• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मतदान केन्द्र पुग्न १० घण्टा




शिवु खनाल/श्रवण कुमार यादव 
देउखुरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भारतसंग सीमानाका जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नाकाबासीहरु एक मतदान केन्द्रमा पुग्न मतदातालाई घण्टौँ पैदल हिँड्नुपर्ने भएको छ।
राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ्खोला, राजपुर गाउँपालिका वडा नम्बर ६ रात्री प्रा.वि.गंगदी, र राजपुर गाउँपालिका वडा नम्बर ७ मावि सिक्टामा रहेको मतदान केन्द्रमा पुग्न नाका क्षेत्रका अधिकांश मतदातालाई दशघण्टा भन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो ।
राजपुर गाउँपालिका वडा नं. १, ६ र ७ नाकाक्षेत्रमा बसोबास गर्ने स्थानिय नाकाबासीहरुले मतदान गर्न १० घण्टा पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाका निवासी ८१ वर्षीय चित्र लाल बाठाले बताउनुभयो । मतदान केन्द्र टाढा भएकै कारण धेरै मतदाता मतदानमा सहभागी नहुने उहाँले बताउनुभयो । राजपुर गाउँपालिका वडा नं. ६ खांग्रानाका नाकाबासीहरुका लागि राजपुर गाउँपालिका नजिकै रहेको रात्री प्रा.वि. विद्यालय गंगदीमा रहेको मतदान केन्द्र पुग्न पूरा एक दिन लाग्छ । गौरिया नाका निवासी बाठाले भन्नुभयो,–। ‘अब एकदिन पुग्न, भोट हालेर बेलुका घर आइपुगिदैन अनि अर्कोदिन फिर्ता हुने समय जोड्दा त तीन दिन लाग्ने भयो । अनि कसरी जानु भोट हाल्न?
मतदान केन्द्र टाढा भएकाले राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका निवासी ८४ वर्षीय दिलमाया थापा यसपालि भोट हाल्न जान सकिंदैन भन्ने सोचमा हुनुहुन्छ । ‘हिँडडुल गर्न नसक्ने मलाई बोकेर मतदान केन्द्रसम्म लाने सम्भावना पनि देख्दिन’ थापाले भने ‘मतदान केन्द्र टाढा भएकोले २०७४ सालको चुनावमा पनि म भोट हाल्न गइनँ ।’ थापा जस्तै भारतसंग सीमा नाका जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सबैभन्दा बढी अपाङ्, गर्भवती र ज्येठ नागरिकलाई पनि भोट हाल्नबाट बञ्चित हुने अवस्था छ । मतदान केन्द्र टाढा भएकोले नाकाक्षेत्रका धेरैले मतदाताले परिचय पत्र पनि बनाएका छैनन् । ‘मतदान केन्द्र नै टाढा छ, बनाएर पनि के गर्नु, नाकाबासीले भने । गर्भवती र बुढापाकाहरू मात्रै होइन १० घण्टाभन्दा बढी हिँडेर पुग्ने ठाउँमा मतदान केन्द्र राखिएपछि गाउँका युवाहरू समेत पुग्न नसक्ने अवस्था देखिन्छ । त्यसैले नाकाबाट एकदिन पैदल लाग्ने यो गाउँमा मतदान केन्द्र राख्न निर्वाचन आयोगको तत्काल ध्यान जानु जरुरी छ ।  निर्वाचनमा मतदातालाई मतदान स्थल तथा मतदान केन्द्रसम्म सहज आवागमन र सहज पहुँच नहुँदा र नाकाक्षेत्रमा पायक पर्ने ठाउँमा मतदान केन्द्र नराखिएको त्यस क्षेत्रका मतदाताको गुनासो छ ।
