
ई.किरण घिमिरे
सन् २०१४ देखि प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने शहरीकरण दिवस ले हामीलाई तीव्र रूपमा फैलिँदै गएको शहरी जीवनका अवसर र चुनौतीहरूबारे गहिरो सोच गर्न प्रेरित गर्छ।नेपालमा पछिल्ला दशकहरूमा शहरीकरणको गति उल्लेखनीय रूपमा बढेको छ।ग्रामीण क्षेत्रका मानिसहरू रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र आधुनिक सुविधाको खोजीमा सहरतर्फ आकर्षित भइरहेका छन्।यसको प्रत्यक्ष परिणामस्वरूप काठमाडौं, पोखरा, भरतपुर, बुटवल, धरान, विराटनगर लगायतका प्रमुख सहरहरूमा जनसंख्या घनत्व तीव्र गतिमा बढ्दो छ।तर जनसंख्या वृद्धिसँगै शहरी जीवनले अनेकौं चुनौतीहरू सामना गर्नुपरेको छ र यसमा यातायात व्यवस्थापन सबैभन्दा गम्भीर रुपमा रहेको छ।सडकमा सवारीसाधनको संख्या दिनानुदिन बढ्दै गरेको देखिन्छ भने सोही अनुरुप पूर्वाधार विस्तार,सडक योजना र व्यवस्थापनको गति त्यसैअनुसार अघि बढ्न नसकेको देखिन्छ।यसले गर्दा सडक जाम, पार्किङ अभाव, नियम उल्लंघन र वायु प्रदूषणजस्ता समस्या शहरी जीवनका स्थायी चुनौती बन्दै गएका छन्।
शहरीकरण दिवसको वास्तविक सन्देश भनेको दिगो, सुगम र सुव्यवस्थित शहर निर्माण गर्नु हो।यसको आधारभूत पूर्वशर्त भनेकै प्रभावकारी यातायात व्यवस्थापन हो।आजको डिजिटल युगमा यस समस्याको दीर्घकालीन समाधान प्रविधिको समुचित प्रयोगमा निहित छ।
सडक पूर्वाधारको सीमितता र व्यवस्थापनको परम्परागत शैली लाई अहिले नेपालका शहरहरूले सामना गरिरहेका यातायात समस्याका दुई मुख्य पक्ष रहेका छन् ।यी दुबै चुनौतीलाई पार गर्न प्रविधि नै आधुनिक युगको सबैभन्दा शक्तिशाली उपकरण हो।स्मार्ट ट्राफिक प्रणाली, जी.पी.एस (GPS) आधारित सार्वजनिक सवारी ट्र्याकिङ,ई-टिकटिङ,डिजिटल भुक्तानी र सी.सी.टि.भी.(CCTV) निगरानीजस्ता प्रविधिहरूको प्रयोगले यातायात व्यवस्थापनलाई कुशल, पारदर्शी र दिगो बनाउन सक्ने सम्भावना देखिएको छ।
यसैले, शहरीकरण दिवसले ल्याउने सन्देश सहरको भौतिक विस्तारमा सीमित नभई प्रविधिसँग सन्तुलित, योजनाबद्ध र जिम्मेवार शहरी विकासको आवश्यकता समेत हो भन्ने कुरा उजागर गर्छ।प्रविधियुक्त यातायात व्यवस्थापनको अवलम्बनले मात्र आधुनिक नेपालका शहरहरूलाई वास्तवमै स्मार्ट, सुरक्षित र बस्न योग्य बनाउन सकिन्छ।
नेपालमा पछिल्लो दशकमा शहरीकरण तीव्र भएको छ।२०७८ जनगणना अनुसार देशको लगभग ६६.२ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा रहेको तथ्याङ्क छ। यसअघि २०६८ को जनगणना अनुसार शहरी जनसंख्या १७.१% मात्र थियो। ग्रामीण स्थानबाट शहरी क्षेत्रतर्फको स्थानान्तरण, शहर परिमाण विस्तार र स्थानीय तहहरुको पुनर्संरचना¬का कारण शहरीकरण तीव्र रुपमा भएको प्रस्ट हुन्छ।नाममा नगरपालिका भएता पनि कतिपय स्थानहरू अझसम्म पनि पूर्वाधार, सेवा, व्यवस्थापन, योजना इत्यादिमा पूर्ण रुपमा नगर को रुपमा विकश भै सकेका छैनन्।
