• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खुम्चिँदै हुलाक कार्यालयको सेवा




घोराही। सामान्यतया चिठीपत्र आदानप्रदान हुने ठाउँ हुलाक कार्यालय हो। कुनै समय चिठी पठाउन र प्राप्त गर्न यहाँ भिड लाग्थ्यो। तर आजभोलि हुलाक कार्यालय सुनसान जस्तो देखिन्छ। समयसँगै प्रविधिको विकास भएपछि चिठीपत्रहरु इन्टरनेट र डिजिटल माध्यमबाट आदानप्रदान हुन थालेका कारण सेवाग्राहीहरु घटेका हुन्।

दाङमा हुलाक सेवाको अवस्था पछिल्लो समय खुम्चिँदै गएको छ। सेवाग्राहीहरुले छिटो र छरितो सेवा पाउन इन्टरनेटको माध्यम प्रयोग गरेकाले हुलाकको प्रयोग घटेको हो। जिल्लामा पहिले १४ वटा इलाका हुलाक कार्यालय र ३० वटा अतिरिक्त हुलाक कार्यालयहरू रहेका थिए। तर प्रयोगकर्ताको कमीले पाँच–पाँच वटा इकाइ र अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन्।

२०८०/८१ मा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय गरे पनि कर्मचारी आन्दोलनका कारण तत्काल कार्यान्वयन हुन सकेको थिएन, हुलाक निर्देशनालय दाङका शाखा अधिकृत शोभाराम बस्नेतले बताए। उनले बताए अनुसार अतिरिक्त हुलाक नियमावली २०३४ को संसोधनले ५८ वर्ष पुगेका जेष्ठ नागरिकलाई अवकाश दिएको कारण जिल्ला रहेका ३० वटा अतिरिक्त हुलाक कार्यालयमध्ये पाँच वटा कार्यालय खारेज भएका छन्। यी कार्यालयहरू स्वेच्छिक (भोलेन्टियर) रूपमा सञ्चालन हुँदै आएका थिए र कर्मचारीको अवकाशसँगै कार्यालय खारेज भएको हो।

एक स्थानीय तह–एक हुलाकको अवधारणा अनुसार जिल्लामा रहेका १४ वटा इकाइ हुलाक कार्यालयमध्ये पाँच वटा खारेज भएका छन्। घोराही उपमहानगरपालिका अन्तर्गत रामपुर र हापुर, तुलसीपुर उपमहानगरपालिका अन्तर्गत उरहरी र मानपुर, तथा गढवा गाउँपालिकाको कोइलाबास इकाइ कार्यालय खारेज भएका छन्। जिल्लामा रहेका पाँच–पाँच वटा इकाइ र अतिरिक्त हुलाक कार्यालय खारेज भएपछि अहिले नौ वटा पालिका हुलाक र २५ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन्।

निर्देशनालयले सेवाग्राहीको काम चुस्त र दुरुस्त बनाउन घोराही र तुलसीपुर उपमहानगरपालिकाभित्र २÷२ वटा काउन्टर राखेर सेवा प्रवाह गरिरहेको छ। यी काउन्टरबाट टिकट बिक्री, चिठी दर्ता र वितरणको काम भइरहेका छन्।

अहिले व्यक्तिगत चिठी पाँचदेखि १० प्रतिशत, सरकारी चिठी २०–२५ प्रतिशत र बैंकिङ क्षेत्रका चिठी ५० प्रतिशत प्राप्त हुने गरेका छन्। पार्सलमार्फत विदेशबाट घरेलु खाद्यान्नदेखि मनोरञ्जनका महँगा वस्तुहरू पनि आउँछन्। आन्तरिक रुपमा मेडिकल भ्याक्सिन, पासपोर्ट, मालपोतका प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, आयल निगमका तेल, अडिटमा मतपत्र जस्ता चिठीपत्र पार्सल वा रजिष्टर सेवाबाट पठाइन्छन्।

हुलाकले दु्रत सेवा (ईएमएस) मार्फत पाँच दिनभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ढुवानी र डेलिभरी गर्छ। पिट्स, आइपिएस, र सिडिएक डट काउन्टर अटोमेसन प्रणालीबाट सेवाग्राहीले अनलाइन जानकारी लिन सक्छन्। हुलाकले केवल चिठीमात्र बोक्ने होइन, सूचनाको हक, छापा तथा विद्युतीय विज्ञापन, प्रेस प्रतिनिधि र पत्रकार परिचयपत्र, रेडियो र टेलिभिजन इजाजतपत्रको नवीकरण लगायत काम पनि गर्छ।

शाखा अधिकृत बस्नेतका अनुसार २०१९ सालमा जारी हुलाक ऐन अहिलेसम्म संसोधन नहुँदा काम गर्न कठिनाइ भएको छ। अब ऐन र नियमावली आएपछि हुलाक सेवाहरूलाई व्यवसायीकरण गरेर अगाडि बढाउने योजना छ।

Facebook Comments