• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवामा बीमा प्राधिकरणको अन्तरक्रिया, भुक्तानी झन्झटले विमाबाट बाहिरिँदै लक्षित वर्ग




आलोक भावुक
गढवा। गढवा गाउँपालिकामा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बीमा भुक्तानी प्रक्रिया जटिल, ढिलो र नागरिकमैत्री नभएकै कारण लक्षित वर्ग अझै विमाबाट बाहिर रहेको निष्कर्ष निकालिएको छ। आइतबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूले समयमै र सहज रूपमा बीमा भुक्तानी सुनिश्चित गर्न, बिचौलियाको प्रभाव हटाउन तथा सेवा प्रणाली सुधार गर्न जोडदार माग गरेका छन्।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख जमुना अर्यालको अध्यक्षता, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालको प्रमुख आतिथ्य तथा वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका सहायक निर्देशक शिवराज केसीले जीवन तथा निर्जीवन बीमाको अवस्था, जोखिम व्यवस्थापन र बीमाका सिद्धान्तबारे तथ्यांकसहित प्रस्तुति दिँदै आर्थिक वर्ष २०७५/०७६ मा १७ प्रतिशतमा सीमित जीवन बीमाको पहुँच २०८२ असोज मसान्तसम्म ४९.०५ प्रतिशत पुगेको जानकारी दिनुभयो। तर, अझै आधाभन्दा बढी नागरिक जीवन बीमाको पहुँचबाहिर रहेको उहाँको भनाइ थियो।

प्रस्तुतिकरणपछि उठेका जिज्ञासाहरूको जवाफ दिँदै सहायक निर्देशक शिवराज बिसीले बीमा कम्पनीले नियमविपरीत गतिविधि गरे उजुरी दिन सकिने र प्रमाणका आधारमा प्राधिकरण कडा कारबाही गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नीतिगत कमजोरी भए पनि जनताको हकहित र सेवा प्रवाहमा प्राधिकरण दृढ रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमामा बिचौलियाको भूमिका, स्वास्थ्य बीमा काउन्टरको कमजोर व्यवस्थापन, किस्ता प्रणालीका कारण भुक्तानी असफल हुने समस्या तथा बीमापछिको सेवा प्रवाह झन्झटिलो भएको गुनासो गरे। उनीहरूले बीमा कम्पनीलाई जनताप्रति थप जवाफदेही र पारदर्शी बन्न आग्रह गरेका थिए।

प्रमुख अतिथि कृष्णप्रसाद पौड्यालले नागरिकका अनुभव र गुनासोकै आधारमा बीमा प्रणालीका समस्या पहिचान भइरहेको बताउँदै सेवा छिटो, सहज र पारदर्शी बनाउन बीमा कम्पनी, प्राधिकरण र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “समयमै भुक्तानी र सरल सेवाले मात्रै जनताको विश्वास जित्न सकिन्छ,” उहाँले भन्नुभयो।

विशिष्ट अतिथि वडाध्यक्ष वीरबहादुर आले मगरले बिपन्न तथा जोखिममा रहेका समुदाय नै बीमाबाट बाहिर रहेको यथार्थ औँल्याउँदै चेतनाको कमी, सूचना अभाव र जटिल भुक्तानी प्रक्रियाले बीमाप्रति नकारात्मक धारणा बनेको बताउनुभयो। भुक्तानी प्रक्रिया सरल बनाएर लक्षित समुदायसम्म बीमाको पहुँच पुर्‍याउन सके मात्रै सहभागिता बढ्ने उहाँको भनाइ थियो।

सहभागीहरूको गुनासो, स्थानीय प्रतिनिधिको धारणा र प्राधिकरणका प्रतिबद्धताबीच सम्पन्न कार्यक्रमले भुक्तानी प्रक्रियाको सरलीकरण, बिचौलियाको प्रभाव नियन्त्रण, लक्षित वर्गसम्म बीमाको पहुँच विस्तार र नागरिकमैत्री सेवा प्रवाह लाई मुख्य चार एजेन्डाका रूपमा उजागर गरेको छ।

कार्यक्रम अन्त्यमा बीमाप्रति जनचेतना र विश्वास निर्माण गर्न स्थानीय तह, बीमा कम्पनी र प्राधिकरणबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको छ।

Facebook Comments