दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले श्रमजीवि पत्रकारलाई टिकाउनका लागि मिडियामाथि राज्यको लगानी हुन जरुरी रहेको बताउनुभएको छ । पत्रकारिता पेसामा श्रमजीवि पत्रकारहरु टिक्नका लागि भएतापनि मिडियामाथि राज्यको लगानी जरुरी रहेको उहाँको जोड थियो । अहिले पनि धेरै मिडियाहरु आर्थिक रुपमा धारासाही अवस्था रहेको र ती मिडियाहरुमा राज्यले लगानी गर्ने वातावरण बनाउनका लागि महासंघको केन्द्रीय नीतिअनुसार त्यस्तो नीति बनाउन राज्यसँग पहल गरिरहेको उहाँले बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३३ औं स्थापना दिवस शुक्रबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले अस्थिर सरकारका कारणले कतिपय अवस्थामा महासंघका कुराहरु सुनुवाइ नहुने गरेको समेत बताउनुभयो । उहाँले संविधानको ट्रयाक भन्दा बाहिर गएर अहिलेको अन्तरिम सरकार बनेको र त्यो संविधानलाई ट्रयाकमा ल्यानका लागि पत्रकार महासंघ, पत्रकार र नागरिक अगुवाइ व्यक्तित्वहरुले विशेष भूमिका खेल्नुपर्ने बताउनुभएको थियो । ‘जससम्म संविधान जोगिदैन् तबसम्म हाम्रो अभिव्यक्ति स्वतन्त्रता पनि जोगिदैन् शर्माले भन्नुभयो – त्यसका लागि हामीले निर्वाचनको वातावरण बनाउनका लागि दलहरुलाई नागरिकहरुले त्यस्तो वातावरण बनाउका लागि राज्यलाई झक्झक्याउन आवश्यक छ ।’ आगामी फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन् भन्नेमा सबै अवविज्ञ रहेको हुँदा त्यसकारण निर्वाचनका लागि वातावरण बनाउनका नागरिक अगुवा महासंघ, बार एसोसिएसन लगायतका संस्थाहरुले पहिलेदेखि नै काम गर्दै आएको र यो कामलाई पनि निरन्तरता दिन जरुरी रहेको समेत उहाँको भनाइ थियो ।
मिथ्या सूचनाले गर्दा पत्रकारितामाथि विश्वासनीयता घट्दै गएको हुँदा व्यवसायिक पत्रकारहरुले सत्य र तथ्यमा छिटो समाचार सम्प्रेसन गर्नुपर्ने अध्यक्ष शर्माले बताउनुभयो । मिथ्या सूचनाहरुलाई परास्त गर्नका लागि पत्रकारहरुले सोसल प्लेटफर्ममा नभएर हाम्रा जिम्मेवार मिडियामा राख्नुपर्ने उहाँले बताउनुभयो । ‘पत्रकारले पहिलो सूचना सोसल प्लेटफममा होइन्’ उहाँले भन्नुभयो – ‘हामीले पाएका पहिलो सूचनालाई भेरिफाइ गरेर मिडियामार्फत दिन जरुरी छ ।’
महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अहिले बास्तमै पत्रकारिता चुनौतीपूर्ण अवस्था रहेको बताउनुभयो । उहाँले देशमा परेको आर्थिक मन्दी कारणले मिडियाहरु बन्द हुने अवस्था पुगेको समेत बताउनुभयो । अहिले सबभन्दा बढी छापा सञ्चारमाध्यमहरु संकट अवस्थामा पुगेको कुरामा जोडदिँदै नयाँ सञ्चारमाध्यमहरु पनि विश्वासिलो बन्न नसेको हुँदा नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । सञ्चारमाध्यममा आएका संकटलाई समाधान गर्नका लागि पत्रकारिता क्षेत्रमा गम्भीर रुपमा छलफल र बहस चलाउनुपर्नेमा उहाँको जोड रहेको थियो ।
महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले व्यवसायिक पत्रकारितामा दाङ जिल्लाले अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले अहिले समाजमा पत्रकारिता क्षेत्रहरुको बारेमा विभिन्न टिका टिप्पणी हुँदै गएको हुँदा त्यसको जवाफ दिने जिम्मेवारी महासंघको काधमा आएको समेत बताउनुभयो । पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्चालनमा पत्रकारिताको विषय दुरुपयोग हुँदै गएको र त्यसका विषयामा नयाँ र पुराना पुस्ताका पत्रकारहरुले पत्रकारिता मूल्य र मान्यताको आधार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । पत्रकारिता गर्ने क्रममा पत्रकारले आचारसंहिता आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उहाँको सुझाव थियो ।
घोराही उपमहानगरपालिका उपमेयर हुमा डिसीले शुभकामना मन्तव्य राख्दै हरेक क्षेत्रलाई अघि बढाउनका लागि पत्रकारिताले अहम् भूमिका खेल्दै आइरहेको बताउनुभयो । उहाँले राज्यका विभिन्न निकायहरुबाट कुनै न कुनै बहनामा पत्रकारिता क्षेत्रमा अंकुस लगाउने काम भइरहेको हुँदा शक्तिकै आडमा पत्रकारका क्षमतालाई रोक लगाउन नहुने कुरामा जोड दिनुभएको थियो । पत्रकार महासंघसँग अपासी साथ, सहयोग र सहकार्य रुपमा अघि बढ्न घोराही उपहानगर सधै तयार रहेको उहाँको भनाइ थियो ।
