
खेमराज न्यौपाने
नेपालमा माओवादी आन्दोलन सुरु भएको पृष्ठभूमि केवल राजनीतिक असन्तोषको परिणाम थिएन, यो मुख्यतः आर्थिक, सामाजिक र वर्गीय विभाजनहरूको गहिरो पीडाबाट जन्मिएको थियो। देशको सामाजिक संरचनामा उच्च वर्ग, मध्यम वर्ग र तल्लो वर्गबीचको दूरी अत्यन्तै ठूलो थियो, जसमा तल्लो वर्ग सबैभन्दा बढी पीडित थियो। यही वर्ग माओवादी आन्दोलनको मेरुदण्ड बन्न पुग्यो। तर समयसँगै नेतृत्व हरुको राजनीति र व्यवहारमा आएको परिवर्तनले माओवादी र जनसमर्थक वर्गबीचको दूरी बढ्दै गयो, जसले अन्ततः माओवादीलाई कमजोर बनायो।
माओवादी आन्दोलनमा तल्लो वर्गको भूमिका निर्णायक थियो। दशकौँ देखि राज्य सर सत्ताको पहुँच भन्दा टाढा बसेका गरिब किसान, मजदुर, भूमिहीन, आदिवासी,दलित जनजाति तथा सीमान्तकृत समुदायले देशको राजनीतिक शासकीय स्वरुपको प्रक्रियाबाट आफू अलग महसुस गर्दै आएका थिए। उनीहरूका समस्या भूमिको अभाव, शैक्षिक पछडिएको अवस्था, स्वास्थ्य सुविधाको कमी, दैनिकीमा गरिबी र राज्यका निकायमा पहुँच नहुने यी सबैले उनी हरूलाई विद्रोहतर्फ धकेलिरहेको थियो। माओवादीले उठाएका नाराहरू भूमिहीनलाई भूमि, जातीय वर्गीय शोषणको अन्त्य, समानता, न्याय, जनताको सत्ता यी तल्लो वर्गका मनभित्र सल्किरहेको आगोसँग मेल खान्थे। यसैले उनीहरूले माओवादीलाई आफ्नो भविष्यको आशा र मुक्ति सम्झेर साथ दिए।
आन्दोलनका कठोर वर्षमा माओवादीका लडाकुहरू, जनमुक्ति सेनाका सदस्यहरू तथा जनसरकारका सहायक धेरैजसो तल्लो वर्गकै थिए। उनीहरूले आफ्नो जीवन, श्रम र समय सबै क्रान्तिका लागि खर्चे। उनीहरूका लागि आन्दोलन केवल राजनीतिक परिवर्तन मात्र थिएन, यो आफ्नो अस्तित्व र पहिचानको लडाइँ थियो। तर शान्ति प्रक्रिया सुरु भएसँगै यिनै वर्गका सपनामा दरार पर्न थाल्यो। युद्धभूमिबाट काठमाडौंको सत्ता पुगेपछि माओवादी नेतृत्वको जीवनशैली, प्राथमिकता र व्यवहारमा ठूलो परिवर्तन देखिन थाल्यो।
संघर्षकालमा ‘जनताको छोराछोरी’ भनेर चिनिने नेताहरू सत्तामा पुगेपछि सरकारी निवास, महँगा गाडी, सुरक्षा घेरा र विशेष सुविधाले घेरिन थाले। सामान्य जनताले भोगेका पीडा, अपमान वा कठिनाइ भन्दा टाढा बसेर नेताहरूले राजनीति गर्न थाले। तल्लो वर्गका मुख्य मुद्दाहरू भूमिसुधार, रोजगारी, आधारभूत सेवा उपलब्धता, सामाजिक सुरक्षा, शिक्षा स्वास्थ्य सुधार यसबारे थोरै बोलियो, अझै थोरै काम गरियो। आन्दोलनमा आफूले गरेको बलिदानको बदलामा जीवनमा कुनै ‘सकारात्मक परिवर्तन’ नआएको देखेपछि तल्लो वर्गमा निराशा फैलिन थाल्यो।
