म आगो ओकलेर आफैलाई
खियाउन चाँहन्छु सुद्धताको भट्टिमा
मेरा अधिकांश अंश खार बनोस्
बचोस सुद्धताको एकअंश कण
बनाउन चाहन्छु त्यहि कणबाट
ओजनदार हम्मर
तोड्न चाहन्छु किम्बरलाईट।
त्यही क्षणमा
चिरा–चिराभित्र थुनिएको आवाज
धातुको गर्जनझैँ
फेरि उठ्न थालोस्
म आफ्नो मौनतालाई
ठोक्दै–पिट्दै
नयाँ धड्कनमा ढाल्न चाहन्छु।
भट्टीको रातो–नीलो तापमा
लाभाभित्र जमेको दशकौँको जडत्व
विस्तारै विस्तारै पग्लँदै जाओस्
एउटै तेजिलो चिनगारी
मेरो मुटुभरी फैलियोस्
म त्यसै चिनगारीलाई
मार्गदर्शक ज्वाला बनाउँदै
फेरि हिँड्न चाहन्छु।
अन्तिम चोट हान्दा
किम्बरलाईटको कठोर छाती
एकाएक थर्थरी काँपोस्
र भित्र लुकेको सुनसान चमक
पहिलोपटक झल्किल्कियोस्
म त्यही चमक पछ्याउँदै
आफूलाई पुन उभ्याउन चाहन्छु
भट्टीबाट निस्किएको
नयाँ धातुजस्तै
कसिलो र स्वच्छ भएर।
म उभ्याउन चाहन्छु
आगोको ज्वालाभित्र,
शुद्धताको कसीमा
आफुले आफैलाई।
जनक सी
शान्तिनगर-३ दाङ,
६ मङ्सिर २०८२।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
