसैले कामना गरौँ, आगामी दिनमा शिक्षाको सुधारले समाजमा बहुपयोगी कार्यहरु सहजै गर्न सकियोस् । कार्यक्रममा बृहत विज्ञापन तथा कला प्रदर्शन गरिएको थियो । गोरखा मोर्डन सेकेण्डरी स्कुल लमहीका अध्यक्ष विष्णु प्रसाद घर्तीको अध्यक्षता एव्म लुम्बिनी प्रदेश समाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक प्रकाश ओली र सिला रिजालले संयुक्त रुपमा गर्नुभएको थियो ।

Facebook Comments