देउखुरी। लमही नगरपालिका–६, दाङमा अवस्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम आज बुधबार सम्पन्न भएको छ।
विद्यालयका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूमण्डप के.सी., दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, संघका सल्लाहकार किरण पौडेल, सदस्यद्वय ऋषि राज चौधरी र बसन्ती चौधरी, प्रशिक्षक दिपक खड्का, अभिभावक, शिक्षक–कर्मचारी तथा खेलाडी विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङमा यस वर्ष ४६ जना खेलाडी विद्यार्थीले डबल प्रमोसनसहित ग्रेडिङ हासिल गर्न सफल भएको विद्यालयले जानकारी दिएको छ। कार्यक्रमको सहजीकरण विद्यालयको अतिरिक्त क्रियाकलाप समितिका सदस्य तथा माध्यमिक तहकी शिक्षिका तुलसी खत्रीले गर्नु भएको थियो।
हाल विद्यालयमा बेलुकी सत्रअन्तर्गत दुई सिफ्टमा डोजाङ प्रमुख कुबिर गिरीकै नेतृत्वमा नियमित तेक्वान्दो कक्षा सञ्चालन भइरहेका छन्। तेक्वान्दोप्रति विद्यार्थीको बढ्दो आकर्षण र विद्यालयको सीप विकास उन्मुख वातावरणका कारण स्थानीय अभिभावक तथा समुदायबाट समेत सकारात्मक प्रतिक्रिया मिलिरहेको विद्यालयले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