जानमात्र दशघण्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनुपर्छ, राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रनाका निवासी ८३ वर्षीय विजयकला रोकाले भन्नुभयो,–। ‘आउन जान १०÷१० घन्टा लाग्छ अनि कति बेला लाइन लाग्ने, कति बेला भोट हाल्ने र कतिबेला घर फर्किने । मतदान केन्द्रमा पुगी भोट हालेर सोही दिन घर फर्किने अवस्था नै छैन ।’ सबैभन्दा बढी अपाङ् र ज्येठ नागरिकलाई मतदानका लागि मतदानस्थलसम्म पुग्न समस्या भएपनि यसतर्फ सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । उकालो, ओरालो र खोलानालाका कारण पनि सजिलै मतदानस्थलसम्म पुग्न सहज नभएको रोकाले बताउनुभयो । यहाँको भौगोलिक अवस्थाबारे अध्ययन नै नगरी नयाँ वडा बनाएर मतदान केन्द्र कायम गरिएकाले नाकाक्षेत्रमा यस्तो समस्या आएको रोकाको भनाइ छ ।
भारतसंग सीमा नाका जोडिएको दाङको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानिय नाकाबासीहरुले नयाँ मतदान स्थल कायम गर्न माग गरेको छ । निर्वाचनमा मतदातालाई मतदान स्थल तथा मतदान केन्द्रसम्म सहज आवागमन र पहुँच योग्य बनाई अधिक मतदान हुन सक्ने व्यवस्था मिलाउन स्थानिय नाकाबासीहरुले माग गरेका हुन् ।
मतदातालाई मतदान गर्न दश घण्टा पैदल हिँड्नुुपर्ने र मतदाता संख्या पनि बढी भएका कारण नयाँ मतदान स्थल कायम गर्न राजपुर गाउँपालिका अन्तरगत निर्वाचन आयोगसमक्ष माग गरिएको हो । आफूहरूको राजनितिक पहुँच कम भएकाले गाउँमा मदतान केन्द्र राख्ने बारे कसैले अहिलेसम्म आफनो आवाज नसुनेको स्थानिय नाकाबासीहरुको गुनासो छ । यता राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टा निवासी स्थानिय समाजसेवी लालविर खड्काले सीमा नाकामै मतदान केन्द्र कायम गरि मतदानका लागि एकदिन पैदलयात्रा गर्नुपर्ने बाध्यता अन्त्य गर्न जरुरी रहेको छ ।
उहाँले जनताका लागि मतदान विशेषाधिकार र महत्वपूर्ण नागरिक दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘जनताले आफ्नो मतको उपयोग गर्न पाउने, आफूलाई मन पर्ने पार्टी तथा प्रतिनिधि छान्न वा रोज्न पाउने माध्यम भनेको निर्वाचन हो । बालिग मतदाताले मताधिकारको प्रयोग गर्न पाएका छैनन् भने त्यसलाई स्वच्छ प्रजातन्त्र वा लोकतन्त्र मान्न सकिँदैन ।’ ‘निर्वाचनको माध्यमबाट जनताको अभिव्यक्ति प्रकट हुन्छन् र प्रतिनिधि आफूलाई निर्वाचन गर्ने जनताप्रति उत्तरदायी बन्छन् । राज्यले कुनै पनि बहानामा बालिग नागरिकलाई निर्वाचनमा भाग लिनबाट वञ्चित गराउन पाउँदैन, किनकि मताधिकार जनताको नैसर्गिक अधिकार हो ।’
वडा कार्यालयले मतदान केन्द्र टाढा रहेको जानकारी जिल्ला निर्वाचन कार्यालय दाङ जिल्ला प्रशासन कार्यलय घोराहीलाई पनि जानकारी गराएको थियो । तर, अहिलेसम्म पनि गाउँमा मतदान केन्द्र स्थापना गर्न कतैबाट पनि पहल नभएको राजपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष श्यामबहादुर रोकाले बताउनुभयो । उहाँले नाका क्षेत्रमा तिनवटा मतदान स्थल थपको लागि सिफारिस गरेर पठाइएको बताउनुभयो । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सीमाबाट मतदान केन्द्र आउन १० घण्टाभन्दा बढी समय लाग्ने आफूले पनि थाहा पाएका बताउनुभयो । ‘मतदान केन्द्र निकै टाढा रहेको व्यहोरा मन्त्रालय, निर्वाचन आयोगलगायत सम्बन्धित निकायमा जानकारी गराएका छौं, हाम्रो क्षेत्रबाट हुने पहल भइरहेको छ, प्रजिअ अर्यालले भन्नुभयो,–। ‘निर्वाचन आयोगले मतदान केन्द्र थपे जिल्लाबाट हुने सबै प्रक्रियामा कमी हुन दिइँदैन ।’
Facebook Comments