महासंघका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले आधुनिक प्रेसको विकास पश्चिमबाट भएको र त्यसको प्रयोग हामीहरूले गरिरहेको बताउनुभयो । उहाँले पश्चिमले प्रेसलाई चौथोमा राखेर तल्लो दर्जा दिएको कुरामा जोड दिंदै ज्ञानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । ज्ञानको विकास भएमात्र भौतिक विकास सम्भव हुने भएको हुँदा ज्ञानको विकासलाई पहिलो मानिनुपर्ने उहाँको भनाइ थियो । पहिलेको तुलना अहिले पत्रकारितामा क्षेत्रमा सम्मान घढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै ज्ञानको उच्चतम प्रयोग गरेर सबैले स्वतन्त्र पत्रकारिता गर्नेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभएको थियो ।
महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलेले समग्र दाङको पत्रकारिता र महासंघले गरेका प्रगति बारेमा संक्षिप्त जानकारी दिँदै पछिल्लो समय प्रविधिको विकाससँगै महासंघको संरचनलाई त्यसअनुसार व्यवस्थित गर्दै अगाडी बढाएको बताउनुभएको थियोे । महासंघका संरचनालाई व्यवस्थित बनाउनका लागि महासंघमा सिसिटिभी जडान र सभाहलमा साउन्ड सिस्टम जडान भएको समेत उहाँले बताउनुभयो । महासंघले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रहरु गर्दै आइरहेको समेत जानकारी दिनुभयो ।
महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल प्रेस यूनिन केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य सुशीला आचार्य, जिल्ला बार इकाइ घोराहीकी अध्यक्ष गोमा महरा, दाङ जिल्ला उद्योग वाणिज्य संघ दाङका अध्यक्ष बसन्त जोशी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनिल केसी, सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव जेएन सागरले गर्नुभएको थियो ।
पत्रकारलाई पुरस्कार तथा सम्मान
नेपाल पत्रकार महासंघ दाङको ३३ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा पत्रकारिता क्षेत्रमा योगदान तथा क्रियाशील पत्रकारहरु पुरस्कृत भएका छन् । महासंघले आफ्नो स्थापनाको दिवसमा विभिन्न विधामा गरी २१ जना पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
महासंघमा स्थापना भएका अक्षयकोबाट खगराज लोहनी स्मृति क्रियाशील महिला पत्रकारितामा बसुन्धारा गौतम, अकिल–टुकादेवी स्मृति पत्रकारितामा दुर्गालाल केसी, उमाचन्द्र–गिता–हरी स्मृति पत्रकारितामा आरके शीतल, पार्वती स्मृति स्वास्थ्य पत्रकारितामा गोकर्ण पौडेल, दिपाक भट्टराई स्मृति पत्रकारितामा जीवन रोका र देवकी नन्दन प्रतिभामा केशरमान बुढाथोकी पुरस्कृत हुनुभएको थियो ।
त्यस्तै जितेन्द्रबहादुर शाह स्मृति पत्रकारितामा शरद रेग्मी, ओमप्रकाश शुभद्रादेवी स्मृति पत्रकारितामा रेखा शर्मा, लोक कुमारी स्मृति प्रतिभा पत्रकारितामा गोबिन्द खड्का, दुर्गा–टिका स्मृति पत्रकारितामा दिप्तीशिखा चौधरी, शालिकराम सामाजिक सेवा पत्रकारितामा नविन नेपाली, टिका–नारायणी स्मृति पत्रकारितामा जयन्ती चौधरी, वर्ष उत्कृष्ट पत्रकारितामा कुलदीप न्यौपाने र पत्रकारिता प्रतिभामा बसन्त पौडेल पुरस्कृत हुनुभएको थियो । त्यसैगरी पत्रकारिता प्रोत्साहनतर्फ मेघमान बुढा, शान्त कुमार बुढा मगर, लक्ष्मी पोख्रेल, टेकराज भण्डारी, प्रेम पुन र अर्जुन परियार पुरस्कृत हुनुभएको थियो ।
त्यस्तै महासंघले स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्नुहुने नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेल, महासंघका केन्द्रीय निवर्तमान उपाध्यक्ष उदय जिएम, महासंघको संस्थापक सदस्य भुवन देवकोटा र महासंघ दाङका संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको थियो । जिल्लामा रहेका सञ्चारमाध्यमतर्फ रेडियो हाईवे, लौवा अग्रासन र सितलपुर अनलाइनलाई मिडिया सम्मानको रुपमा सम्मान गरिएको थियो ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।

