• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नयाँ लुगा उपन्यास यसरी जन्मियो ?




सविन प्रियासन

मेरा प्रिय पाठकहरू,
जब मैले ‘नयाँ लुगा’ उपन्यास लेख्न थालेँ, मलाई थाहा थियो– यो सजिलो यात्रा हुने छैन । यो केवल एउटा कथा लेख्ने कुरा थिएन, यो त एउटा आठ–दश वर्षको बालकको मनभित्र डुबेर त्यहीँबाट संसार हेर्ने, त्यहीँबाट बोल्ने र त्यहीँबाट डराउने, रुने, हाँस्ने असाध्यै कठिन प्रयास थियो । बाल मनोविज्ञानको गहिराइमा डुब्नु भनेको आफैँलाई बालक बनाउनु हो, तर हामी जति ठूला हुँदै जान्छौँ, त्यति नै हामीभित्रको त्यो निष्कपट बालक कतै हराउँदै जान्छ । मलाई बारम्बार आफैँसँग लडाइँ गर्नुप¥यो– ‘यो कुरा नौ वर्षको बच्चाले यसरी सोच्ला त ?’ ‘यो डर उसको उमेरको हो त ?’ ‘यो खुशी उसले यति चर्को स्वरले व्यक्त गर्ला त ?’ यी प्रश्नहरूले मलाई रातभरि सताइरहे ।
मैले धेरैपटक डायरी बन्द गरेँ, कम्प्युटर बन्द गरेँ र घरबाट निस्केर टोलका बालबालिकाहरूसँग घण्टौँ बसेँ । उनीहरूको हाँसो, उनीहरूको झगडा, उनीहरूको अपूर्ण वाक्य, उनीहरूको अनौठो तर्क सुन्दा–सुन्दै मभित्र हराएको त्यो बालक बिस्तारै फर्किंदै आयो । मलाई लाग्यो– बच्चाहरू वयस्कहरूभन्दा कैयौँ गुणा इमानदार हुन्छन् । उनीहरू ढोँग गर्दैनन्, उनीहरूले देखेको सत्य त्यही हो, त्यसलाई उनीहरूले जस्ताको तस्तै भन्छन् । त्यही इमानदारीलाई म उपन्यासमा उतार्न चाहन्थेँ । त्यसैले ‘नयाँ लुगा’ का पात्रहरू कहिल्यै पनि ‘बच्चा जस्तो व्यवहार गर’ भनेर बनाइएका छैनन्, उनीहरू साँच्चै बच्चा हुन्– जिद्दी, क्रूर, कोमल, डरपोक, साहसी, अन्यायमा चुर हुने र माया पाउँदा लजाउने साँच्चा बच्चाहरू ।
यो उपन्यास लेख्ने क्रममा मलाई सबैभन्दा ठूलो अफ्ठेरो तब भयो, जब मलाई थाहा भयो– म केवल कथा भन्न मात्र होइन, कथा मार्फत केही भन्न पनि चाहन्छु । म एक्लै बसेर रोएको थिएँ, किनभने मलाई लागिरहेको थियो– हाम्रा बच्चाहरूले भोग्नुपरेका पीडा, हिंसा, उपेक्षा, यौन शोषण, मानसिक तनाव, पारिवारिक विघटन, सामाजिक दबाब आदिलाई म कसरी यति कोमल तरिकाले भन्न सक्छु कि पाठकलाई गाली गरेको जस्तो नलागोस्, तर सँगै सत्य टड्कारो रूपमा छर्लंग पनि होस् ? मलाई लाग्यो– यदि म यी कुरा प्रत्यक्ष रूपमा भनेँ भने यो उपन्यास पढ्ने अधिकांश वयस्कहरू रक्षात्मक बन्छन्, आफूलाई दोषी ठान्छन् र किताब बन्द गरेर फालिदिन्छन् । त्यसैले मैले एउटा जोखिमपूर्ण बाटो रोजेँ– म कथाभित्र कथा राख्छु ।
