• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा ३२ पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण, अधिकांशलाई चश्मा अनिवार्य




ओमप्रकाश गुप्ता

भालुवाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। राप्ती प्रेस मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजना गरेको पत्रकारहरुको निशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार निरन्तर सक्रिय रहेको बताए।

 

तिलगंगा सर्जिकल आँखा केन्द्र र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा सहभागी पत्रकारलाई निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण गरिएको थियो। मन्त्री सारुले प्रर्वद्धनात्मक तथा सुलभ स्वास्थ्य सेवाका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाको रूपमा अघि बढाउने लक्ष्य रहेको उल्लेख गर्दै गाउँ–बस्ती तथा दुर्गम क्षेत्रमा चिकित्सकको पहुँच सुनिश्चित गर्न व्यवस्था सन्तुलित बनाइएकाले सेवा वितरण मजबुत हुँदै गएको धारणा व्यक्त गरे।

 

पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिताले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए। शिविरमा ३२ जना पत्रकारले आँखा तथा स्वास्थ्य जाँच गराएका थिए। जाँचका क्रममा अधिकांश पत्रकारमा दृष्टिदोष देखिएको र चश्माको प्रयोग अनिवार्य हुने तिलगंगा सर्जिकल आँखा केन्द्रका नेत्र अधिकृत बिमल बुढा क्षेत्रीले जानकारी दिए। उनले आँखा स्वस्थ राख्न नियमित खानपान, हरियो सागसब्जी प्रयोग र समय–समयमा आँखा जाँच गर्न सुझाव दिए।

 

स्वास्थ्य परीक्षण आध्या मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी सुदन घिमिरेले गराएका थिए भने आँखा जाँच नेत्र अधिकृत बिमल बुढा क्षेत्री र नेत्र सहायक मिना जिएमले गरेका थिए। शिविर उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका–५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

कार्यक्रम राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकाऱ्यको अध्यक्षतामा सम्पन्न भएको थियो। मञ्चका प्रमुख संरक्षक महेश रिजालले धन्यवाद ज्ञापन र वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालक मञ्चका महासचिव ओमप्रकाश गुप्ता रहेका थिए।

Facebook Comments