घोराही । दाङको घोराहीमा चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता सुरु भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा बुधबारदेखि घोराहीस्थित दाङभ्याली कलेजको प्रांगणमा विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता सुरु भएको हो । बुधबारदेखि सुरुभएको हाप्किडो प्रतियोगिता मंसिर २० गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमका संयोजक विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् बोर्डका उपाध्यक्ष ध्रुवआचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बोर्डका उपाध्यक्ष आचार्यले अबको युगमा खेलकुद स्वास्थ्यको लागि मात्र नभएर राष्ट्र निर्माणको लागि पनि आवश्यकता भएको बताउनुभयो । उहाँले स्वस्थ नागरिक र दक्ष जनशक्ति उत्पादनका लागि खेलकुदको महत्व बढ्दै गएको समेत बताउनुभयो । खेलकुदलाई खेल्ने मात्र नभएर आफ्नो जीवन निर्वाहसँगै राष्ट्र निर्माणसँग जोड्न सक्नुपर्ने उहाँको धारणा थियो । वडा–वडामा र जिल्ला–जिल्लामा खेलकुद मैदान निर्माणसहित भौतिक संरचना निर्माण गर्न सक्यौ भने मात्र खेलकुदबाट स्वस्थ नागरिक र दक्ष जनशक्ति उत्पादन हुने उहाँको भनाइ थियो ।
नेपाल हाप्किडो संघका केन्द्रीय सदस्य राजेन्द्र मडाईले विद्यालयमा भएका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउने र उनीहरूमा भएको प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । उहाँले हाप्किडोका रेफ्रीहरुलाई हाप्किडोको नियमको सपथ ग्रहण गराउँदै हाप्किडोको नियम अनुसार खेल खेलाउन र विद्यार्थीहरुलाई स्वस्फूर्त रुपमा प्रतियोगितामा प्रतिस्पर्धा गराउन निर्देशन दिनुभएको थियो ।
लुम्बिनी प्रदेश विद्यालय खेलकुद महासंघको उपाध्यक्ष निर्मल आचार्यले पछिल्लो समय नेपालमा खेलकुदको महत्त्व बढ्दै गएको बताउनुभयो । विद्यार्थीहरुलाई अनुशासनमा राख्नका लागि खेलकुदका गतिविधिहरु सञ्चालन हुन आवश्यक रहेको उहाँले बताउनुभएको थियो ।
नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तीमगरले नेपाल हाप्किडोले नेपालमा फरक ढंगले खेलहरुको विकास र विस्तार गर्दै आइरहेको बताउनुभयो । उहाँले नेपालका सात प्रदेश र देशभर ७० वटा जिल्लामा हाप्किडोको स्थापना गरी खेलकुदहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभएको थियो ।
दाङभ्याली कलेजका प्रमुख विष्णु बञ्जाडेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद समिर हलुवाई, संघका प्रमुख प्रशिक्षक प्रविन गुरुङ, उद्योग वाणिज्य संघ दाङका पूर्व अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा खेलाडीहरुले विभिन्न खेलको डेमो प्रस्तुत गरेका थिए, भने विद्यार्थीहरुले एकल तथा सामुदायिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कलेजका शिक्षक थमन अधिकारीले गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थी खेलाडीहरुले घोराहीको ट्राफिक चोकदेखि निकालेको र्याली बजार परिक्रमा गरी विपीचोक हुँदै दाङभ्याली कलेजमा पुगेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
