दाङ । दाङमा छवटा नयाँ मतदानस्थल थप भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लामा छवटा नयाँ मतदानस्थल थप भएका हुन् । मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले जिल्लाबाट नौ वटा नयाँ मतदानस्थल थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
जिल्लाका सात पालिकाहरुबाट माग भएर आएका १२ वटा मतदान स्थलमध्ये नौ वटा मतदानस्थल मात्र आयोगमा सिफारिस भएको र आयोगमा सिफारिस भएका नौ वटा मतदास्थलमध्ये निर्वाचन आयोगले छवटा मतदानस्थल मात्र स्वीकृत गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गहेन्द्र कवँले जानकारी दिनुभयो । छवटा नयाँ मतदानस्थल थप भएसँगै जिल्लामा एक सय ५९ वटा मतदान स्थल पुगको छन् । यो भन्दा पहिले जिल्लामा एक सय ५३ वटा मतदान स्थल रहेका थिए । हाल जिल्लामा चार सय ८२ वटा मतदान केन्द्र रहेका छन् ।
आयोगमा सिफारिस भएका मतदान स्थलमध्ये बबई गाउँपालिका वडा नम्बर १ को जनकल्याण आधाभूत विद्यालय भाँगाबारी, दंगीशरण गाउँपालिका वडा नम्बर ७ को रात्रि आधाभूत विद्यालय सिमठाना, बंगलाचुली गाउँपालिका वडा नं. ३ को माध्यामिक विद्यालय भेडाबारी मुलाबारी, लमही नगरपालिका वडा नं. ४ को वडा कार्यालय, राप्ती गाउँपालिका वडा नं. ५ को जनता माध्यामिक विद्यालय करङ्गे र राजपुर गाउँपालिका वडा नं. ६ को बालकल्याण माध्यामिक विद्यालय खङ्ग्रानाका आयोगबाट स्वीकृत भएको उहाँले बताउनुभयो । सिफारिस भएका मतदानस्थलमध्ये बबई गाउँपालिका वडा नं. २ को नेपाल राष्ट्रिय आधाभूत विद्यालय बैसरी र वडा नं. ४ को सिद्दि गणेश प्राथमिक विद्यालय सुन्दरखाल र लमही नगरपालिका वडा नं. ८ को श्री आधाभूत विद्यालय भत्तरकुण्डा आयोगबाट स्वीकृत नभएको समेत उहाँले जानकारी दिनुभएको थियो ।
सिफारिस समितिले बबई गाउँपालिका वडा नं. १ को जनकल्याण आवि भाँगाबारी, वडा नं. २ को नेपाल राष्ट्रिय आधाभूत विद्यालय बैसरी र वडा नं. ४ को सिद्दि गणेश प्राथमिक विद्यालय सुन्दरखाल, बंगलाचुली गाउँपालिका वडा नं. ३ को माध्यामिक विद्यालय भेडाबारी मुलाबारी, राप्ती गाउँपालिका वडा नं. ५ को जनता माध्यामिक विद्यालय करङ्गे, दंगीशरण गाउँपालिका वडा नं. ७ रात्रि आधाभूत विद्यालय सिमठाना र लमही नगरपालिका वडा नं. ४ को वडा कार्यालय र वडा नं. ८ को श्री आधाभूत विद्यालय भत्तरकुण्डालाई नयाँ मतदान केन्द्र थपका लागि आयोगमा सिफारिस गरेको थियो ।
जिल्लाको घोराही उपमहानगरपालिका, राप्ती, दंगीशरण र बंगलाचुली गाउँपालिकाबाट एक/एक, वटा लमही नगरपालिकाबाट दई वटा र बबई र राजपुर गाउँपालिकाबाट तीन÷तीन वटा मतदानस्थल थपका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा सिफारिस भएर आएका थिए । सात पालिकाहरुबाट थप १२ वटा नयाँ मतदानस्थलको माग भएपनि मतदाता संख्या कम भएको र समयमै नयाँ मतदाताको विवरण प्राप्त हुन नसक्दा नौ वटा नयाँ मतदानस्थन मात्र निर्वाचन आयोगमा सिफारिस गर्ने समितिले निर्णय गरेको थियो ।
मतदाता कम भएको घोराही उपमहानगरपालिका वडा नं. ३ को श्री सरस्वती प्राथमिक विद्यालय मुसोट खोला र नयाँ मतदाताको विवरण पठाउन नसक्ने राजपुर गाउँपालिका वडा नं. १ को बालविशौनी आधाभूत विद्यालय र वडा नं. ७ को गैरीशकंर माध्यामिक विद्यालय भैसही नयाँ मतदानस्थलका लागि आयोगमा सिफारिस हुन नसेको बताउनुभयो । भौगोलिक विकटता तथा टाढाबाट आउने मतदाताहरुको सहजताका लागि नयाँ मतदानस्थलको माग बढेको कार्यालयले जनाएको छ । एक हजारसम्मको मतदाता भएको ठाउँमा मतदानस्थल थप्न सकिने कार्याविधिमा उल्लेख गरिएको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको २०८२ कात्तिक २८ गते घोराहीमा बसेको बैठकले मतदान स्थल थपका लागि पालिकाहरुबाट माग भइ आएका १२ वटा नयाँ मतदान स्थलहरुमध्ये नौ वटा मतदान स्थललाई निर्वाचन आयोगमा पठाउने निर्णय गरेको गरेको थियो । बैठकले मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्याविधि २०८१ अनुसार मौजुदा मतदान स्थल तथा मतदान केन्द्र, मतदाताको संख्या, यातायताको सुविधा, पहुँचको सुगमता तथा वैकल्पिक मार्गको उपलब्धता, भवन, शैचालय, खानेपानी, विद्युत, टेलिफोन, इन्टरनेट आदि, पूर्वाधारको अवस्था, सुरक्षा प्रबन्ध, उपयुक्त भौगोलिक अवस्थिति र पर्याप्त समथर सार्वजनिक स्थान र मतदान स्थलमै मतगणनाको प्रबन्ध गर्न सकिने आधारलाई मध्येनजर गर्दै नयाँ मतदान स्थलको बारेमा निर्णय गरेको थियो ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।
