दाङ । अपांगता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस दाङमा विभिन्न कार्यक्रमसहित मनाइएको छ । स्वास्थ्य कार्यालय दाङको आयोजनामा बुधबार घोराही–१४ भिंगौरास्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा ह्वीलचेयर तथा फलफूल वितरणसहित कार्यक्रम सम्पन्न गरिएको हो ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष शरद अधिकारीले यो अपांगता दिवस मनाउने राज्यको कर्तव्य र दायित्व भएको बताउनुभयो । उहाँले स्वास्थ्य कार्यालयले यो दिवस सम्झेर यहाँसम्म मनाउन आइपुगेकोमा धन्यवाद व्यक्त गर्दै हाम्रो नजिकको सरकार कहाँ छ, भनेर प्रश्न सोध्नुभएको थियो । विगतका दिनमा यो दिवसको अवसरमा विभिन्न अन्तरक्रिया कार्यक्रम हुने गरेको भएतापनि अब नजिकको सरकारले अपांग दिवसलाई विस्तारै विर्सदै गएको होकी भन्ने धारणा उहाँले राख्नुभएको थियो । मासिन जन्मजातै अपांग नभएर भोलि दिनमा विभिन्न दुर्घटनाको कारणबाट अपांग हुन सक्ने भन्दै उपाध्यक्ष अधिकारीले अपांगता भएको व्यक्तिको बारेमा गम्भीर भएर सबैले सोच्नुपर्ने बताउनुभयो ।
त्यस्तै स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले अपांगता भएका व्यक्तिहरुसँग अद्विय क्षमता हुने गरेको बताउनुभएको थियो । अपांगता भएका व्यक्तिहरुले पनि विभिन्न कामहरु गर्न सक्ने भएतापनि उनीहरुमा भएको फरक क्षमतालाई चिन्न नसकेको उहाँले बताउनुभयो । अपांगताको क्षेत्रमा नेपाल सरकारले पनि धेरै कामहरु गरिरहेको कुरामा जोडदिँदै उहाँले अपांगसँग सम्बधित नीतिको कार्यान्वयमा सबैले जोड दिनुपर्ने बताउनुभयो । अपांगता भएका व्यक्तिहरुको सरल र सहज रुपमा पहुँच प¥याउनका लागि पछिल्लो चरण अपांगमैत्री भवनहरु बन्दै गएको उहाँको भनाइ थियो ।
अपांगता भएका व्यक्तिहरूतर्फबाट बोल्दै गोबिन्द धिताल, सुरेन्द्र चौधरी, सुरेश बिकलगायतले अपांगता भएकै कारण आफूहरुले विभिन्न समस्याहरु भोग्नु परेको बताउनुभएको थियो । तर, अपांगता भएका व्यक्तिहरु हिमाल चढेको स्मरण गर्दै इच्छा र चाहना भयो भने असम्भव केही नहुने पनि उहाँहरुको भनाइ थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष तथा सम्मानित व्यक्ति अमरक्षितिज भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै फरक क्षमता भएका व्यक्तिहरूलाई सीपअनुसार रोजगार र अवसर प्रदान गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । फरक क्षमता भएका व्यक्तिमा पनि उल्लेख्य क्षमता र प्रतिभा रहेको हुँदा तिनलाई उचित अवसर दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयरसहित फलफूल वितरण गरिएको थियो । कार्यक्रममा पत्रकार अमरक्षितिज भण्डारीलाई सम्मान गरिएको जनाएको छ । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय दाङका गजेन्द्र यादवले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