यसैले ‘नयाँ लुगा’ भित्र तपाईंले एउटा मुख्य कथा पाउनुहुनेछ, तर त्यसको गर्भभित्र दुई दर्जनभन्दा बढी साना–साना सचेतनामूलक कथाहरू समावेश गरिएका छन् । ती कथाहरू कहिले एउटा पात्रले सुनाएको कथा बन्छन्, कहिले स्कूलबाट फर्कंदै गर्दाको गफ, कहिले राति सुत्नुअघि आमाले भनिदिएको कथा, कहिले साथीहरूबीचको डरलाग्दो अनुभव । ती सबै कथा वास्तविक घटनाहरूमा आधारित छन्– कति त मेरै समाजमा मैले सुनेका, कति बाल अधिकारकर्मी साथीहरूले मसँग बाँडेका । मलाई लाग्छ, जब यस्ता गम्भीर कुरा प्रत्यक्ष उपदेशको रूपमा होइन, कथाको रूपमा भित्र पस्छन्, तब तिनले पाठकको मनमा गहिरो गरी घर बनाउँछन् । बच्चाहरूलाई यी कथा सुन्दा डर लाग्ला तर सँगै सतर्क पनि बनाउँछ, र वयस्कहरूलाई यी कथा सुन्दा लाज लाग्ला तर सँगै जिम्मेवार पनि बनाउँछ ।
मलाई विश्वास छ– एउटा राम्रो बालउपन्यासले बालबालिकालाई मात्र होइन, ठूलाबडीलाई पनि बदल्न सक्छ । किनभने ठूला मान्छेहरूले बच्चाहरूलाई जसरी हेर्छन्, त्यसले बच्चाहरूको भविष्य बन्छ । यदि हामीले बच्चाहरूलाई ‘सानो’ भनेर सधैँ हेला ग¥यौँ, उनीहरूको कुरा सुन्दै नसुनी ‘तिमीलाई के थाहा ?’ भन्यौँ भने एक दिन तिनै बच्चाहरू ठूलो भएर हामीलाई नै ‘तिमीलाई के थाहा ?’ भन्नेछन् । यो उपन्यास त्यही ‘तिमीलाई के थाहा ?’ को जवाफ खोज्ने एउटा सानो प्रयास हो ।
लेख्दालेख्दै मलाई बारम्बार लाग्यो– म एउटा वयस्क लेखक हुँ, म जति कोसिस गरे पनि सय प्रतिशत बच्चा बन्न सक्दिनँ । तर मैले सकेसम्म इमानदारीपूर्वक प्रयास गरेको छु । यदि कुनै ठाउँमा म असफल भएको छु भने त्यो मेरो सीमा हो, बच्चाहरूको होइन । मलाई आशा छ– यो किताब पढिसकेपछि कुनै आमाबाबुले आफ्नो बच्चासँग एकपटक आँखामा हेरेर कुरा गर्नेछन्, कुनै शिक्षकले कक्षामा एउटा बच्चालाई ‘तिमीलाई के लाग्छ ?’ भनेर सोध्नेछन्, र कुनै बच्चाले यो किताब पढेर आफ्नो पीडा भन्न साहस गर्नेछ ।
यो उपन्यास मेरै होइन । यो ती सबै बालबालिकाको हो, जो आज पनि कुनै कुनामा एक्लै रोइरहेका छन्, जो आफ्नो पीडा भन्न डराउँछन्, जो ठूलाहरूको संसारमा हराएर आफ्नो बाल्यकाल खोजिरहेका छन् । यो कथा ९ वर्षिया वर्षा पुन मगरको हो । जसलाई मैले घोराही–१६ खिरिटिया नजिकै उनको फुपु, फुवाजुको घरमा भेटाएका थिएँ । बा–आमा बेपत्ता भएपछि विद्यालय जान नपाएर थन्किएकी वर्षासँगको भेटपछि यो कथा जन्मिएको हो । यतिबेला वर्षा पुन मगर घोराही–७ पर्सास्थित ग्लोबल एकेडेमीमा पढि रहेकी छन् । घोराही बनाऔं अभियानको संयोजकको हैसियतले मैले अनुरोध गरेपछि विद्यालयले प्लसटूसम्मै वर्षालाई निःशुल्क पढाउने भएको छ । वर्षा यतिबेला कक्षा १ मा पढ्छिन् । उनको नाम, उमेर यसमा समावेश भएपनि उनको हुबहु कथा भने यसमा समावेश गरिएको छैन । तर, यो किताब उनकै लागि हो, र उनकै आवाज बन्ने छ भन्ने मैले आशा राखेको छु । यदि तपाईंले यो किताब पढेर एउटा बच्चाको मन बुझ्ने कोसिस गर्नुभयो भने, मलाई लाग्छ– मेरो यो लामो संघर्ष सफल भयो ।
