दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पहिलोपटक ठूलो संख्यामा सिकलसेल एनिमियाको परिक्षण गर्न लागेको छ । दाङका दशवटै पालिकाका जनप्रतिनिधिहरुसँगको शुक्रबार भएको छलफलमा प्रतिष्ठानले यस्तो जानकारी दिएको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रीएपछि पहिलो पटक पाँच हजार जनामा परिक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो परिक्षण अभियान शनिबारदेखि नै जारी रहनेछ । प्रतिष्ठानले करिब सिकलसेल एनिमिया भएका तीनसय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा एक बर्षदेखि ६५ बर्ष सम्मकामा सिकलसेल एनिमिया भेटिएका छन् भने एकै घरका चार जना परिवारमा पनि सिकलसेल देखिएको छ । धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ, भने योगी र दलित समुदायमा पनि सिकलसेल देखिएको छ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई राखेर अबदेखि प्रतिष्ठानमा सिकलसेल एनिमिया रोगको परिक्षण हुने जानकारी दिइएको बताउनुभयो । सिकलसेल एनिमिया परिक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने भएता पनि अब प्रतिष्ठानमा नै चेकजाँच हुने भएपछि बिरामीलाई उपचारमा सहजता हुने उहाँले बताउनुभयो ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले सिकलसेल एनिमिया भए नभएको पाँच हजार जना बालबच्चादेखि वृद्धसम्म सबैको चेकजाँच गरेर हालको अबस्थाबारे जानकारी लिन सकिने र प्रतिष्ठान आफैमा बिश्व बिद्यालय पनि भएकाले भबिष्यमा अध्ययन अनुसन्धान गर्न सहजता हुने बताउनुभयो । साथै, उहाँले सिकलसेल एनिमिया रोकथाम र नियन्त्रणको लागि नीति तर्जुमा गर्न पनि यो कार्यले सहजता हुने अपेक्षा गर्नुभयो ।
२०७३ सालदेखि नै साविकको राप्ती उपक्षेत्रीय अस्पतालमा सुरू भएको यो कार्यक्रम दाङमा सुरू भएको थियो । त्यो बेला देशभरका स्याम्पलका रूपमा सिकलसेल परीक्षण गर्दा तीनसय ५० जनामा सिकलसेल देखिएकोमा दाङ जिल्लाका मात्रै २६ केस देखिएका थिए । जुन एकदमै गम्भीर अवस्था हो । विशेषगरी थारू समुदाय र आदिबासी जनजातिमा देखिने सिकलसेल दाङमा पनि धेरै हुन सक्ने निष्कर्षसहित सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आएपनि यसलाई नियमितता दिन भने सकिएको छैन् ।
प्रतिष्ठानका निमित्त निर्देशक प्राध्यापक डा. पन्थीले दाङ जिल्लामा सिकलसेल एनिमियाको परीक्षण कार्यक्रम जिल्लाका तीन स्थानमा सञ्चालन गरिने बताउनुभयो । स्थानीय सरकारसँगको समन्वयमा देउखुरीमा कुनै एक स्थानमा, मध्ये दाङको एउटा स्थान र पश्चिम दाङको एक स्थानमा निःशुल्क रूपमा सिकलसेल एनिमियाको परीक्षण गरिने छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आइतवारदेखि नै यो सेवा सुरू हुनेछ । यो सेवा मङ्सिरदेखि वैशाखसम्म निरन्तर जारी रहने पनि बताइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन ओपिडिमा यो सेवा उपलब्ध हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. अजयराज गौतमले जानकारी दिनुभयो । यदि कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधी उपचार गरिने पनि प्रतिष्ठानले जनाएको छ । अन्य कुन–कुन स्थानमा हुने भन्ने विषयमा पालिकाले छलफल गरेर आइतबारसम्म स्थान तय गर्ने छन् ।
प्रतिष्ठानका फिजिसियन डा. अजय गौतमले सिकलसेल एनिमिया के हो ? यसको रोकथामका उपाय के–के हुन् ? र यसको उपचार र न्यूनीकरणका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । सिकलसेल एनिमिया एउटा वंशाणुगत रोग भएकाले लक्षित समुदायमा यसको प्रभाव बढी हुन सक्ने भएकाले त्यस्ता समुदायमा परीक्षण, रोकथाम एवम् उपचारात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्ने पनि डा. गौतमको प्रस्तुतीमा उल्लेख थियो । सिकलसेल एनिमिया भइसकेपछि त्यस्ता व्यक्तिका रक्तकोषको आकार हसिया जस्तो हुने पनि चिकित्सकले बताएका छन् ।
जब कोषको आकार परिवर्तन भएर बाङ्गो हुन्छ, त्यसले राम्रोसँग रक्त सञ्चारमा अवरोध ल्याउँछ । यसका कारण रगत नपुगेर कतिपय अङ्गको मृत्यु हुने सम्मको खतरा हुन्छ । यसको उपचार लक्षण अनुसार हुने चिकित्सकले बताएका छन् । पूर्ण रूपमा निको भएर जाने अवस्था भने रहँदैन । सिकलसेल एनिमियामा केही सिकलसेल बाहक हुन्छन् भने केही सिकल सेलका रोगी हुन्छन् । यदि सिकलसेल बाहक र सिकलसेल रोगीका बिचमा विवाह भयो भने उनीहरूबाट जन्मने शिशुलाई पनि सिकलसेल एनिमियाको सम्भावना अत्यधिक हुन्छ । यस्ता जोडिबाट स्वस्थ बच्चा जन्मने सम्भावना २५ प्रतिशत मात्र रहन्छ ।
प्रतिष्ठानका चिकित्सक डा. सविना विश्वकर्माले सिकलसेल एनिमिया तथा थालेसेमिया कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । नमूना परीक्षणको कार्यक्रम मङ्सिरदेखि वैशाख महिनासम्म निरन्तर रहने पनि उनले जानकारी दिनुभयो । डा. सविनाका अनुसार नेपालमा दाङ पनि सिकल सेल एनिमियाको अत्यधिक प्रभावित जिल्ला हो । यद्धपि प्रयाप्त मात्रामा परीक्षण नहुँदा अहिलेसम्म यहाँ कति जनामा सिकल सेल एनिमिया छ भन्ने आधिकारिक तथ्याङ्क नभएको पनि उहाँले बताउनुभयो । यो कार्यक्रम अनुसन्धानसँगै परामर्श र उपचार पनि भएको प्रतिष्ठानले जनाएको छ ।
जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माले दाङ जिल्लामा सिकलसेल एनिमियाको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै यसको अनुसन्धान एवम् परीक्षण र उपचारलाई पनि थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । साथै, सिकलसेल एनिमियाको विषयमा आम नागरिकलाई जानकारी गराउन स्थानीय सरकारले आफ्ना पाठ्यक्रममा पनि सिकलसेल एनिमियाका विषय समावेश गर्न उहाँको अनुरोध छ ।
दाङ जिल्लामा थारू समुदायको बाहुल्यता भएकाले यहाँ सिकलसेल एनिमियाका बिरामी धेरै हुन सक्ने अनुमानसहित यसको न्यूनीकरण एवम् रोकथामका लागी तीनै तहका सरकार यसमा लागिरहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
