• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीको ऐतिहासिक जोरपोखरी गढीमा शिलालेख अनावर




तुलबहादुर कवँर मगर
भालुबाङ, २८ कार्तिक। दाङको राप्ती गाउँपालिका–९ मा अवस्थित ऐतिहासिक जोरपोखरी गढीमा शुक्रबार एक कार्यक्रमका बीच शिलालेख अनावरण गरिएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र ज्वालादल गण घाेराहीका गणपति कर्नेल सन्तोष थापाले संयुक्त रूपमा गढीको इतिहास उल्लेख गरिएको शिलालेख अनावरण गर्नुभएको हो।

प्राचीन समयमा “काला राजाले” निर्माण गरेको मानिने उक्त गढीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शिलालेख स्थापना गरिएको हो। जोरपोखरी गढी ऐतिहासिक शिलालेख अनावरण कार्यक्रमले यस क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्वलाई थप उजागर गरेको छ।

शिला अनावरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गढीलाई स्थानीय सरकारले संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउनुभयो। यो गढी पालिकाको सबैभन्दा उच्च स्थानमा अवस्थित छ। “यहाँबाट उत्तरतर्फ विभिन्न हिमश्रृङ्खला हेर्न सकिने र देउखुरी उपत्यका अवलोकन गर्न सकिन्छ”,अध्यक्ष विष्टले भन्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरी, वडा नं. ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर, कार्यपालिका सदस्य रणबहादुर पुजाली, नेपाली सेनाका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

किंवदन्तीका अनुसार शिलालेखमा गढी प्राचीन समयमा “काला राजा” ले निर्माण गरेको बताइन्छ। पछि “गोरा राजा” सँगको युद्धमा काला राजा र उनका छोराहरू “कालाकाटे” स्थानमा मारिएका थिए। त्यसपछि रानीसहित अन्य महिलाहरूले गढीको पश्चिमतर्फ रहेको चिउरीको रुखमा झुन्डिएर आत्महत्या गरेको जनश्रुति रहेको उल्लेख छ।

स्थानीय बासिन्दाका अनुसार करिब ५० वर्षअघिसम्म गढी अण्डाकार आकारको तीन फिट अग्लो पर्खालले घेरिएको थियो, जसको बीचभागमा चार दिशातर्फ ढोका रहेका घरका भग्नावशेष देखिन्थे। गढीको उत्तर–पूर्व दिशामा करिब ४ सय मिटर टाढा रहेको रानी कुवा पनि ऐतिहासिक रूपमा यस स्थलसँग सम्बन्धित मानिन्छ।

नेपाली सेनाले देशभर रहेका ऐतिहासिक गढी र किल्लाहरूको पहिचान, संरक्षण र जगेर्ना गर्ने नीतिअनुसार यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

Facebook Comments