दाङ । उपन्यासकार, साहित्यकार तथा समाजसेवी सविन प्रियासनले नेपालकै सबैभन्दा धेरै उपन्यास प्रकाशन गर्ने र आउँदो २०८४ सालको निर्वाचनमा जनप्रतिनिधिका उम्मेदवार बन्ने लक्ष्य रहेको बताएका छन्।
नेपालकै दोस्रो सर्वाधिक उपन्यास लेख्ने उपन्यासकारका रूपमा परिचित प्रियासनले आइतबार घोराहीमा आयोजित कार्यक्रममा आफ्नो १२औं उपन्यास ‘कालो मन’ सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्।
“संयोग मान्नुपर्छ, म नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशन गर्ने उपन्यासकार बनेको रहेछु,” प्रियासनले भने, “अब मेरो लक्ष्य पहिलो बन्नेछ। त्यससँगै देश र जनताको सेवाका लागि २०८४ को निर्वाचनमा उम्मेदवार बन्ने योजना पनि छ।”
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहेका प्रियासनले प्रकाशन गरेको ‘कालो मन’ उपन्यास २०८ पृष्ठको रहेको छ। गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक तथा प्रधान सम्पादक समेत रहेका उनले यसअघि जेठ ३१ गते ‘कडी’ उपन्यास सार्वजनिक गरेका थिए। उनका अनुसार ‘कडी’ उपन्यास लेखनदेखि मुद्रण र विमोचनसम्मको सम्पूर्ण प्रक्रिया २५ दिनमै सम्पन्न गरिएको थियो।
‘कालो मन’ उपन्यास कृषि उद्यमशीलता र स्वास्थ्यका विषयमा आधारित रहेर लेखिएको छ, जसमा प्रेम, समाज र परिवारका विषयवस्तु समेटिएका छन्। पछिल्ला दिनमा प्रियासनले ‘घोराही बनाऔं अभियान’ मार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
सुभ्राम्सु प्रियासन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक सयभन्दा बढी सहभागीहरूले सामूहिक रूपमा ‘कालो मन’ उपन्यासको विमोचन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले प्रियासनको साहित्य, पत्रकारिता र सामाजिक सक्रियता प्रेरणादायी रहेको बताए।
विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रमा सक्रिय प्रियासनले साहित्यमा पनि उल्लेखनीय योगदान दिइरहेको बताए।
सर्वोदय पुस्तकालयका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले प्रियासन सुरुदेखि नै साहित्य, पत्रकारिता र समाजसेवामा अग्रणी रहेको उल्लेख गरे।
त्यस्तै, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतमले प्रियासनले साहित्य र पत्रकारितामार्फत समाज रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए।
कार्यक्रमको सहजीकरण गणतन्त्र राष्ट्रिय दैनिकका सम्पादक टिका बहादुर बस्नेतले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
