• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दुर्गा भवानी आविका विद्यार्थीहरूले सुरु गरे भित्ते पत्रिका प्रकाशन




तुलबहादुर कवँर मगर
मसुरिया। दाङको राप्ती गाउँपालिका–३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीहरूले पहिलोपटक ‘सिर्जनाको पाना’ नामक त्रैमासिक भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन्। विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कक्षाका विद्यार्थीहरूले विद्यालयको पहलमा पत्रिका निकालेका हुन्।

ड्रइङ पेपरमा हस्तलिखित रूपमा तयार गरिएको पत्रिकामा विद्यालयका गतिविधि, कविता, गजल, मुक्तक, चुटकिला, सामान्य ज्ञान, समाचारलगायत सामग्री समावेश गरिएको छ। शिक्षकहरूको सहजीकरणमा विभिन्न कक्षाका विद्यार्थीहरूको टोलीले पत्रिका प्रकाशन गरेको हो।

भित्ते पत्रिकाको सम्पादक मण्डलमा जित्मली विष्ट, अनुष्का चौधरी र हसिना खातुन छन्। प्रकाशन तथा व्यवस्थापन समूहमा कञ्चन चौधरी, लक्ष्मी सुनार, सोलन चौधरी, रेविका विष्ट, आयुष बिक र अन्द्रेश चौधरी रहेका छन्। प्रधानाध्यापक केशवराज आचार्य संरक्षकका रूपमा रहनुभएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच पत्रिकाको औपचारिक विमोचन गरिएको थियो। राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारीले पत्रिकाको विमोचन गर्नुभएको हो। अध्यक्ष अधिकारीले विद्यार्थीहरूको सिर्जनशीलता प्रशंसनीय रहेको उल्लेख गर्दै पढाइसँगै सीपमूलक शिक्षालाई निरन्तरता दिन आग्रह गर्नुभयो।

त्यसैगरी, प्रधानाध्यापक आचार्यले भित्ते पत्रिका विद्यार्थीहरूको क्षमता उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै यसले उनीहरूलाई आत्मविश्वासी र जिम्मेवार बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

विमोचन कार्यक्रम कक्षा ८ की छात्रा जित्मली विष्टको अध्यक्षता र वडा अध्यक्ष उमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कक्षा ७ की छात्रा कञ्चन चौधरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ८ की छात्रा पुष्पा बस्नेतले गर्नुभएको थियो। सहभागीहरूलाई कक्षा ७ की छात्रा अनुष्का चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Facebook Comments