नेपालमा हालको यातायात प्रणाली मुख्यत सडकमा आधारित छ।रेलवे र जलमार्गमार्फत हुने यातायात नाम मात्रको अवस्थामा छ भने हवाई यात्राको पहुँच अझै सीमित छ।त्यसैले जनसाधारणको आवागमन र सामान ढुवानीका लागि सडक नै मुख्य माध्यम बनेको छ।तर, ती सडक संरचनाहरू पुराना, साँघुरा र क्षमता सीमित छन्।सवारीसाधनको संख्या भने हरेक वर्ष तीव्र गतिमा बढ्दो छ।यसबीच ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन कमजोर हुँदा सहरहरूमा दैनिक रूपमा गम्भीर यातायात जाम देखिन्छ।
काठमाडौं उपत्यकामा मात्र दैनिक करिब १५ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहने अनुमान छ। तीमध्ये ठूलो हिस्सा निजी सवारीसाधनको हो, जसले सडकमा भीड थपिरहेको छ।उपत्यकाका प्रमुख चोकहरू जस्तै कलंकी, कोटेश्वर, नयाँबानेश्वर, रत्नपार्क र चाबहिलमा ट्राफिकको अत्यधिक भीडका कारण औसत ढिलाइ समय १० देखि १५ मिनेटसम्म पुग्ने गरेको अनुमान गरिएको छ।यस्तै, प्रत्येक वर्ष हजारौँ सवारी दुर्घटनाहरू हुने तथ्यले पनि यातायात व्यवस्थापनको कमजोरी प्रष्ट पार्छ।
सवारीसाधनको तीव्र वृद्धि, सीमित सडक, अपर्याप्त पार्किङ र कमजोर सार्वजनिक यातायात प्रणालीले शहरी यातायात व्यवस्थापनलाई अझ जटिल बनाइदिएको छ।बिहान र बेलुकीको ‘पिक आवर‘ मा मुख्य सडकहरूमा लामो जाम लाग्ने, ट्राफिक लाइट असमय सञ्चालन हुने र ट्राफिक नियम उल्लंघन बढ्ने समस्या व्यापक छ।यसको प्रत्यक्ष असर नागरिकको समय, इन्धन खपत, तथा आर्थिक उत्पादकत्वमा पर्छ।
यी चुनौतीहरूका मूल कारणहरू धेरै तहमा छन्।पहिलो अव्यवस्थित शहरी योजना — सडक र भवन निर्माणले सहरको दीर्घकालीन योजना भन्दा तत्कालीन आवश्यकतालाई प्राथमिकता दिएको छ।दोस्रो, पूर्वाधारमा लगानीको कमी — वैकल्पिक सडक मार्ग, सार्वजनिक यातायात, र पार्किङ सुविधामा पर्याप्त लगानी हुन सकेको छैन।तेस्रो, प्रविधिको न्यून प्रयोग — ट्राफिक नियन्त्रण, निगरानी र सूचनाप्रवाहका लागि प्रविधि प्रभावकारी रूपमा उपयोग हुन सकेको छैन।
यातायात जामले समयको क्षति त गर्छ नै साथै यसले वायु प्रदूषण, ध्वनि प्रदूषण र मानसिक तनाव पनि बढाउँछ।सडकमा लामो समय सवारीमा बस्नु पर्ने बाध्यताले उत्पादकता घटाउँछ र नागरिक जीवनस्तरमा प्रत्यक्ष असर पार्छ।
नेपालका शहरहरू अहिले ‘स्मार्ट सिटी‘ अवधारणातर्फ अघि बढ्ने दाबी गरिरहेका छन् तर यदि यातायात प्रणालीमै सुधार ल्याउन सकिएन भने त्यो लक्ष्य नारामा मात्र सीमित हुने पक्का छ।आधुनिक शहरी जीवन सहज र दिगो बनाउन, ट्राफिक व्यवस्थापनमा डिजिटल प्रणाली, डेटा आधारित निर्णय, स्मार्ट सिग्नल र जनचेतना अभिवृद्धि अनिवार्य शर्त भित्र पर्दछन्।
यसर्थ, बढ्दो शहरीकरणसँगै नेपालका शहरहरूमा यातायात व्यवस्थापन सुधार अबको आवश्यकता हो। प्रविधि, नीति, पूर्वाधार र नागरिक अनुशासनको संयुक्त समन्वयले मात्र यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ।
नेपालका सहरहरूमा बढ्दो जनघनत्व र सवारीसाधनको चापले परम्परागत यातायात व्यवस्थापन प्रणालीलाई चुनौती दिएको छ।यस्तो अवस्थामा प्रविधिको प्रयोगले यातायात व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।नेपालमा हाल प्रायःट्राफिक सिग्नलहरू समय प्रणालीमा आधारित छन् ,यसले सवारीको वास्तविक घनत्वलाई ध्यानमा राख्दैन।यदि सेन्सर र क्यामेरा प्रयोग गरी ट्राफिक घनत्व मापन गरेर सिग्नल स्वचालित रूपमा परिवर्तन हुने स्मार्ट ट्राफिक प्रणाली लागू गरियो भने सडक जाममा उल्लेखनीय सुधार आउन सक्छ।यस्तो प्रणाली काठमाडौं, पोखरा, विराटनगर र धरानजस्ता सहरहरूमा सहज रूपमा लागू गर्न सकिन्छ।
