किस्मत शेर्पाली
रुकुम पूर्व । यो वर्षको पहिलो पटक कार्तिक महिनामै परेको हिमपातले रुकुम पूर्वका विभिन्न स्थानहरू सेताम्य बनेका छन् । यससँगै हिमाल र डाँडाकाँडा हाँस्न थालेका छन् ।
विशेषगरी सिस्ने गाउँपालिकाका केही पर्यटकीय स्थलहरू, भूमे गाउँपालिकाका पर्यटकको रोजाइमा परेका भूभागहरू र पुथाउत्तरगंगा गाउँपालिकाका हिमाली क्षेत्रमा यस वर्ष विगतका वर्षभन्दा चाँडै परेको हिमपातका कारण डाँडाकाँडा मुस्कुराउन थालेका हुन् ।
सिस्ने गाउँपालिका–२ का स्थानीय सुरेश रामजालीका अनुसार सिस्ने हिमाल, गुप्ता दह, फुर्का, पैरा हुँदै तुवाङको माथिल्लो भाग र पुथाउत्तरगंगा गाउँपालिका–१४ का भूभागहरूमा परेको हिमपातपछि चिसो बढ्नुका साथै हिमाल र डाँडाकाँडा चम्किन थालेका छन् ।
भूमे गाउँपालिकाका स्थानीय जालकुमार सुनारका अनुसार भूमेको चौरीखर्क, पाठीहाल्ने क्षेत्र, गुनामको लेख, लुगुमलगायत स्थानहरूमा निरन्तर हिमपात भइरहेको छ । यस कारण यहाँ आउने पर्यटकको संख्या पनि बढेको छ । तर मकै भण्डारण गर्ने कार्य अझै नसकिएको र हिमपातसँगै परेको वर्षाले केही स्थानमा मकै भण्डारणस्थलमा क्षति पुगेको उनले जानकारी दिए ।
पुथाउत्तरगंगा गाउँपालिकाकी स्थानीय अञ्जली समालका अनुसार गाउँका माथिल्ला भूभागमा हल्का देखि मध्यम स्तरको हिमपात भइरहेको छ । हिमपातसँगै माथिल्ला बस्तीहरूमा चिसो हावा चल्न थालेको र पानी पनि अत्यधिक चिसिएको उनले बताइन् ।
पुथाउत्तरगंगा गाउँपालिकाका स्थानीय मैत्य घर्ती मगरका अनुसार पुथाका केही उच्च स्थानमा हिमपात भए पनि निरन्तरको वर्षाका कारण कार्तिक महिनामै चिसोको स्तर बढ्दै गएको छ ।
रुकुम पूर्वमा पछिल्लो समय हिमपात बढ्दो क्रममा भए पनि केही स्थानमा भने केवल पानी परेको छ । स्थानीयका अनुसार पानीका कारण कतिपय ठाउँमा वाली भण्डारणमा समस्या देखिएको छ भने कतिपय स्थानमा यात्रा गर्न कठिनाइ भएको छ ।
कार्तिक महिनामै परेको हिमपातले जनजीवनमा सामान्य असर गरे पनि पर्यटकहरूको आवतजावत भने क्रमशः बढ्दै गएको छ

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
