• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपालका लागि फिनल्यान्डका राजदूत पेट्रीद्वारा मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण




सुर्खेत। नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहक्कासहितको टोलीले शुक्रवार वीरेन्द्रनगर, सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण गर्दै विश्वविद्यालय परिवारसँग अन्तरक्रिया गर्नुभएको छ।

भेटका अवसरमा राजदूत पेट्रीले विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमसहित सरोकारवाला पक्षसँग छलफल गर्नुभयो। उहाँले आफ्नो हालको आगमनपछि नेपालस्थित विश्वविद्यालयहरुमध्ये पहिलोपटक मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरेको बताउँदै, यसबाट आगामी दिनमा एकआपसमा गर्न सकिने सहकार्यका थुप्रै सम्भावनाहरुले आफू उत्साहित भएको धारणा राख्नुभयो।

कार्यक्रमको अध्यक्षता उपकुलपति प्रा. डा. गौतमले गर्नुभएको थियो। उनले नेपाल र फिनल्यान्डबीचको सम्बन्ध मित्रतामूलक तथा विकास–सहयोगमा आधारित रहेको उल्लेख गर्दै महामहिम राजदूतको भ्रमणले कर्णालीमा अवस्थित विश्वविद्यालयमार्फत शिक्षाको विकासका क्षेत्रमा थप सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो।

दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९७४ मा स्थापित भएयता फिनल्यान्ड नेपालका लागि विश्वासिलो विकास साझेदारका रूपमा रहँदै आएको र त्यसैले विश्वविद्यालयले राजदूत पेट्रीको भ्रमणलाई अत्यन्तै अर्थपूर्ण रूपमा लिएको उल्लेख गरिएको थियो।

दुवै देशको राष्ट्रियगान प्रस्तुतिसँगै रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो भने कार्यक्रमको सञ्चालन योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो।

विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन सहप्रमुख, कार्यक्रम निर्देशक, विभागीय प्रमुख, कर्मचारी तथा स्ववियु प्रतिनिधिसहितको उपस्थिति रहेको कार्यक्रममा उपकुलपति गौतमले राजदूत पेट्री, फिनल्यान्ड राजदूतावासका सहकार्य विभाग प्रमुख सारा अलानेन तथा टोलीका सदस्यलाई विश्वविद्यालय आगमनका अवसरमा स्वागत गर्नुभएको थियो। छलफल पश्चात् उहाँहरूलाई धन्यवादसहित मायाको चिनो समेत प्रदान गरिएको थियो।

Facebook Comments