जब मैले ‘नयाँ लुगा’ उपन्यासको अन्तिम वाक्यमा पूर्णविराम लगाएँ, त्यस क्षण मलाई लाग्यो— यो किताब अब मेरो रहेन । यो पाठकको भयो । यो पाठकहरूको आँखाबाट पढिँदा, मनमा बस्दा, ओठमा नाम लिँदा मात्र पूर्ण हुनेछ । त्यसैले आज म यहाँ लेखकको हैसियतले होइन, एउटा साक्षीको हैसियतले उभिएको छु; जसले आफ्नै सिर्जनालाई टाढाबाट हेरेर चकित भएको छ ।
यो उपन्यास लेख्नुअघि मलाई लाग्थ्यो— म एउटा कथा लेख्दैछु । तर लेख्दालेख्दै थाहा भयो, म त केवल एउटा माध्यम मात्र रहेछु । कथाले मलाई लेखिरहेको रहेछ । म केवल कलम समातेर बसेको एउटा डराएको मान्छे मात्र रहेछु, जसले रातभरि आफ्नै पात्रहरूसँग लडाइँ ग¥यो, रुन मन लाग्यो, हल्का आँशु झारे, हाँस्न मन लाग्यो, मुसुक्क हाँसे । तर, पात्रहरूको पीडा र हाँसो मेरोभन्दा ठूलो थियो ।
यो किताबको बीज सानो थियो । एउटा वाक्य मात्र थियो— ‘नयाँ लुगा लगाउँदा मान्छे पुरानो बन्दोरहेछ ।’ त्यही वाक्यले मलाई सतायो । सताइरह्यो । म घोराहीको गल्लीहरूमा हिँड्थेँ, तीजको समयमा मान्छेहरू नयाँ लुगा किनिरहेको हेथेँ, दशैँमा नयाँ कपडा लगाएर फोटो खिचिरहेका थिएँ, अनि सोच्थेँ— के नयाँ लुगा लगाएर मान्छे शरीर मात्र ढाकि रहेका छन् कि सिर्जनशील कार्यमा सहभागि हुँदैछन्, जसले देश र जनताको लाभका लागि काम गर्नेछ ? मलाई लाग्यो हरेक ठाउँमा नयाँ लुगा नयाँ चिन्तन्, सिर्जनशील कार्यका लागि खासै प्रयोग भैरहेको छैन । यतिबेला नयाँ लुगा शरीरको नुमाइसका लागि मात्र फेर्ने काम भैरहेको छ । नयाँ लुगा त, वास्तवमा वर्षा पुन जस्ता अभावमा बाँचीरहेकाहरुका लागि अमृत नै हो । उनीहरुका लागि सञ्जीवनी हो । हुनेहरुका लागि नयाँ लुगा देखाउने पहिरन हो ।
त्यसैले यो उपन्यासको मुख्य पात्र ‘वर्षा, रमेश’ को जन्म हुन्छ मेरो लेखाईमा । यस्ता मान्छेहरु जो बाहिरबाट हेर्दा सधैँ नयाँ लुगा लगाउँछन् । महँगा सुट, चम्किला जुत्ता, परफ्युमको बास्ना आइरहन्छ । तर भित्रभित्रै उनीहरु सडिरहेका छन् । उनीहरुको पुरानो लुगा उनीहरुको छाला भइसकेको छ, जसलाई फाल्न सकिदैन । उनीहरु जति नयाँ लुगा लगाउँछ, त्यति नै पुरानो अपराध बोधले उनीहरुलाई नांगो बनाउँछ । उनीहरु आफैँलाई लुकाउन खोज्छन्, तर नयाँ लुगाले उनीहरुलाई झन् उजागर गर्छ ।
