• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुलको नयाँ प्रधानाध्यापकमा भण्डारी नियुक्त, शैक्षिक गुणस्तरका योजना थपगर्ने तयारी




घोराही । गुरुकुल एकेडेमी घोराहीको प्रधानाध्यापकमा प्रदीपराज भण्डारी नियुक्त हुनुभएको छ । पूर्वप्रधानाध्यापक डा. कृष्णराज डिसीको तीन वर्षे कार्यकाल कात्तिक २८ गते सकिएपछि संस्थाले नयाँ नेतृत्वका रूपमा भण्डारीलाई जिम्मेवारी दिएको हो ।

दिपशीखा बोर्डिङ स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आउनुभएका भण्डारी शैक्षिक योजना, व्यवस्थापन र गुणस्तर सुधारका लागि सक्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । भण्डारीले २०६५ सालदेखि औपचारिक रूपमा अध्यापन यात्रा सुरु गर्नुभएको हो । माउन्ट भ्यु स्कुल र बाल विकास विद्यालयदेखि दिपशीखा स्कुलसमेत दर्जनभन्दा बढी प्रतिष्ठित विद्यालयमा अध्यापन गर्नुभएको उँहाले कक्षा शिक्षणदेखि लिएर विद्यालय व्यवस्थापनसम्मको उल्लेखनीय अनुभव बटुल्नुभएको छ ।

सहायक प्रधानाध्यापक तथा शैक्षिक निर्देशक भएर काम गरिसक्नुभएका भण्डारीलाई संस्थाले अब नेतृत्व क्षमता र व्यवस्थापन सुझबुझका आधारमा गुरुकुलको नयाँ अध्याय सुरु गर्ने अपेक्षा राखिएको छ । २०४२ साल चैत्र २० गते जन्मिनुभएका भण्डारीले स्कुले शिक्षा माउन्ट भ्यु बोर्डिङबाट हासिल गर्नुभएको थियो । शैक्षिक यात्राअघि बढाउँदै उँहाले उच्च शिक्षा भारतको बेङ्लोरबाट सम्पन्न गर्नुभएको हो । शैक्षिक पृष्ठभूमि, अनुभव र व्यावहारिक नेतृत्व क्षमताका कारण गुरुकुल एकेडेमीले भण्डारीबाट संस्थाको शिक्षण गुणस्तर, प्रशासनिक कार्यक्षमता र समग्र शिक्षण वातावरणमा सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरेको छ ।

नयाँ नियुक्त प्रधानाध्यापक भण्डारीले गुरुकुल एकेडेमीलाई शैक्षिक उत्कृष्टताको नमूना विद्यालयका रूपमा रूपान्तरण गर्न दीर्घकालीन कार्ययोजना अघि सार्ने तयारी गरेको विद्यालय स्रोतले जानकारी दिएको छ । उँहाले कक्षा एकदेखि १० सम्म ‘सीख्दै–सिकाउँदै’ अभ्यासमुखी शिक्षा लागू गर्ने, प्रत्येक कक्षामा प्रोजेक्ट–भित्रीकृत अध्ययनलाई अनिवार्य बनाउने, र विद्यार्थीको सिकाइभन्दा व्यवहारिक जीवन सीपमा जोड दिने योजना अघि सार्नुभएको छ ।

त्यसैगरी, शिक्षक क्षमता अभिवृद्धि कार्यक्रमलाई मासिक रूपमा निरन्तरता दिने, अभिभावकसँग नियमित संवाद बढाउने, प्रगतिशील मूल्यांकन प्रणालीलाई सुदृढ बनाउने तथा ग्रामीण र सीमान्तकृत विद्यार्थीलाई लक्षित सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले प्रस्तुत गर्नुभएको छ । विद्यालयमा डिजिटल क्लासरूम विस्तार, विज्ञान तथा भाषा प्रयोगशाला सुदृढीकरण र सह–पाठ्यक्रमहरूलाई व्यवस्थित रूपमा संचालन गर्ने प्रतिबद्धतासमेत उँहाले व्यक्त गर्नुभएको छ ।

 

Facebook Comments