घोराही । दाङमा योवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र घोराहीकोे तथ्याङ्क अनुसार यो वर्ष जिल्लामा धानको उत्पादकत्व बढ्ने अनुमान गरिएको हो । विगत तीन वर्षको तथ्याङ्कलाई हेर्ने हो, भने जिल्ला धान रोपाइको क्षेत्रफलमा घटबढ भएको देखिन्छ । तर, धानको उत्पादन भने क्रमशः बढ्दै गएको पाइन्छ ।
यो वर्ष जिल्लामा ३६ हजार चार सय ८१ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । र, त्यसबाट १ लाख ८० हजार पाँच सय ८१ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँले वर्षेनी रुपमा धान उत्पादन हुने क्षेत्रफल घटबट हुँदै गएको भएतापनि धान उत्पादन भने बढ्दै गएको बताउनुभयो ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ३७ हजार छसय २८ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको र त्यसबाट एक लाख ४४ हजार दुई सय ६४ मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा ३५ हजार ३ सय ८४ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको र त्यसबाट एक लाख ६९ हजार एकसय ४४ मेट्रिक टन धान उत्पादन भएको छ, उहाँले भन्नुभयो ।
गतवर्ष तुलनामा दुई हजार दुई सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपाइ नभएपनि धानको उत्पादन भने २४ हजार आठ सय ८० मेट्रिक टनले धानको उत्पादन बढेको कृषि अर्थ विज्ञ लामिछानेले बताउनुभयो । कृषकहरुले मौसम अनूकुल हाइब्रेट धान प्रयोग गरेको हुँदा उत्पादकत्वमा बृद्धि भएको उहाँको जोड थियो । त्यसैगरी आर्थिक वर्ष २०८१/८२ जिल्लामा ३६ हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको र त्यसबाट एक लाख ७९ हजार पाँच सय ३७ मेट्रिक टन धान उत्पादन भएको विज्ञ लामिछानेले बताउनुभयो ।
पछिल्लो समय धान उत्पादनको क्षेत्र घटबढ हुनुको मुख्य कारण भनेको बर्षा नै हो, उहाँले भन्नुभयो । उत्पादन क्षेत्र घटेपनि उत्पादकत्व भने वर्षेनी रुपमा बढ्दै गएको देखिन्छ । कृषकहरुले रासायनिक मलको प्रयोग विगतका वर्षभन्दा बढी मल पाउनु र धानको उन्नत जाता र हाइब्रेट धान रोपेपछि उत्पादकत्व बढ्दै गएको उहाँले बतानुभयो । कृषकहरुले खेती गर्ने समयमा मल र पानी समयमै पाएभने धानको उत्पादन अझै बढेर जाने उहाँको जोडदिनुभयो । अहिलो जिल्लामा रैथाने बाली तिल्की धान रोपाइ गर्ने कृषहरुको संख्या वृद्धि हुँदै गइरहेको समेत उहाँको भनाइ थियो ।
जिल्लामा व्यवसायिक रुपमा धान खेती नलगाएपनि व्यक्तिगत रुपमा घरका लागि धान खेती गर्ने कृषकहरु रहेकोे कृषि विज्ञ लामिछानेले बताउनुभयो । लागतको तुलनमा मूनाफा कम हुने भएकोले कृषकहरु व्यवसायिक धान खेती गर्न उत्साहित नदेखिएको उहाँले बताउनुभयो । व्यवसायिक धान खेती गर्न आम्दानीको हिसावमा लागत बढी रहेको रहेको छ, उहाँले भन्नुभयो । तर, बढी मूल्य पर्ने धान जस्तैः रैथाने बाली तिल्की, सिम्खानो र बास्मतीका धानहरु लगाएर आम्दानीको स्रोत बढाउन सकिने उहाँको जोड थियो ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।