यो किताबमा म एउटा खतरनाक खेल खेल्दैछु— म पात्रलाई तिम्रै अगाडि नांगो पार्दैछु । तिमी यो किताब पढ्दै जाँदा एकछिन आफैँलाई सोध्नेछौ— मैले कहिले नयाँ लुगा लगाएर पुरानो झूट लुकाएको छु ? कहिले नयाँ सम्बन्धमा पुरानो धोकाको गन्ध छोपेको छु ? कहिले नयाँ सफलताको चमकमा पुरानो असफलताको आगो निभाएको छु ? अनि तिमी डराउनेछौ । किनभने तिमीले यस उपन्यासको पात्र वर्षालाई आफैँमा देख्नेछौ । रमेशलाई आफ्नो जीवनमा खोज्नेछौ । वसन्तको आगमन कहिले होला ? भनेर पर्खने छौं । अनि ती सबै पात्रहरू जो किताबमा छन्, तिनलाई तिमीले आफ्नै घरमा, आफ्नै मनमा भेट्नेछौ । मलाई थाहा छ, यो किताब पढिसकेपछि धेरैले मलाई गाली गर्नेछन् । कसैले भन्नेछन् –‘यो त नकारात्मक किताब रहेछ ।’
हो, यो नकारात्मक नै हो । किनभने यो सत्य हो । अनि सत्य सधैँ नकारात्मक लाग्छ, जबसम्म तिमीले त्यसलाई स्वीकार गर्दैनौ । तर यो किताबको अन्त्य नकारात्मक छैन । यो आशाको किताब हो । किनभने अन्त्यमा वर्षाले नयाँ लुगा फाल्छे । ऊ नांगो हुन्छे । तर पहिलो पटक ऊ साँच्चै नयाँ बन्छे । किनभने नयाँ हुनलाई नयाँ लुगा होइन, पुरानो लुगा फाल्ने साहस चाहिन्छ ।
यो किताब लेख्दा म एक्लो थिइनँ । मसँग मेरी आमा थिइन्, जसले मलाई बच्चैदेखि ‘छोरा, लुगा फाटे पनि मन नफाटोस्’ भन्नुहुन्थ्यो । मसँग मेरो पहिलो प्रेम थिइन्, जसले मलाई छोडेर गइन् तर मलाई सिकाइन्— माया भनेको नयाँ लुगा होइन, पुरानो घाउ हो जसलाई माया ग¥यो भने पनि दुख्छ, बिर्सियो भने झन् दुख्छ । मसँग जीवनभर मलाई साथ दिन अग्रसर मेरो मान्छे थियो, जसले उपन्यासको शव्दहरु खलबलिन खोज्दा बाटो देखायो । मसँग मेरै सन्तान् थियो, जसले मलाई यो किताब लेख्न बाध्य पा¥यो ।
यो किताब जसजसका कारण मैले लेखे तिमीलाई नै समर्पित छ ।
तिमी अहिले पनि नयाँ लुगा किनेर पुरानो मन छोप्दैछौ । अहिले पनि कसैलाई ‘तिमी बदलियौ’ भन्दैछौ, तर आफैँ बदलिन डराउँछौ । अहिले पनि नयाँ वर्षमा नयाँ संकल्प गर्छौ, तर पुरानो बानी छोड्न सक्दैनौ । यो किताब तिमीलाई भन्छ— अब नयाँ लुगा किन्न छोड । पुरानो लुगा फाल । नांगो होऊ । अनि पहिलो पटक साँच्चै नयाँ बन्ने साहस गर । मलाई थाहा छ, यो किताब पढ्दा तिमी रुनेछौ । मलाई यो पनि थाहा छ— तिमी रुँदैगर्दा एकछिन मुस्कुराउनेछौ पनि । किनभने तिमीले आफैँलाई भेट्नेछौ । अनि आफैँलाई माफ गर्नेछौ । अन्त्यमा एउटै कुरा भन्न चाहन्छु—यो किताब मेरो होइन । यो तिम्रो हो । तिमीले जसरी पढ्यौ, त्यसैगरी यो किताब बन्छ । तिमीले जसरी बाँच्यौ, त्यसैगरी यो कथा सत्य बन्छ । अब तिमी पढ । अनि जब पढिसकेर किताब बन्द गर्छौ, एकछिन ऐना अगाडि उभिएर हेर्नू— तिमीले नयाँ लुगा लगाएका छौ कि पुरानो मन फालेका छौ ? जसले आज पनि नयाँ लुगा लगाएर पुरानो मन लुकाउँदैछ ।

(उही तिम्रो लेखक ः सविन प्रियासन, घोराही, दाङ)

Facebook Comments