यता मध्यम वर्गसँग पनि माओवादीले अपेक्षित सम्बन्ध बनाउन सकेन। मध्यम वर्ग आफ्नो स्थिरता, सुरक्षाबोध र आर्थिक प्रगतिको आकांक्षा अनुसार राजनीति मूल्यांकन गर्ने वर्ग हो। माओवादीका क्रान्तिकारी नाराले उनीहरूमा अनिश्चितताको भावना पैदा गर्यो। बजार व्यवस्थाबारे कठोर टिप्पणी, उद्योग–व्यवसायप्रति अविश्वास, र सरकारी तन्त्रका हरेक पक्षलाई ‘वर्गीय शत्रु’का रूपमा चित्रण गर्ने प्रवृत्तिले मध्यम वर्ग माओवादीबाट टाढियो। शान्ति प्रक्रियापछि अपेक्षित स्थिरता, सुशासन र निर्णय क्षमता देखिएन, जसले मध्यम वर्गको विश्वास झनै कमजोर बनायो।
उच्च वर्ग त प्रारम्भदेखि नै माओवादी विचार धारासँग असहज थियो। ‘शोषक वर्ग’, ‘सम्पत्ति पुनः वितरण’, ‘भूमि हड्ताल’ जस्ता नाराले उनीहरूको आर्थिक विश्वसनीयता र भविष्यप्रतिको भय बढायो। सत्तामा आएपछि पनि माओवादी नेतृत्व र उच्च वर्गबीच विश्वासको पुल निर्माण हुन सकेन। यसले लगानी, उद्योग, र आर्थिक गतिविधिमा दबाब सिर्जना गर्यो, जसको असर सरकारी कामकारबाहीमै पर्यो।
यसरी तीनै वर्गको दूरी बढ्दै जाँदा माओवादी आन्दोलनको राजनीतिक उर्जा कमजोर हुँदै गयो। तल्लो वर्गले आफू ‘धोका खाएको’ महसुस गर्यो, मध्यम वर्गले ‘असुरक्षा’ देख्यो, र उच्च वर्गले ‘अविश्वास’ कायम राख्यो। वर्गीय आधारमै उत्पन्न भएको, वर्गीय परिवर्तन नै उद्देश्य बनाएको आन्दोलनले सत्तामा पुगेपछि वर्गीय सम्बन्ध बुझ्न असफल हुँदा नै कमजोर बन्न पुग्यो।
क्रान्तिका दिनमा तल्लो वर्गले देखेको सपना समानता, न्याय र सम्मान राजनीतिक भाषणमा कैद रह्यो। मध्यम वर्गले चाहेको स्थिरता र सुशासन प्राप्त भएन। उच्च वर्गले अपेक्षित विश्वास र सहकार्य देखेन। यसरी वर्गीय संरचनाको सन्तुलन बिग्रिँदै जाँदा माओवादीको प्रारम्भिक शक्ति जनसमर्थन क्षितिजमा हराउँदै गयो।
आजको माओवादी आन्दोलन कमजोर हुनु केवल संगठनात्मक गुटबन्दी वा वैचारिक अस्पष्टताका कारण होइन; यसको मूल कारण वर्गीय सम्बन्धमै आएको दरार हो। तल्लो वर्गलाई नेतृत्वले बिर्सियो, मध्यम वर्गलाई बुझेन, र उच्च वर्गसँग विश्वासको पुल बनाउन सकेन।
यदि माओवादीले फेरि जनताकै वर्गीय वास्तविकता पहिचान गर्न सकेन, तल्लो वर्गका मुद्दालाई पुनः प्राथमिकतामा राखेन, मध्यम वर्गको आकांक्षा नबुझ्यो, र आर्थिक नीतिमा विश्वासको वातावरण बनाउन सकेन भने यसको पुनरुत्थान कठिन नै हुनेछ। वर्गीय सम्बन्धको पुनर्निर्माण नै माओवादी राजनीति पुनर्जीवनको पहिलो आधार बन्नुपर्नेछ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
