दाङ। सांस्कृतिक बिकास र मनोरञ्जनका लागि परिचित बन्दै गएको झोर्ले दोहोरी साँझ एण्ड रेस्टुरेन्ट, घोराहीले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा भव्य र स्मरणीय सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।
दैनिक रुपमा स्थानीय कलाकारहरूको प्रस्तुति मार्फत सांस्कृतिक परम्परा जोगाउँदै आएको दोहोरी साँझले यस वर्षको वार्षिकोत्सवलाई विशेष बनाउँदै मंसिर ३, ४ र ५ गते तीन दिन लगातार राष्ट्रियस्तरका कलाकारलाई लिएर महोत्सव गर्न लागेको हो।
संचालक प्रकाश पुनका अनुसार यस कार्यक्रमले घोराहीमा सांस्कृतिक पर्यटन र लोकदोहोरीको आकर्षणलाई थप बलियो बनाउने लक्ष्य राखिएको छ। स्थानीय सांस्कृतिक वातावरणलाई प्रोत्साहन दिंदै राष्ट्रिय प्रतिभालाई एकै मंचमा प्रस्तुत गरिनु उक्त रेस्टुरेन्टका लागि गर्वको कुरा भएको पुनको भनाइ छ।
महोत्सवमा लोकदोहोरीकी चर्चित गायिका सुमन थापा मगर, बहुप्रतिभाशाली मिना बुढाथोकी, लोकप्रिय मोडेल रमिता गुरुङ, गायक शंकर सुनार, सन्दीप सेन्चुरी, विजय परियार तथा मोडेल राधिका परियारको धमाकेदार प्रस्तुति रहनेछ। तीनदिनसम्म निरन्तर चल्ने प्रस्तुतिले दर्शकलाई रमाइलो, कला–संस्कृतिको स्वाद र दर्जनौँ रोचक क्षणहरू प्रदान गर्ने आयोजकले जनाएको छ।
वार्षिकोत्सव विशेष कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुनेछ। संचालक पक्षले कार्यक्रमलाई सर्वसाधारणका लागि पूर्ण रूपमा निशुल्क प्रवेशको व्यवस्था गरी सम्पूर्ण दाङबासी तथा कला रुचाउनेहरूलाई सहभागिताका लागि आमन्त्रण गरेको छ।
झोर्ले दोहोरी साँझ एण्ड रेस्टुरेन्टले एक वर्षकै अवधिमा घोराहीमा सांस्कृतिक गतिविधिको केन्द्रविन्दु बन्न सफल भएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