त्यस्तै, सार्वजनिक यातायातमा वास्तविक-समय जी.पी,एस ट्र्याकिङ प्रणाली(Real-Time GPS Tracking System) लागू गरेर यात्रुहरूलाई बसको स्थान, आगमन समय र रुटको जानकारी मोबाइल एपमार्फत उपलब्ध गराउन सकिन्छ।यसले यात्रुहरूलाई समयमै सेवा लिन सजिलो बनाउँछ र सार्वजनिक यातायातप्रतिको विश्वास बढाउँछ।यससँगै सबै ट्राफिक निगरानी प्रणाली जस्तै सी.सी.टि.भी.(CCTV), जी.पी,एस( GPS) सिग्नल र मौसम सूचना लाई एकीकृत गरी एकीकृत यातायात नियन्त्रण केन्द्र(Integrated Traffic Control Center) स्थापना गरियो भने ट्राफिक व्यवस्थापनमा निर्णय छिटो र प्रभावकारी हुनेछ। यस्तो केन्द्रले आकस्मिक दुर्घटना, सडक अवरोध वा प्राकृतिक विपद्का बेला तुरुन्त प्रतिक्रिया दिन पनि मद्दत गर्छ।
काठमाडौं उपत्यकामा पार्किङ व्यवस्थापन ठूलो समस्या बनेको छ।यस समस्याको समाधानका लागि स्मार्ट पार्किंग प्रणाली( Smart Parking System उपयोगी हुन सक्छ, जसमा पार्किङ स्थलमा सेन्सर जडान गरी खाली स्थानको जानकारी मोबाइल एपमार्फत यात्रुलाई दिइन्छ।यसले अनावश्यक सडक जाम घटाउँछ र पार्किङको दुरुपयोग नियन्त्रण गर्छ।साथै, सडक संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि डिजिटल सडक सम्पत्ति व्यवस्थापन प्रणाली(Digital Road Asset Management System) अपनाउन सकिन्छ।यस अन्तर्गत ड्रोन र जी.आइ.एस(GIS) प्रविधिबाट सडकको अवस्था, मर्मत, क्षति र ट्राफिक घनत्वका विवरण संकलन गरी डिजिटल प्लेटफर्ममा सुरक्षित राखिन्छ, जसले योजना निर्माण र बजेट विनियोजनमा वैज्ञानिक आधार प्रदान गर्छ।
यस्तै, कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर दुर्घटनाको सम्भावना भएका स्थानहरू पहिचान गरी चेतावनी प्रणाली जस्तै डिजिटल साइनबोर्ड वा स्वचालित सिग्नल राख्न सकिन्छ, जसले दुर्घटना घटाउन सहयोग पुर्याउँछ।नेपालका मुख्य राजमार्गहरूमा इलेक्ट्रोनिक टोल सङ्कलन (Electronic Toll Collection (ETC) प्रणाली लागू गरेमा सवारीसाधनले रोकावटबिना भुक्तानी गर्न सक्ने हुँदा समय र इन्धन दुबै बचत हुन्छ। साथै, सार्वजनिक यातायातमा ई-टिकटिङ र डिजिटल भुक्तानी प्रणाली लागू गर्दा पारदर्शिता बढ्छ, अनियमितता घट्छ र यात्रुहरूको समय बचत हुन्छ।
सहरका मुख्य चोकहरूमा सी.सी.टि.भी.( CCTV ) निगरानी ( जुन अहिले काठमाडौँ को प्रमुख चोकहरुमा भै रहेको नै छ ) र ट्राफिक डेटा विश्लेषण प्रविधिको उपयोगले नियम उल्लंघन नियन्त्रण, दुर्घटनाको कारण पहिचान र अपराध नियन्त्रणमा सहयोग पुर्याउँछ।संकलित तथ्याङ्कको विश्लेषणबाट भविष्यका ट्राफिक योजना र पूर्वाधार विकासमा वैज्ञानिक दृष्टिकोण अपनाउन सकिन्छ। यसरी हेर्दा, प्रविधिको प्रभावकारी प्रयोगले ट्राफिक व्यवस्थापन सुधार हुनुका साथै सहरको समग्र जीवनस्तरलाई पनि उकास्ने क्षमता राख्दछ।
अतः नेपालका सहरहरूलाई दिगो, सुव्यवस्थित र स्मार्ट बनाउन प्रविधियुक्त यातायात व्यवस्थापन अब अपरिहार्यता बनिसकेको छ।स्मार्ट ट्राफिक प्रणाली, जी.पी एस(GPS), डिजिटल पार्किङ, AI जस्ता प्रविधिहरूको उचित प्रयोगले नेपालका सहरहरूलाई आधुनिक, सुरक्षित र नागरिकमैत्री बनाउने दिशामा ठोस कदम चाल्न सकिन्छ।सरकार, निजी क्षेत्र र नागरिकहरूको सहकार्यमा यस्ता प्रविधिहरूलाई व्यवहारमा उतार्न सकिएमा नेपालका शहरहरूले साँच्चिकै “स्मार्ट सिटी” बन्ने लक्ष्य प्राप्त गर्न सक्छन्।
नेपालमा पछिल्ला वर्षहरूमा प्रविधियुक्त यातायात व्यवस्थापनतर्फ केही सकारात्मक कदमहरू चालिएका छन्।यातायात व्यवस्था विभाग, नेपाल प्रहरीको ट्राफिक महाशाखा र विभिन्न स्थानीय तहहरूले सहरका सडक व्यवस्थापन सुधारका लागि विभिन्न प्रविधि अपनाउने प्रयास गरेका छन्।काठमाडौं उपत्यकाका केही मुख्य चोकहरूमा स्मार्ट ट्राफिक लाइट प्रणाली सञ्चालनमा ल्याइएका कुरा बाहिर आएका छन्।यी सिग्नलहरु एक आपसमा संचार गरि ट्राफिक घनत्व अनुसार सिग्नल समय स्वचालित रूपमा परिवर्तन गर्ने सुविधा प्रदान गर्छ।
त्यस्तै, सवारी दर्ता, इजाजतपत्र वितरण, र राजस्व संकलन प्रणालीमा पनि क्रमशः डिजिटाइजेसन लागू हुँदै गएको छ। अनलाइन सवारी दर्ता, डिजिटल ड्राइभिङ लाइसेन्स, र इ-राजस्व भुक्तानी प्रणालीले सरकारी सेवामा पारदर्शिता र सहजता ल्याएको छ।सार्वजनिक यातायात सुधारका लागि केही निजी कम्पनीहरूले जी पी एस (GPS) आधारित ट्र्याकिङ र मोबाइल एप सेवा सुरु गरेका छन् जसले यात्रुलाई बसको रुट र स्थानबारे जानकारी दिन सहयोग पुर्याइरहेको छ।
यद्यपि यी प्रयासहरू उत्साहजनक भए पनि ती अझै प्रारम्भिक चरणमै सीमित छन्।नेपालमा प्रविधि प्रयोगसँगै नीति, जनशक्ति र पूर्वाधार सुदृढीकरण पनि अपरिहार्य छ।अहिले पनि धेरै ठाउँमा ट्राफिक नियन्त्रण म्यानुअल रूपमा भइरहेको छ जसले सहरमा बढ्दो सवारी चाप सामना गर्न कठिन बनाइरहेको छ।साथै, यातायात पूर्वाधार विस्तार, पार्किङ व्यवस्थापन, सडक सुरक्षा र सार्वजनिक यातायात प्रणालीलाई प्रविधिसँग समायोजन गर्ने दीर्घकालीन योजना अभावमा देखिन्छ।
आगामी दिनमा नेपालले प्रभावकारी यातायात व्यवस्थापन गर्नका लागि एकीकृत डिजिटल ट्राफिक प्रणाली विकास गर्नुपर्छ, जसले CCTV, GPS, ट्राफिक सिग्नल, र मौसम सूचना एकै प्लेटफर्ममा समेट्नेछ। स्थानीय तहहरूले स्मार्ट पार्किङ र ई-टिकटिङ प्रणालीलाई प्रोत्साहन गर्नुपर्नेछ भने, सरकारले निजी क्षेत्रलाई प्रविधि–आधारित यातायात सेवामा लगानी गर्न प्रोत्साहन दिनुपर्छ।यससँगै नागरिक तहमा पनि ट्राफिक नियमको पालना र प्रविधिको सदुपयोगबारे जनचेतना बढाउनु जरुरी छ।
शहरलाई मात्र भौतिक रूपमा विस्तार गर्नु शहरीकरण होइन, त्यसलाई दिगो र व्यवस्थित बनाउन प्रविधियुक्त सोच आवश्यक छ।प्रविधि र योजना सँगसँगै अघि बढेमा मात्रै शहरी जीवन सहज, सुरक्षित र उत्पादक बन्न सक्छ। नेपालका सहरहरूलाई भविष्यका स्मार्ट सिटी बनाउने सपना यिनै प्रविधियुक्त प्रयासहरूबाट साकार हुन सक्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
